• २० माघ २०८१, आइतबार

विद्यार्थी बिरामी हुन थालेपछि विद्यालय बन्द

blog

बन्द गरिएको थाङपाल भ्याली माध्यमिक विद्यालय ।

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, माघ १२ गते  । विद्यार्थी, शिक्षक धमाधम बिरामी पर्न थालेपछि यहाँको पाँचपोखरी थाङपाल गाउँपालिका–४ स्थित थाङपाल भ्याली माध्यमिक विद्यालय बन्द गरिएको छ । 

विद्यार्थी, शिक्षक धमाधम रुखाखोकी, ज्वरोलगायतका रोगले बिरामी पर्न थालेपछि केही दिनका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक विनोद लामाले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार विद्यालय बन्द गरिएको हो । ज्वरो र रुघाखोकीले महामारीको रूप लिन सक्ने जोखिम बढेकोले बाध्यता भएर विद्यालय बन्द गर्नु परेको उहाँले बताउनुभयो ।  

विद्यालयको प्रशासनिक कामकाजबाहेक शिक्षणको काम बन्द गरिएको छ । पछिल्ला दिनमा यहाँ जाडो बढेपछि ज्वरो र रुघाखोकीका समस्या वृद्धि भएको छ ।  बिरामी विद्यार्थी र शिक्षकको स्थानीय स्वास्थ्य संस्था, मेलम्ची अस्पताल, धुलिखेल अस्पताललगायतका स्वास्थ्य संस्थामा उपचार भइराखेको छ । जाडो मौसमका कारण सिन्धुपाल्चोकको लेकाली भेगका विद्यालय साता दिनका लागि बन्द गरिएका छन् । सिन्धुपाल्चोकको हिमाली क्षेत्रमा करिब एक सयभन्दा बढी सामुदायिक विद्यालय रहेका छन् ।