• १० माघ २०८१, बिहिबार

प्रधानमन्त्री कप : आर्मीले सुदूरपश्चिमलाई हरायो

blog

विकेट लिएपछि आर्मीका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, माघ १० गते । विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर फोरको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई हराएको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा बिहीबार भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई १४ रनले हरायो । जितका लागि एक सय ११ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ९६ रनमा समेटिएको थियो । 

सुदूरपश्चिमका लागि मनिषा बोहोराले १८ रन बनाउनुभयो । कविता कुँवरले १६ र कप्तान विन्दु रवालले ११ रन बनाउनुभयो । बलिङमा आर्मीकी सुस्मिता भुषालले तीन विकेट लिनुभयो । सिता शाही र रक्ष्मी साउदले एक एक विकेट लिनुभयो । 

यसअघि पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय १० रन बनाएको थियो । आर्मीका लागि सम्झाना खड्काले अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ५७ बलमा आठ चौकाको सहयोगमा ७४ रन बनाउनुभयो ।

अन्य खेलाडीले भने दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा सुदूरपश्चिमकी जानकी थापाले दुई तथा रेवती धामीले एक विकेट लिनुभयो ।