• १२ माघ २०८१, शनिबार

बस्ती र खानेपानी क्षेत्रको डढेलो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग

blog

महाभारत सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिनका लागि प्रयोग गरिएको सिम्रिक एयरको हेलिकप्टर। तस्बिर सौजन्य : भगवान आचार्य

केदार तिमल्सिना 

बनेपा, माघ ११ गते। काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका–१ थामलेखस्थित महाभारत सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिनको लागि हेलिकप्टरको सहायता लिइएको छ।

बुधबार दिउँसोबाट सुरु भएको डढेलो बेथानचोक गाउँपालिका–१ र २ को सिमानामा रहेको बस्तीमा असर पुग्ने देखिएपछि सिम्रिक एयरको हेलिकप्टरको सहायताले बस्ती केन्द्रीत डढेलो नियन्त्रणमा लिइएको हो। 

बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बस्ती केन्द्रीत डढेलो नियन्त्रणमा लिइएपनि महाभारत सामुदायिक वनमा लागेको डढेलो भने नियन्त्रणमा लिन नसकिएको बताउनुभयो। 

उहाँका अनुसार सामुदायिक वनमा लागेको डढेलोका कारण बेथानचोकको वडा नम्बर–१ र २ को सिमानाको बस्ती तथा खानेपानीको स्रोतहरुमा क्षति पुग्ने देखिएपछि गृह मन्त्रालयमा अनुरोध गरेर हेलिकप्टरको माध्यमबाट बस्ती र खानेपानीको स्रोतको डढेलो नियन्त्रणमा लिइएको हो। 

हेलिकप्टर र स्थानीयबासीको सहयोगमा ज्वानेथुम्के र रमिते डाँडामा लागेको डढेलो नियन्त्रणमा लिइएको उहाँको भनाइ छ। 

अध्यक्ष अधिकारीले बेथानचोक गाउँपालिका–२ नाङ्गेचौर पार्कमा रहेको पोखरीमा रहेको २४ हजार लिटर पानीबाट बस्ती र खानेपानीको स्रोतमा असर गर्ने डढेलो नियन्त्रणमा लिइएको जानकारी दिनुभयो। 

महाभारत सामुदायिक वनमा लागेको डढेलो भीर, पहरामा रहेकोले नियन्त्रणमा लिन नसकिने अवस्थामा रहेको थियो। डढेलो नियन्त्रणमा लिनको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बुधबार दिउँसोबाट नै केही सङ्ख्यामा प्रहरी परिचालन गरेको छ।