प्रकृतिक नाताले कर्णाली नेपाली भूगोलकी आमा हुन् । उनी सभ्यता इतिहास र प्रकृतिकी अनुपम वरदान पनि हुन् । उनको रूप रङको व्याख्या गर्नुअघि एक जना अमेरिकी जुम्ली टमको कथन सुन्दा पुग्छ । सिएनएनमा रारा अलौकिक सुन्दरताको बखान सुनेपछि जोनाथन टम नेब्रास्काबाट काठमाडौँ आएछन्, दुई चार दिन काठमाडौँको कला सभ्यताको रसास्वादन गरेपछि उनी कर्णालीतिर गए । हप्ता दिन कर्णालीको तीरैतीर हिँडेका टम आठौँ दिनमा जुम्लाको गोठिजिउँला पुगेपछि उनले बाटो बिराएछन् । राराको सपना देखेका टम सिम्पाटी पुगेका रहेछन् । दायाँबायाँ हेरे, उनले तस्बिरमा देखेको भ्यालीबिचको विशााल ताल कतै देखेनन् । एकछिन उनी अलमल परे, नक्सा हेर्न थाले । बाटो बिराएको थाहा पाएपछि उनी निराश हुँदै सिम्पाटीको थुम्कोमा उभिए । एकछिनको निराशापछि उनका आँखा बग्दै गरेको नागबेली नदीमा परेछ । लगत्तै नदी किनारका खेतमा धानका बाला झुलेको देखेछन् । त्यसपछि बिस्तारै सेतो कमेरोले रङगिएका लस्करै बनेका बाडाले (टाँसिएर बनेका घर) ध्यान खिचेछ । टमले अचानक घाँटी तन्काउँदा माथि ढपक्क परेको जङ्गल, बिचबिचमा गुराँस फुलेको देखेछन् । सँगसँगै कान वरिपरि चिरबिर चराचुरुङ्गीको मधुर आवाज गुञ्जिएछ । रङ्गीबिङ्गी चराचुरुङ्गी रुखका टुप्पोमा बसेर सुसेल्दै गरेको पनि हेरेछन् । प्रकृतिको यो रूपले उनी छक्क परेछन् । एकछिन आँखा चिम्लेर सिम्पाटीको थुम्कोमा उभिए छन् । खै के भयो एकाएक उनले आफूलाई सिकन्दर भएको महसुस गरेछन् । म चरा झैँ बेग मारेर उड्न सक्छु भनेछन् । उनले चिच्याएर भन्थेँ रे आइ एम द किङ आफ युनिभर्स, यो सृष्टि मेरो हो । उनी बारम्बार प्रकृतिलाई प्रश्न गर्थें रे । के यो मानिसको स्वर्ग हो ? एउटा ठाउँ कसरी सर्वगुणसम्पन्न हुन सक्छ ? सिम्पाटीको प्राकृति रूप देखेर टम त्यहीँ दिनदेखि सिम्पाटीमै बस्न थालेछन् ।
एउटा अनजान परदेशी, जसलाई के अपुग थियो र । ऊ आफ्नो वैभव त्यागेर कर्णालीको काखमा बस्न राजी भएकोे थियोे । टम सबैलाई भन्थे रे सौन्दर्यको उत्तर खोज्न कर्णाली जानु पर्छ अनि थाहा हुन्छ । तिनै आमाका थुप्रै भौगोलिक सन्तानमध्ये सबैभन्दा कान्छी छोरी हुन् सिम्पाटी । उनी आकारले पहाड, इतिहास खोतल्दा खस सभ्यताकी जननी, नागराजको प्रिय थलो हुन् । उनको अर्को पनि विशेषता छ, सुन्दरताकी खानी । अक्सर सिम्पाटीलाई देखेर मानिसहरू प्रकृतिलाई प्रश्न गर्छन् टमले जस्तै । माता किन यस्तो ? सर्वगुणसम्पन्न एउटै ठाउँलाई किन ? प्रकृति आमा मानिसका गुनासा सुनेर एकछिन हाँस्छिन् । उत्तर सिम्पाटीमा चलिरहने मन्द गतिको वायुमार्फत दिन्छन् । जब सिम्पाटी मन्द गतिको ऊर्जामय हावा मानिसको मस्तिष्कमा ठोकिन्छ । त्यसपछि मानिसले स्वतः सन्देश थाहा पाउँछन् । सिम्पाटीमा उभिनु अनि थाहा हुन्छ मानिस किन यति डाहा गर्छन् भनेर ।
यिनै सुन्दरताकी खानी सिम्पाटीको वर्षौंको सपना पूरा भएको थियो । यहाँका मानिसले रोग दुःख पीडाबाट मुक्ति पाउने बाटो पाएका थिए । वैशाख १० गते सारा गाउँले स्वास्थ्यचौकीको आँगनमा थिए । सबैको मुहारमा खुसीसँगै आशा पनि देखिन्थ्यो । हिजोको पीडामा मलम लाग्ने अनुमान थियो । उता प्रकृति पनि गाउँलेको खुसीसँगै साथ दिइरहेकी थिइन् । स्वास्थ्यचौकी वरपरका धुपी सल्लाका रुखबिरुवा आफ्नै लयमा झुमिरहेका थिए ।
गाउँलेको सपना आशा र भरोसाले भरिभराउ आँगनमा चुम्मा काउ (काका) अर्थात् सिम्पाटीका नेता उद्घाटन गर्ने तरखरमा थिए । उनकै पहलमा गाउँमा स्वास्थचौकी स्थापना भएको थियो । चुम्मा काउ स्वास्थ्यचौकीका लागि कहाँकहाँ पुगेनन् । कसलाई मात्र गुहारेनन् । कतिसँग झगडा
गरेनन् ? कैयौँ दिन राजधानीमा अनसनसमेत बसेका थिए । आज बल्ल उनको मेहनतले सार्थकता पाएको थियो ।
चुम्मा भाषणमा अक्सर सिम्पाटीको सुन्दरता र विज्ञानको चर्चा गर्थे । आधुनिक युगमा अस्पताल मानिसको आशा भरोसाको पहिलो र अन्तिम विन्दु हो । शारीरिक मानसिक गाह्रो अप्ठ्यारोमा मानिसले सम्झिने अस्पताल र डाक्टर नै हो । पछिल्लो शताब्दीमा मानिसहरूले आफ्नो आनीबानी र बुझाइमा ठुलो परिवर्तन ल्याएका छन् । अस्पताल र डाक्टरप्रति विश्वास र सम्मान बढाएका छन् । हिजोको कथाव्यथा र बाध्यता अर्कै थियो । धेरै ठाउँमा विज्ञान एकादेशको कथा जस्तै थियो । धामीझाँव्रmी आवश्यकता नभई बाध्यता थिए । अन्योलभित्रको निर्विकल्प बाध्यता थिए । आज समय फेरिएको छ । आज हिजोभन्दा विकास भएको छ । हिजोको तुलनामा आज सजग छ । उनको कुरा सुन्दा वास्तविक पनि थियो । भाषणको बिचबिचमा गाउँलेले एकसाथ ताली बजाएर स्वागत र समर्थन जनाउँथेँ ।
स्वास्थ्यचौकीको भव्य तरिकाले उद्घाटन भयो । गाउँ पूरै खुसी थियो । गाउँले र सेता रङले सजिएको स्वास्थचौकी सेतो कोट लगाउने डाक्टरको पर्खाइमा थिए । विडम्बना गाउँको त्यो खुसी धेरै समय टिकेन । डाक्टर आज आउँछ भोलि आउँछ भन्दाभन्दै वर्षाैं भइसकेको थियो । स्वास्थ्यचौकी रित्ताको रित्तै थियो । डाक्टर कुर्दाकुर्दै स्वास्थ्यचौकीका सेता भित्ता खुइलिसकेका थिए । भित्तामा झुन्डिएको सेतो कोट मैलिसकेको थियो । स्वागतका निम्ति उभिएका काला रङका ढोका फेरिएर खरानी रङमा बदलीएका थिए । खैर स्वास्थयचौकीलाई चाहिने दरबन्दीको डाक्टर सहरको कुनै गल्लीमा मस्त थिए होला । निजी क्लिनिकमा बिरामी जाँच्दै थिए होला । यता सिम्पाटी छट्पटी रहेको थियो । यद्यपि गाउँले अझै झिनो आशामा डाक्टरको पर्खाइमा थिए । कतिले भाकलसमेत राखे । यो कथा उनै चुम्मा काउको गाउँको कथा हो । कर्नालीसँग सम्बन्ध जोड्न कन्जुस्याइँ गर्ने तमाम डाक्टरमध्ये एक गाउँ प्रेमी डाक्टरको कथा हो ।
चुम्माका भाषण सुन्दा, स्वास्थ्यचौकी गाउँकै आँगनमा देख्दा आम मानिसले डाक्टरलाई भगवानै सम्झेका थिए । भगवान् रूपी डाक्टर पक्कै मानव सेवाका लागि सिम्पाटीमा आउनुपर्ने थियो तर भइदियो ठ्याक्कै उल्टो । केन्द्र सरकारले कैयौँ डाक्टरको दरबन्दी स्वास्थचौकीमा नराखेको होइन । धेरैलाई ताकेता गरेकै थियो । तथापि त्यस ठाउँमा कोही किन आएनन् त ? सहरको सुविधा, महँगो शुल्क निजी क्लिनिक सिम्पाटीमा कहाँ हुनु । सिम्पाटीसँग धनी मन थियो । प्रकृतिको वरदान र निष्कलङ्क मानिस थिए । थिएन त केवल डाक्टरले चाहेको पैसा । सहरमा बस्नेले यस्तो सुनाउँदा गाउँले टमलाई हेर्थे, आफ्नो भूगोल हेर्थे । उनीहरूलाई के लाग्थ्यो भने अप्सरा झैँ सुन्दर सिम्पाटी हेर्न डाक्टरको लावालस्कर लाग्नुपर्ने हो । आफ्नै देशका डाक्टरले, दाजुभाइको सेवामा खुसीका साथ आउनुपर्ने हो । विडम्बना ती निश्चल मनलाई के थाहा ? डाक्टर र विज्ञानको विकास भयो । असम्भव ठानिएका धेरै थोक सम्भव भए तर यो आधुनिक विज्ञान, विकास निश्चित ठाउँमा सीमित भयो र निश्चित स्वार्थको लागि भयो । आधुनिकता र स्वार्थले सेवाभाव र आवश्यकतालाई ओझेलमा पारिदियो ।
स्वास्थ्यचौकीको अवस्था र सहरियाका कुरा सुनेपछि गाउँलेहरूको डाक्टरी सेवा नपाइने भयो भनेर चिन्तित थिए । यति हुँदाहुँदै पनि यता चुम्मा काउ अक्सर प्रगतिशील कुरा सुनाइरहन्थे । उनको गफ सुनेपछि गाउँले भन्थे पनि आखिर नेता न हो, गफ दिन्छ धेरै । आफू सहर बस्छ । ठुला अस्पतालमा पस्छ । यहाँ हामीलाई यत्रो गफ दिन्छ ।
अस्ति तल्लाघरे नानुभाउ (सानुबाबु) बिरामी प-यो । तीन दिनसम्म ज्वरो आयो । धामीले फुकफाक पनि गरेका थिए । उसको बुबाले धामीले भने अनुसार देवीलाई बोको चडाएकै थिए तर नानुभाउलाई उन्नाइसको बिस पनि भएन । केही सीप नलागेपछि नानुभाउलाई उसको बुबाले घरबारी साहुलाई धौरौटी राखेर नेपालगञ्ज गएका थिए ।
नानुभाउ जस्तै धेरैले स्वास्थ्यचौकी रित्तो हुँदा आआफ्नो घरबारी उपचारका लागि रित्तो पारिसकेका थिए । दिनहुँ जस्तो भइरहेका यस्ता घटनाले गाउँलेमा वितृष्णा जगाइसकेको थियोे । धेरै गाउँलेले एक मन बनाइसकेका थिए । बिरामी जाँच्ने र डाक्टर बस्ने स्वास्थ्यचौकीलाई अब गोठ बनाउनु पर्छ भन्नेमा पुगेका थिए । कतिले हामी रगतपसिना बगाएर भए पनि हाम्रा सन्तानलाई डाक्टर बनाउँछौँ । दूरदराज सिम्पाटी जस्तै ठाउँमा हामी जस्ताको सेवामा खटाउने छौँ भन्थेँ । केही विद्रोही विचारधाराका मानिस रित्तो स्वास्थ्यचौकीलाई विम्बात्मक सङ्ग्रहालय बनाउनु पर्छ, राज्यलाई चुनौती दिनु पर्छ भन्थेँ ।
गाउँमा दिनहुँ यस्तै गाइँगुइँ चलिरहेको हुन्थ्यो । स्वास्थ्यचौकीमा डाक्टर नहुँदा मानिसमा छटपटी थियो । बर्सांैको आशाभरोसामा तुसारापात थुप्रिएको थियोे । गाउँलेको रहर सपना एक थियो । भएको थियो अर्कै । एक दिन अचानक वैशाखमै हिमपात भयो । त्यो पनि लगातार चार दिनसम्म । गाउँलेहरू घरभित्रै बसेका थिए । १७ गतेको दिन बिहानै सुनसान स्वास्थ्यचौकीको आँगनमा सेतो कोट लगाएको केटो देखियो । सूर्यको किरण ठ्याक्कै सेतो कोट लगाउने मानिसको मुहारमा बसेको थियो । सधैँ सुनसान हुने ठाउँ त्यो दिन चहलपहल थियो । हाई काडेर बस्ने कर्मचारी यत्रतत्र छरिएर काम गरिरहेका थिए । पिउन सगुन ढोका छेउमा नेमप्लेट ठोकिरहेका थिए । डाक्टर अमृत ‘भित्र’ लेखिएको तामाको नेमप्लेट टल्किएको थियोे । सुरक्षागार्ड रमा गेटमा उभिएकी थिइन् । त्यो दृश्य देखेर गाउँले अचम्म परेका थिए । यो डाक्टर को हो ? किन आयो ? सबैले नकारेको ठाउँमा स्विकार्ने यो जीव को हो ? गाउँले मनमनै अड्कल लगाइरहेका थिए । छिनभरमै गाउँमा ठुलो हल्ला चल्यो । सिम्पाटीमा डाक्टर आए । रित्तो स्वास्थ्यचौकी भरियो । अब हाम्रा दिन आए । हाम्रो उपचार घरछेउमा हुनेभयो । वीरमान एक्लै भनिरहेका थिए ।
डाक्टर आएको थाहा पाएपछि एक वृद्ध दम्पती रोगसहित आशा बोकेर स्वास्थ्यचौकी पुगेका थिए । उनीहरूको उमेर त्यस्तै ७०÷८० वर्षको हुनु पर्छ । श्रीमतीको एक हातमा लट्ठी र अर्काे हातमा श्रीमानको हात समाएकी थिइन् । बिस्तारै ती दम्पती डाक्टरको कोठामा पसे । बिरामी देख्नसाथ डाक्टरले गरेको अति नै मिलनसार व्यवहारले बुढाबुढीलाई आधा रोग यत्तिकै निको भएको जस्तो भएको थियो । कान नसुन्ने वृद्धको समस्या डाक्टरले निको हुने गरी उपचार गरिदिए । वृद्ध दम्पती खुसी हुँदै घर गए । बाटोमा वृद्धाले गाउँलेलाई सुनाउँदै थिइन् । हाम्मा (हाम्रो ) गाउँमा भगवान्को पाइलो परेको छ । अब हाम्रा रोग बिरामी सबै निको हुने छ । हुन पनि सिम्पाटीमा सामान्य ज्वरोले मान्छेको घरबारी र ज्यान खाइरहेको थियो । मानिसहरू मृत्युलाई आत्मसमर्पण गर्न बाध्य थिए । डाक्टर गाउँमा देखिनु चमत्कार नै भएको थियो ।
डाक्टर अमृत आएपछि दिनहुँ स्पेसल केसहरू आइरहेका थिए । हिजोको सुनसान स्वास्थ्यचौकी व्यस्त हुन थालेको थियो । हरबखत बिरामीको चहलपहल देखिन्थ्यो । बिरामीहरू निर्धक्क आफ्ना समस्या डाक्टर समक्ष राख्थे । डाक्टर अमृत पनि हाँस्दै मिठो बोलीमा सोध्थेँ । डाक्टरको यो कला र स्वभाव देखेर गाउँले चकित पर्थे । डाक्टर भनेको यस्तो हुनु पर्छ, रोग पत्ता लगाउन साथी झैँ बन्छन् । उपचार गर्दा अब्बल डाक्टर, भन्थेँ । उसो अमृत पनि जुनसुकै बेला उपचारको खातिर उपलब्ध हुन्थे ।
धेरैलाई थाहा थिएन डाक्टर अमृतको पुख्र्याैली थलो सिम्पाटी नै हो भन्ने । तथापि अमृतले कसैलाई केही भनेका थिएनन् । उनी ठाउँभन्दा सेवामा रमाएका थिए ।
अमृत सिम्पाटीका लागि सुनबुकी भएका थिए । उनको हरेक छुवाइ गाउँलेलाई सञ्जीवनी भएको थियो । पहिले सिम्पाटीका मानिसहरू बिरामी हुँदा धामीझाँव्रmीकहाँ जान्थे । कालो बोको, रातो भाले, राताकाला अक्षता, सेताकाला ध्वजा धामीलाई चडाउँथे । हुन पनि मानिससँग विकल्प थिएन तर हिजोआज गाउँको रूप फेरिएको छ । मानिस बदलिएका छन् । गाह्रोसाह्रोमा मानिसले बाटो फेरेका छन् । हिजो थान जाने गाउँलेका पाइला आज अस्पतालतिर जान थालेका छन ।
डाक्टर अमृतको चर्चा नेपालभर चुलिएको थियो । सबैले जयजयकार गरेका थिए । एक दिन अचानक अमृत स्वास्थ्यचौकीमा देखिएनन । गाउँमा ठुलै हल्लाखल्ला चल्यो । एकाएक गाउँका सबै मानिस स्वास्थ्यचौकीको आँगन आए । यस पटक उत्साह नभएर मानिस निराश थिए । हुलको बिचबाट मानिसलाई पन्छाउँदै पुनम काकी डाक्टर साहब... भन्दै कराइरहेकी थिइन् । स्वास्थचौकी पूरै शान्त थियो । एकछिनपछि भित्रबाट सेतो कोट लगाएकी महिला देखापरिन् । सबैलाई नमस्कार, म डाक्टर सविना भनिन् । हुलको बिचबाट एक जना वृद्धले भने नानी हाम्मा डाक्टर कहाँ गयाँ ? सविनाले भनिन्, “बुबा उहाँ पढाइका लागि बाहिर जानुभएको छ । केही समयपछि आउनुहुन्छ ।” यति सुनेपछि सबै चुपचाप भए । एकअर्कासँग मुखामुख गरिरहेका थिए । डाक्टर सविनाले भनिन् “अब म हजुरहरूको सेवा गर्ने छु । म पनि तपाईंकी छोरीचेली हुँ । मेरो विश्वास गर्नुहोला ।” गाउँलेले पनि जोडदार ताली बजाएर स्वागत गरे । मधुपर्क