कुनै पनि योजना सञ्चालन गर्न उक्त योजनाको आवश्यकता, यसबाट जनताले पाउने लाभ, यसलाई सञ्चालन गर्न आवश्यक पर्ने भौतिक पूर्वाधार, दक्ष जनशक्ति र अन्य जनशक्ति, आर्थिक स्रोत र यसबाट उत्पादित भएको वस्तुको प्रयोग वा उपभोग गर्ने जनसङ्ख्या आवश्यक हुन्छ । यिनै विषयलाई ध्यानमा राखेर सिंहदरबार वैद्यखानालाई सञ्चालन गर्न सकिन्छ । यो कुनै नयाँ योजना होइन यस संस्थाको इतिहास, पृष्ठभूमि र आवश्यकता हेरेर यसलाई सञ्चालनमा ल्याउनु पर्छ । एलोप्याथिक उपचार पद्धतिको साथसाथै आयुर्वेद पद्धतिका औषधीको प्रयोग गर्न चाहेका छन्, आमजनताले । नेपालको मात्र आवश्यकता नभएर आयुर्वेदिक औषधी उत्पादन गर्ने सरकारी स्तरमा नै एउटा संस्थाको आवश्यकता छ ।
योजना कसले सञ्चालन गर्ने भन्ने विषय महत्वपूर्ण हुन्छ । सिंहदरबार वैद्यखाना सञ्चालन गर्न जिम्मेवारी स्वास्थ्य मन्त्रालयको हो । माथि उल्लिखित आधारको सन्दर्भमा यसको पृष्ठभूमिलाई पनि केही उल्लेख गर्नुपर्ने हुन्छ । शरीर, मन, इन्द्रिय र आत्माको संयोग नै आयु हो । निरन्तर रूपमा चल्ने एक क्षण पनि नरोकिने भएकाले यसलाई नित्य पनि भनिन्छ र त्यस आयुको ज्ञान जुन शास्त्र वा विद्याबाट प्राप्त हुन्छ त्यो नै आयुर्वेद हो । आयुर्वेद मनुस्य जस्तै पशुपन्छी तथा विभिन्न वनस्पतिसँग पनि सम्बन्धित छ । ज्ञानको प्रारम्भ सृष्टिभन्दा पहिले नै आयुर्वेदको उत्पत्ति भएको केही विद्वान्को मत छ । आयुर्वेदको उत्पत्ति पनि मानिसको उत्पत्तिभन्दा पहिले नै भएको हो । मानव जाति र पशुपन्छीको जीवनको सृष्टिदेखि नै अन्य खानपिनको अलावा औषधीको आवश्यकता भएको देखिन्छ । हालको अवस्था हेर्ने हो भने मानिसलाई खाना जति खर्च चाहिन्छ त्योभन्दा बढी औषधीमा लाग्छ । पोषणयुक्त खानामा पाँच वटा तत्व समावेश गरिएकोमा अब औषधीलाई पनि थप गरी छ वटा बनाउनु पर्ने भएको छ ।
नेपालमा सर्वप्रथम वैद्यखानाका नामको एक रसायनशाला हनुमानढोका दरबारमा मल्लकालीन समयमा स्थापना भए पनि वर्तमान सिंहदरबार वैद्यखाना नामको संस्थानको स्थापना तत्कालीन राजा सुरेन्द्र वीरविक्रम शाहको समयमा भएको हो । नेपालका तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले आफ्नो इच्छानुसार सुधार गरी अनेकानेक रसायन एवं औषधी निर्माण गराएका थिए । जसमा महाराजा चन्द्रोदय, शिवप्रसाद, रससिन्दुर जीवनारायण तेल आदि उल्लेखनीय छन् । अष्टादश (१८) संस्कार एवं विभुक्षित पारद निर्माण भएको थियो । जङ्गबहादुरले हनुमानढोका दरबारबाट थापाथली दरबारमा उक्त वैद्यखानालाई स्थानान्तरित गरेका थिए । विसं १९०५ माघ १३ गते सोमबारको दिनमा भीषण अग्निकाण्डमा कतिपय औषधी नष्ट भएको थियो । त्यसपछि थापाथलीबाट त्रिपुरेश्वरमा सारियो । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जबराद्वारा वैद्यखानाको भवन निर्माण गरी उक्त वैद्यखानालाई सिंहदरबारमा स्थापित गरियो ।
इसं १९३८ को द्वितीय विश्वयुद्धमा नेपालको सेनाको साथमा सिंहदरबार वैद्यखानाबाट निर्मित औषधी पनि विदेशमा पठाइएको थियो । त्यसबाट विदेशी चिकित्सक पनि प्रभावित भएका थिए । यस वैद्यखानामा निर्मित रातोबरि अतिसार (पखाला) लागेमा र हरियो मलम सद्योव्रण (तुरुन्त काटेका घाउ) का लागि धेरै प्रभावशाली भएका थिए । राजकीय व्यवस्था अनुसार सिंहदरबार वैद्यखानाको अतिरिक्त कुनै प्रकारको औषधालय निर्माण भएको थिएन । पूर्वराजा त्रिभुवनको शासनकालमा विसं २००७ मा नेपाल राज्यभरमा धर्मार्थ र औषधालयको निर्माण भएको हुँदा तत्कालीन राजा त्रिभुवनको काललाई आयुर्वेदिक स्वर्णयुग मानिएको थियो ।
संसारमा मानव जातिको उत्पत्ति र विकाससँगै मानव शरीरमा रोगव्याधि पनि देखा पर्दै गए । त्यस्ता स्वास्थ्य समस्यालाई आआफ्नो ज्ञानको सहायताले समाधान गर्ने प्रयत्न गर्दै आए । मानव जातिको यही प्रयोग र प्रयासस्वरूप कालान्तरमा संसारमा विभिन्न किसिमका चिकित्सा प्रणाली विकसित भए । विश्वको प्राचीनतम चिकित्सा प्रणाली मानिने आयुर्वेद नेपालको मौलिक चिकित्सा प्रणाली हो । जसको फलस्वरूप २०५२ सालमा राष्ट्रिय आयुर्वेद स्वास्थ्य नीति लागु गरी त्यसको कार्यान्वयन गर्ने जिम्मेवारी आयुर्वेद विभागलाई तोकियो । सो नीतिको पहिलो वाक्यमा स्पष्टतः आयुर्वेद नेपालको राष्ट्रिय चिकित्सा पद्धति हो भनिएको छ ।
धेरै वर्षदेखि यसरी सञ्चालन भइरहेको सिंहदरबार वैद्यखानाको औषधी उत्पादन कार्य कार्य लथालिङ्ग र अव्यवस्थित भई हाल देशमा आवश्यक पर्ने आयुर्वेदिक औषधी उत्पादन हुन नसकेको छैन । जसका कारण विदेश र निजी कम्पनीबाट आपूर्ति गर्नु परेको छ । स्वास्थ्य मन्त्रालयले नेपाललाई आवश्यक पर्ने आयुर्वेदिक औषधी उत्पादन गरेर सुधारका थालनी गर्नु पर्छ । सिंहदरबार वैद्यखानालाई पूर्ण रूपमा सञ्चालन गर्न मात्र निम्न चरण पूरा गर्नु पर्ने आवश्यकता छ । आयुर्वेद सेवाको विज्ञसमेतको संलग्न भएको योजनाकार, अर्थविद्, प्रशासनविद्सहितको एउटा उच्चस्तरीय समिति गठन पहिलो सर्त हुनु पर्छ । अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र स्वास्थ्य मन्त्रालयबिच छलफल गरी बजेटको व्यवस्था गरौँ । हाल नेपाल राज्यभरि आयुर्वेद संस्थामा औषधीका लागि बजेट व्यवस्था गर्ने, नेपाललाई आयुर्वेदिक औषधिको कति खपत छ, स्वदेशी र विदेशी गरी कति औषधी आयात हुन्छ, अहिलेभन्दा अरू औषधी सेवा, जनशक्ति कति आवश्यक पर्छ, त्यसबारे योजना बनाउने । समितिको ऐन र नियम अनुसार कार्यकारी निर्देशकको नियुक्ति, आयुर्वेद तथा वैकल्पिक महाशाखा अन्तर्गत राख्ने जस्ता कार्य तत्काल थाल्नु पर्छ ।
सरकारले नसक्ने हो भने सार्वजनिक खरिद ऐन अनुसार बजेटको व्यवस्था गरी नियम अनुसार स्वदेशी तथा विदेशी निजी कम्पनीलाई सरकारको निर्देशन अनुसार काम गर्ने गरी वैद्यखानालाई सक्रिय बनाउनु पर्छ । वैद्यखानालाई आयुर्वेदिक हब बनाउन पनि हाल भएको पूर्वाधारलाई प्रयोगमा ल्याउन सकिन्छ ।
मानिसलाई लाग्ने, सर्ने र नसर्ने रोग जस्तै उच्च रक्तचाप, मुटु रोग, मधुमेह, एचआइभी एड्स, क्षयरोग क्यान्सरलगायत रोग रोकथाम र नियन्त्रण गर्ने तर्फका औषधीको उत्पादन, आयात, निर्यात र वितरण तर्फ कसैको ध्यान गएको छैन । नेपाल स्वास्थ्य अनुसन्धान र आयुर्वेद अनुसन्धान केन्द्रबाट के कति रोगका बारेमा अनुसन्धान भएको छ, अब नेपाललाई कस्ता कस्ता रोग बारेमा कस्ता कस्ता औषधी उत्पादन वा आयात गर्नु पर्छ भन्नेबारे आवश्यक परामर्श हुन आवश्यक छ । वैद्यखानालाई आयुर्वेद मात्रको औषधी उत्पादन र बिक्री वितरण गर्ने स्थानका रूपमा नहेरी यहाँ शैक्षिक कार्यक्रम पनि सञ्चालन गर्नुपर्ने आवश्यकता छ । औषधी व्यवस्था विभाग, नेपाल औषधी लिमिटेड कम्पनी र अन्य निजी कम्पनीको साझेदारका रूपमा भए पनि औषधी उत्पादन गर्नु आवश्यक छ । आर्थिक स्रोत र दक्ष जनशक्ति बिना सिंहदरबार वैद्यखाना सञ्चालन गर्न कठिन छ ।