आज खुसीको दिन हो । हामीले सिद्धबाबा सुरुङको ‘ब्रेक थ्रु’ गर्न सफल भएका छौँ । केही वर्षअगाडि म बुटवल भ्रमणमा आउँदा त्यहाँ प्रिया भण्डारी र केही कलाकारले गीत गाउनुभएको थियो, ‘कहिले बन्छ नेताज्यू सिद्धबाबा खण्ड ?’ भनेर । साह्रै पीडा, चासो र जिज्ञासाको विषय थियो यो बाटो । यो बाटो नबन्दा हरेक वर्ष बस दुर्घटना हुने, पहिरोमा पर्ने, पहिरोले गाडी बगाउने, गाडी नै फेला नपर्ने, फेला परे पनि अस्थिपञ्जर गाडीको वा मान्छेको फेला पर्ने दुःखदायी अवस्था थियो । त्यसबाट उत्तरी भेग र दक्षिणी भेगका लागि यात्रा गर्ने जनता वास्तवमा अत्यन्तै पीडित थिए र त्यो पीडाबाट जोगिन चाहन्थे र त्यो गीत त्यसै कारण उब्जिएको थियो, ‘कहिले बन्छ नेताज्यू सिद्धबाबा खण्ड’ भन्ने गीत । त्यो जनताको आवाज गीतको रूपमा घन्किएको थियो । जनताले आफ्नै भाषामा पनि त्यो गीत गाउँथे अथवा आफ्नै भाषामा त्यो भन्थे ।
आज ती प्रश्नले जवाफ पाएको छ, अब बन्यो सिद्धबाबा खण्ड । अब सुरुङको रूपमा बन्यो । अब पहिरो नजाने र नभत्किने गरी बन्यो । बिचमा कुनै गम्भीर क्षति र नोक्सानी नभईकन बन्यो । सफलतापूर्वक बन्यो । म त्यहाँ निरीक्षणमा जाँदा कि यस्तो ठाउँमा पनि सुरुङ हुन्छ र ? भनेर मान्छेहरू भन्दै थिए तर हुन्छ, हुँदो रहेछ । सिद्धबाबा खण्डको बाटोलाई सुरुङमार्गबाट सहज तरिकाले निकास दिने काम भएको छ । यस अवसरमा म तपाईंहरूलाई बधाई भन्न चाहन्छु र सबैलाई शुभकामना भन्न चाहन्छु । बधाई यस कारण कि तपाईंहरू त्यस पीडाबाट मुक्त हुनुभएको छ, शुभकामना यस कारण कि यसको लाभ लिनुस् र यस लाभबाट तपाईंहरूको सहज आवागमन, सामाजिक सम्बन्ध, आर्थिक सम्बन्ध, बन्द व्यापारदेखि लिएर अरू आर्थिक क्रियाकलापदेखि लिएर चाडपर्वदेखि लिएर सबै कुराको आदानप्रदान गर्न सक्नुहुन्छ । आफ्नो ठाउँको उत्पादन अर्को ठाउँमा पु¥याउने, अर्को ठाउँको उत्पादन आफ्नो ठाउँमा ल्याउने काम गर्न सक्नुहुन्छ । अब तपाईंहरू एउटा ठुलो सुविधाको क्षणमा प्रवेश गर्दै हुनुहुन्छ । यद्यपि सबै बाटो बनिसकेको छैन तर अब टनेल नै ‘ब्रेक थ्रु’ भइसकेपछि, टनेलमार्ग नै तयार भएपछि बाटो कुनै कुराको कमी रहने छैन । अब पाल्पा, पोखरा, गुल्मी, अर्घाखाँचीको उत्तरी भेग हुँदै प्युठान जानका लागि सबै कुराको अनुकूलता त्यहाँबाट भएको छ । त्यसै गरेर कालीगण्डकी कोरिडोरसँग यो बाटो पर गएर जोडिन्छ । यसबाट सडकको एउटा सञ्जालको रूपमा यसले काम गरेको छ । यसका निम्ति यसमा सहयोगकर्तालाई, दाताहरूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु । छोटो समयमै यस कार्यलाई सम्पन्न गर्नुभएकोमा ठेकेदार कम्पनीलाई पनि धन्यवाद भन्न चाहन्छु । यसको मुख्य चुनौतीको पाटो सुरुङमार्ग थियो, त्यो छिचोलिएको छ ।
मैले धेरै अगाडि, जतिबेला नागढुङ्गा–नौबिसे सुरुङ खण्डको शिलान्यास गर्दै थिएँ, त्यसबेला मैले भनेको थिएँ अब नेपालमा टनेल युगको प्रारम्भ भयो अथवा हामी नेपाली अब टनेल युगमा प्रवेश गरेका छौँ । अब बिस्तारै बिस्तारै दुर्गम कच्ची पहाड चढ्दै, पहिरो जाने पहाड चढ्दै गाडीहरू घुमाएर मनमा दुर्घटनाको त्रास बोकेर यात्रा गरिरहनुपर्ने छैन । धेरै हामी त्यस्ता बाटालाई छोटा बाटाको रूपमा सुरुङमार्गबाट, वल्लो बेँसीबाट, पल्लो बेँसी र अझ पल्लो बेँसी निकाल्दै सहज ढङ्गले छोटो बाटोबाट टाढाको दुर्गम सहज नहुने गन्तव्य छोटो मार्गबाट पुग्न सक्छौँ र त्यो हामी प्राप्त गर्न सक्छौँ । पहाडहरूका लागि त्यसबाट सम्पर्क बाटाहरू निर्माण गरेर हामी ती काम गर्न सक्छौँ । हामी त्यहाँ ‘लिङ्क रोड’ बनाउँछौँ, ‘रिभर कोरिडोर’ बनाउँछौँ । नेपालका सबै जिल्लामा अहिले गाडी पुगिसकेको छ । त्यस्तो अवस्थामा नेपाल दुर्गम भन्ने हिजो झैँ रहेन तर यसलाई अझ सुगम बनाउँदै लाने छौँ । विभिन्न खालका सञ्जालका बाटाहरू, सुरुङमार्ग, झोलुङ्गे पुल, पुल, हवाई यातायात, हवाईमार्ग, मैदानलगायतका अनेक केबुलकार जस्ता कुराबाट हामी अनेक ठाउँलाई सुगम र रमाइला ठाउँ र विकसित ठाउँका रूपमा परिणत गर्ने छौँ । त्यस कारण अब नेपाल बिस्तारै दुर्गमबाट सुगम रूपमा, पिछडिएको देशबाट अगाडि बढेको देशको रूपमा, अल्पविकसित देशबाट विकासशील देशको रूपमा र शिक्षा, स्वास्थ्यमा वञ्चित वा पछाडि परेको स्थितिबाट सामान्य अवस्थातर्फ छिटै अग्रसर हुँदै छ भन्ने यी कुराले देखाएका छन् ।
म दाजुभाइ दिदीबहिनीलाई आग्रह गर्न चाहन्छु, यो खुसी तपाईंहामीको खुसी हो । यो सिङ्गै देशको खुसी हो । यो पाल्पा र रुपन्देही जस्ता जिल्लाको ठुलो खुसी हो । त्यति मात्रै होइन, पाल्पा, स्याङ्जा, कास्की र अरू जिल्ला यो यस बाटोबाट सजिलैसँग बुटवल अथवा बुटवलबाट पूर्व–पश्चिम जानु पर्छ, त्यो सजिलो हुन्छ । त्यस कारण यो सुरुङमार्गको विशेष महत्व छ र यो एउटा ऐतिहासिक घटना हो । यो इतिहासमा पहिलो पटक घटित भएको र पहिलो पटक प्राप्त भएको सफलताको कुरा हो । त्यस कारण म सबैमा खुसी व्यक्त गर्न चाहन्छु । सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु । जसले यसमा काम गर्नुभएको छ, कामदार, मजदुर, इन्जिनियर सबैलाई धन्यवाद भन्न चाहन्छु । स्थानीय जनता, जसले यस सुरुङ मार्गको निर्माणका लागि सरकारलाई झक्झकाउने काम, हामी सबैलाई झक्झकाउने काम र छिटो गर्नका लागि प्रेरित र प्रोत्साहित गर्नुभएको छ, म उहाँहरूलाई पनि धन्यवाद भन्न चाहन्छु । यो हामी सबैको सफलता हो । यस्तै सफलता जोड्दै गएर नेपाल एउटा सफलताको देश हुने छ । यस्तै उपलब्धिलाई जोड्दै गएर उपलब्धिको देश हुने छ । यस्तै पछौटेपनलाई चिर्दै जाने घटनाबाट, उपलब्धिबाट जोडिँदै गएर पछौटेपन समाप्त पारिएको देश हुने छ । हामी आशावादी बन्न सक्नु पर्छ । अहिलेको सरकार विकासका लागि बनेको छ । यो सरकार स्थायित्व र स्थिरताका लागि बनेको छ । यो सरकारले विकासका कामलाई तीव्रताका साथ अगाडि बढाउँछ । अहिले अघिल्लो पटक सुरु भएका काम अगाडि बढेका छन् । अहिले नेपाली कांग्रेस र नेकपा (एमाले) को संयुक्त सरकारले अत्यन्तै ध्यान दिएर देशको शीघ्र विकास कसरी गर्न सकिन्छ, देशमा सुशासन कसरी ल्याउन सकिन्छ भन्ने कुरामा विशेष रूपमा ध्यान दिइरहेको छ । यी विषयमा तल्लीन भएर जनतालाई सेवा सुविधा कसरी पु¥याउन सकिन्छ भन्ने कुरामा ध्यान दिएर नै अहिलेको सरकार अगाडि बढेको छ । तसर्थ म सबैलाई आशावादी हुन, हामी बनाउँछौँ हाम्रो देश, अरूले बनाउने होइन, हामीले आफैँ बनाउँछौँ, हामी अरूको पनि सहयोग लिन सक्छौँ, अरूको लगानी आमन्त्रण गर्न सक्छौँ, अरूको अनुकूलता, हाम्रो अनुकूलता र आवश्यकता, प्राथमिकतामा अरूका ऋणहरू पनि आवश्यकता अनुसार स्वीकार गर्न सक्छौँ । जसरी होस् हाम्रो देशलाई फाइदा हुने, हाम्रो देशको शीघ्र विकास हुने कुरामा हाम्रो ध्यान जाने छ र गइरहेको पनि छ । यसर्थ हाम्रो देशको विकास सम्भव छ, छिटो हुन्छ । यो देशसँग अहिले पनि युवा जनशक्ति छ, स्रोतसाधन छन्, हाम्रा प्रयास र हाम्रा मित्रका साथ सहयोगले हामी छिटै अगाडि बढ्न सक्ने छौँ । म सबै साथीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छुु । धन्यवाद तथा शुभकामना ।
(प्रधानमन्त्री ओलीले सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ कार्यक्रमका अवसरमा शुक्रबार गर्नुभएको भर्चुअल सम्बोधनको सम्पादित अंश)