• १७ माघ २०८१, बिहिबार

प्रदेशले अब जनशक्तिको अभाव भोग्नुपर्ने छैन : मुख्यमन्त्री आचार्य

blog

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य सहिद मनोज–झपेन्द्र–सुरेन्द्रको शालिक अनावरण गर्नुहुँदै । तस्बिर : गणेश खनाल

गणेश खनाल
अर्घाखाँची, माघ १२ गते ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिद मनोज–झपेन्द्र–सुरेन्द्रको शालिक अनावरण गर्नुभएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति अर्घाखाँचीले सन्धिखर्क नगरपालिका–६ नरपानीमा मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति पार्क निर्माण गरी शालिक निर्माण गरेको छ ।

मुख्यमन्त्री आचार्यले सहिदको शालिक अनावरण गर्दै परिवर्तन र समानताका लागि दिएको बलिदानीले मुलुकलाई नयाँ गन्तव्यमा लगेको बताउनुभयो । ‘‘मुलुकको विकास र समृद्धिका लागि सहिदहरुले देखेका सपना पूरा गर्न सरकार प्रतिबद्ध छ ।,’’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘‘सहिद पार्क निर्माण गरेर सहिदहरुको योगदानलाइ स्मरणीय र पुस्तान्तरण गर्न सहयोग पुगेको छ । समाज र राष्ट्रले सधैँ सम्झिरहने छ ।’’

सहिदहरु प्रति सच्चा सम्मान र देशभक्तिको भावना जागृत गराउन सरकारले भूमिका बढाएको बताउनुभयो । सहिद पार्क र सालिक निर्माणबाट सहिदको योगदानलाई जीवन्त राख्न र नयाँ पुस्तालाई प्रेरणा दिन सकिएको बताउनुभएको हो ।

लुम्बिनी प्रदेश सरकार जनशक्ति व्यवस्थापनको काममा सफलता प्राप्त गर्ने दिशामा अघि बढेको जानकारी दिनुभयो । प्रदेश निजामती सेवा ऐन र स्थानीय निजामती सेवा ऐनले कर्मचारी व्यवस्थापन, परिचालन र वृत्तिविकासमा योगदान पुगेको बताउनुभयो । प्रदेशमा चार हजार ७८ कर्मचारीको दरबन्दि मध्य एक हजार नौ सय कर्मचारी पदपूर्तिका लागि प्रदेश लोकसेवा आयोगले आफ्नो काम अघि बढाएकाले अब प्रदेशमा जनशक्तिको अभाव नहुने जिकिर गर्नुभयो ।

‘‘पदपूर्ति र बढुवाको काम अघि बढेको छ । जनशक्तिको समस्या समाधान गर्न सरकार सफल हुँदैछ ।,’’ उहाँले भन्नुभयो, ‘‘उपसचिवदेखि मुनिका सबै पदमा दरबन्दी पूरा गरेर सेवा प्रवाहलाई गति बढाउछौं ।’’ साथै मुख्यमन्त्री आचार्यले चालू आर्थिक वर्षमा प्रदेशबाट विनियोजन भएका बजेट तथा कार्यक्रमको कार्यान्वयन र अनुगमनलाई स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी तहबाट पनि ध्यान दिन आग्रह गर्नुभयो ।

निजामती कर्मचारी सङ्गठन अर्घाखाँचीका अध्यक्ष गणेशप्रसाद अधिकारीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निजामती कर्मचारीका साथै राजनीतिककर्मी, सामाजिक अभियानकर्मी, जनप्रतिनिधिलगायतको उपस्थिति थियो ।