अमरराज नहर्की
तनहुँ, माघ १३ गते । तनहुँको नगरपालिकाकाको सामुदायिक विद्यालयमा मगर भाषामा कक्षा सञ्चालन गरिने भएको छ । भाषाको संरक्षण गर्न कक्षा सञ्चालनको तयारी गरिएको हो ।
मगर भाषाको संरक्षणको लागि व्यास नगरपालिकाले चासो राखेको छ । नगरपालिकाले मगर विद्यार्थीको बाहुल्यता रहेका विद्यालयमा अतिरित्त कक्षाको रूपमा मगर भाषामा पढाइ सञ्चालन गर्न तयारी गरेको छ । मगर भाषाको पाठ्यक्रम पठाउनका लागि नगरपालिकाको सहयोगमा शिक्षकलाई तालिम दिन थालिएको छ ।
नेपाल मगर सङ्घ व्यास नगर समितिको आयोजनामा र व्यास नगरपालिकाको सहयोगमा शनिबारदेखि पाँच दिने मातृभाषामा पढाइको शिक्षकलाई पाँच दिने तालिम दिन थालिएको छ । तालिम लिएका शिक्षकले विद्यालयमा मगरभाषाको पाठ्यक्रम अनुसारको कक्षा सञ्चालन गर्ने छन् । पठनपाठनमा सहज बनाउन मगर भाषामा कक्षा सञ्चालन तालिम प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
तालिमको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले भाषा, साहित्य र कला संरक्षणको लागि ध्यान दिएको बताउनुभयो। नगरपालिका भित्रको भाषा, सस्कृति र साहित्यको संरक्षण गर्ने उद्धेश्य प्रज्ञा प्रतिष्ठान गठनको स्मरण गर्दै मगर भाषाको संरक्षणको लागि तालिमको लागि दुई लाख रुपियाँ रकम विनियोजन गरेको बताउनुभयो ।
भाषाको संरक्षण गर्न र सिकाइमा प्रभावकारीता ल्याउन भाषामा कक्षा सञ्चालन गर्न मद्दत गरेको उहाँको भनाइ थियो । गण्डकी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रूपमा मगर र गुरुङ भाषालाई प्रयोगमा ल्याउन लागेकोले यस्ता तालिमले मद्दत पुग्ने विश्वास नगर प्रमुख न्यौपानेले गर्नुभयो ।
भाषालाई पुस्तान्तरणका लागि सहयोग पुगोस् भन्ने उद्धेश्यले शिक्षकलाई तालिम प्रदान गरिएको नेपाल मगर सङ्घ व्यास नगर समितिको अध्यक्ष रिमा आले मगरले बताउनुभयो । समितिका अनुसार यमबहादुर आले, इन्द्रबहादुर आले, अमर थापा, नन्दु थापा, यमलाल थापा, तिलबहादुर थापा, अनुराग थापा मगर भाषाको पाठ्क्रमको बारेमा प्रशिक्षण दिइरहनु भएको छ । तालिममा मगर बाहुल्यता भएका सामुदायिक विद्यालयका शिक्षकहरू सहभागी छन् ।