काठमाडौं, माघ १२ गते । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पर्यटकीय सेवा विस्तारसँगै पर्यटकहरुको सुरक्षा प्रमुख सरोकारको विषय भएको बताउनुभएको छ ।
शनिबार ४६ औं पर्यटक प्रहरी दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल सुन्दर मात्र नभइ सुरक्षित रहेको महशुस पर्यटकहरुलाई दिलाउनसके मात्रै नेपालमा पर्यटकको सङ्ख्या बढ्ने बताउनुभयो । उहाँले पर्यटकीय सुरक्षा नै पर्यटनको प्रमुख आधारशिला भएको जानकारी दिनुभयो ।
प्रहरीका प्रहरी महानिरीक्षक कुँवरले पर्यटकीय सुरक्षा व्यवस्थापन कार्य प्रहरीको एकल प्रयासले मात्रै सम्भव नरहेको भन्दै यसमा सरोकारवाला सबै निकायहरुको समानजनक भुमिका अनिवार्य रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘पर्यटकीय सेवा बिस्तारसँगै पर्यटकहरुको सुरक्षा पनि प्रमुख सरोकारको विषय हुनुपर्दछ । नेपाल सुन्दर मात्र होइन, सुरक्षित पनि छ भन्ने विश्वास विश्वमाझ आफूलाई चिनाउनसके मात्रै पर्यटन क्षेत्रमा थप आकर्षण बढाउन सकिन्छ ।
पर्यटकीय सुरक्षा नै पर्यटनको प्रमुख आधारशिला हो । पर्यटकीय सुरक्षा व्यवस्थापन कार्य प्रहरीको एकल प्रयासले मात्रै सम्भव छैन । यसका लागि सरोकारवाला सबै निकायहरुको समानजनक भूमिका अनिवार्य छ ।’’
प्रहरी महानिरीक्षक कुँवरले पर्यटकीय दृष्टिकोणबाट नेपाल आकर्षणको केन्द्र रहेको उल्लेख गर्नुभयो । पर्यटकीय प्रहरीको षमता वृद्धि गर्न जरुरी रहेको बताउनुभयो ।