गाउँ, समाज एवं राष्ट्रका निम्ति आफ्नो जीवन तथा सर्वस्वलाई समर्पित गर्ने वीर सपुतहरू मरेर गए पनि समय समयमा श्रद्धा एवं आदरका साथ स्मरण गर्ने गरिन्छन् । नेपाली राजनीतिको क्षितिजमा उदाउनुभएका एक यस्तै ताराको रूपमा गजेन्द्रनारायण सिंहलाई पनि स्मरण गर्न सकिन्छ । २३ वर्षअघि उहाँको निधन हुँदा देशको राष्ट्रिय राजनीतिमा अशान्ति, असुरक्षा एवं अस्थिरता व्याप्त थियो तर उहाँ जस्ता नेताहरूकै निरन्तरको त्याग एवं समर्पणको कारण देश निरन्तर अग्रगमनको बाटोमा लम्किरहेको छ । इमानदारिता, त्याग, समर्पण, सहिष्णुता एवं लोकतन्त्रको उच्च आदर्शलाई आत्मसात् गर्दै देशमा सामाजिक न्याय स्थापनाका निम्ति उहाँले चलाउनुभएका अहिंसक एवं शान्तिपूर्ण आन्दोलनका कारण उहाँले चर्चामा ल्याउनुभएका समानता तथा सामाजिक न्यायलगायतका क्षेत्रमा उल्लिखनीय परिवर्तन भएको छ । देशमा सङ्घीयताको स्थापना हुनुमा उहाँको पनि भूमिका महत्वपूर्ण रहेको मान्नु पर्छ । भौतिक रूपमा उहाँ नरहे पनि देशको राष्ट्रिय राजनीति अहिले पनि उहाँले उठाउनुभएका राजनीतिक मुद्दाहरूकै वरिपरि केन्द्रित छ भन्दा अतिश्योक्ति नहोला ।
जनआन्दोलन–२ को सफलतापश्चात् देशको राष्ट्रिय राजनीतिमा धेरै परिवर्तन भयो । एक दशकसम्म सशस्त्र सङ्घर्ष गरेको नेकपा (माओवादी) ले शान्तिपूर्ण राजनीतिमार्फत राष्ट्रिय राजनीतिको मूलधारमा आफूलाई प्रवाहित गर्न सहमति व्यक्त ग¥यो भने २४० वर्ष पुरानो राजसंस्थाको इतिहास बोकेको नेपालले गणतन्त्र आत्मसात् ग¥यो । हिन्दु राष्ट्रको रूपमा विश्वमै ख्यातिप्राप्त गरेको नेपालले धर्मनिरपेक्षता स्वीकार ग¥यो भने २०६४ सालको मधेश आन्दोलनका कारण देशका अन्तरिम संविधानमा संशोधनपश्चात् सङघीयता स्वीकार गरियो । २०६४ सालको मधेश आन्दोलनका कारण देशको राजनीतिमा नयाँ नयाँ अभियन्ता आफूलाई मधेशी आन्दोलनका एक मात्र सच्चा नेतृत्वकर्ताको रूपमा परिभाषित गर्न थाले । जबकि २००९/१० सालतिर नै कुलानन्द झा एवं रामजनम तिवारी जस्ता नेताहरूले तराई कांग्रेसको स्थापना गरी मधेशको समस्या उठाउने काम गरिसक्नुभएको थियो । सङ्घीयताको मुद्दालाई पनि तराई कांग्रेसले २०१० सालमा नै उठाएको थियो । २०१५ सालको आमनिर्वाचनमा त्यस पार्टीको प्रमुख राजनीतिक एजेन्डा नै सङ्घीयता थियो ।
२०४६ सालको परिवर्तनपछि गजेन्द्रनारायण सिंहले नेपाल सद्भावना पार्टीको स्थापना गर्नुभयो तथा नागरिकता आरक्षण (समानुपातिक समावेशिता), सङ्घीयता, नेपाली सेनामा समावेशीकरण, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रको गठन तथा सबै भाषा एवं संस्कृतिले राजकीय संरक्षण पाउनुपर्ने मुद्दा उठाउनुभएको थियो । गजेन्द्रनारायणले उठाउनुभएका मुद्दाहरूभन्दा फरक तथा थप विषयलाई कुनै पनि नयाँ मधेशवादीले उठाएका छैनन् । सप्तरीको एक उच्च मध्यमवर्गीय किसान परिवारमा जन्मनुभएका गजेन्द्रनारायण लोकतन्त्र, सामाजिक, न्याय तथा समानताका निम्ति आफ्नो सम्पूर्ण जीवन समर्पित गर्नुभएको थियो । उहाँको निधन भएको २३ वर्ष बितिसकेको छ । सैद्धान्तिक राजनीतिमा विश्वास राख्ने गजेन्द्रनारायण राजनीतिलाई विशुद्ध समाजसेवाको पवित्र माध्यम मान्नुहुन्थ्यो । भ्रष्टाचार एवं अनियमितताको आरोपबाट मुक्त उहाँ जस्ता नेताको राजनीतिक यात्रा तथा उच्च विचार वर्तमान पुस्ताका निम्ति प्रेरणाको स्रोत हुन सक्छ । गजेन्द्रनारायण बाचुन्जेल मधेशवाद भन्ने शब्दको प्रयोग देशको राजनीतिमा भएको थिएन । उहाँ परिवारवाद, जातिवाद, भ्रष्टाचार एवं अवसरवादका घोर विरोधी हुनुहुन्थ्यो । वर्तमान अवस्थामा गजेन्द्रबाबुद्वारा स्थापित राजनीतिक पार्टीको नाम चुनाव चिह्न, झन्डा तथा कमोवेश उपरोक्त सिद्धान्तलाई समेत तिलाञ्जली दिने काम भइसकेको छ । सालिक र तस्बिरमा उहाँ सीमित भइसक्नुभएको छ । गजेन्द्रनारायणको विचार एवं सिद्धान्त आत्मसात् गर्नु सहज कुरा होइन । उहाँको नाम र फोटो अब पद एवं सत्ताको भागबन्डाको निम्ति बार्गेनिङ गर्ने हतियारको रूपमा विकसित भइरहेको छ ।
विद्यालयस्तरको अध्ययनका बखत नै दक्षिणी छिमेकी राष्ट्र भारतमा जारी स्वाधीनता प्राप्तिको आन्दोलन तथा स्वयम् आफ्नो देशमा पनि जारी राणाविरोधी आन्दोलनको गहिरो प्रभाव उहाँको मन–मस्तिष्कमा परेका कारण उहाँले आफूलाई पनि आन्दोलनमा होमिदिनु भयो । राणाविरोधी आन्दोलनमा सहभागी हुन बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशमशेरबाट उहाँ सर्वाधिक प्रभावित हुनुहुन्थ्यो । राजविराजस्थित गजेन्द्रबाबुको निवास सप्तरी सेवा आश्रममा प्रत्येक वर्ष सुवर्ण जयन्ती धुमधामका साथ पर्वको रूपमा मनाउने गरिन्थ्यो । नेपाली कांग्रेस सप्तरीको जिल्ला अध्यक्षसमेत रहिसक्नुभएका गजेन्द्रबाबुले आफ्नो जीवनको अधिकांश समय (तीन दशकसम्म) नेपाली कांग्रेसमै बिताउनुभयो । कांग्रेसमा रहेर हतियार उठाउनुदेखि जेलनेलको कठोर यात्रा एवं निर्वासनसमेत भोग्नुभयो । उहाँ जेलमै हुँदा उहाँकी आमाको निधन भएको थियो तथा जेलमै हुँदा एक मात्र पुत्रको पनि निधन भएको थियो । उहाँ सन्तानविहीन भएर बाँच्नुभयो । विसं. २०४० मा जनसङ्ख्याविद् डा. हर्कबहादुर गुरुङको बसाइँसराइसम्बन्धी जनसङ्ख्या प्रतिवेदन चर्चामा आएपछि त्यसको विरोध गर्न उहाँले मातृपार्टी नेपाली कांग्रेस परित्याग गर्नुभयो तथा नेपाल सद्भावना परिषद् नामक सामाजिक सङ्गठन खोलेर पर्सा, वीरगन्जका पुराना मधेशी नेता रामजनम तिवारीलाई त्यसको संयोजक बनाएर गोप्य रूपमा मधेशका बुद्धिजीवीसँग सम्पर्क एवं सहकार्य गर्न थाल्नुभयो । अन्ततः प्रतिवेदन कार्यान्वयनमा आउन सकेन । २०४३ सालमा उहाँ तत्कालीन संसद् (राष्ट्रिय पञ्चायत) को सदस्यमा सप्तरीबाट ठुलो मतसहित विजयी हुनुभयो । राष्ट्रिय पञ्चायत सदस्यको रूपमा राजसंस्थाको प्रशंसा गरे पनि आफ्नो प्रत्येक भाषणमा मधेशी समस्यालाई उठाउने गर्नुभयो । गजेन्द्रनारायणले विसं २०४६ को परिवर्तनपछि नेपाली सद्भावना परिषद्लाई नेपाल सद्भावना पार्टीमा परिणत गर्नुभयो र त्यसको अध्यक्ष हुनुभयो । लगातार तीन पटक उहाँ पार्टी अध्यक्ष निर्वाचित हुनुभयो । उहाँ बाचुन्जेल नेकपा (माओवादी) को सशस्त्र सङ्घर्षलाई राजनीतिक समस्याको रूपमा परिभाषित गर्नुभयो । माओवादी समस्याको समाधान शान्तिपूर्ण वार्ताको माध्यमबाट हुने उहाँको अडान अन्ततः सत्य साबित भयो ।
भारतसँग विशेष सम्बन्धको वकालत गर्ने गजेन्द्रनारायण नेपाल–भारत सम्बन्धलाई अवसरको रूपमा विकसित गर्ने वकालत गर्नु हुन्थ्यो । हालै आएको एक अध्ययन अनुसार नेपालले सन् २०४५ सम्म बिजुली बेचेर प्रतिवर्ष १० खर्ब ६९ अर्ब रुपियाँ कमाउन सक्ने छ । गजेन्द्रनारायणले दुई दशकअघि नै भन्नुभएको थियो कि हामीले आफ्नो जलसम्पदाको सदुपयोग गर्ने हो भने देशको पानीलाई ‘वाटर डलर’ को रूपमा विकसित गर्न सक्छौँ । अरब राष्ट्रहरू आफ्नो सम्पदा पेट्रोलियम पदार्थको सदुपयोग गरेर ‘पेट्रो डलर’ कमाए जस्तै नेपालले पनि ‘वाटर डलर’ कमाउन सक्ने विश्लेषण उहाँको थियो ।
२०४७ साल वैशाख पहिलो साता नेपाल सद्भावना पार्टी स्थापना गर्नुभएका उहाँले आफ्नो पार्टीको प्रमुख एजेन्डा नागरिकता, आरक्षण (समानुपातिक समावेशिता), जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रको गठन तथा सङ्घीयता अगाडि सार्नुभएको थियो । उहाँ बाँचुन्जेल उपरोक्त राजनीतिक मुद्दाले देशमा व्यापक चर्चा पाए पनि समाधान हुन सकेको थिएन । नेपाल जस्तो बहुजातीय, बहुभाषी एवं बहुसंस्कृति विकासका निम्ति राजकीय संरक्षण पाउनुपर्ने उहाँको मान्यता थियो । भाषा एवं संस्कृतिको मान्यताको क्षेत्रमा धेरै हदसम्म काम पनि भएको छ भने भाषा आयोगको प्रतिवेदनपछि भाषा समस्या पनि समाधान हुने ठम्याइ विश्लेषकको छ । उहाँले साढे दुई दशकअघि सुरु गर्नुभएको समतावादी आन्दोलन अब लक्ष्यसम्म पुग्ने अवस्थामा आइसकेको छ ।
उहाँको निधनपश्चात् देशमा अनेकौँ मधेशवादी दलहरू अस्तित्वमा थिए । उहाँले खोलेको नेपाल सद्भावना पार्टी विभिन्न टुक्रामा विभाजित भई अब इतिहासको दुःखद अध्यायमा परिणत भएको छ । उहाँको निधनपश्चात् मधेशमा अनेकौँ पार्टी खुले तर पाँच वर्षसम्म कुनै पनि मधेशवादी पार्टी एकजुट रहन सकेन । गजेन्द्रनारायणको निधन हुँदा उहाँको बैङ्क खातामा साह्रै न्यून रकम थियो । उहाँले चढने गाडी पनि अरूकै नाममा दर्ता रहेको कारण त्यो पनि उहाँको परिवारको हुन सकेन । विसं २०५१ को मध्यावधि निर्वाचनको खर्च धान्न नसकी उहाँले आफू चढ्ने गाडी बेच्नु परेको थियो । दुई वर्षपछि मात्र उहाँले नयाँ गाडी खरिद गर्नुभएको थियो । उहाँले काठमाडौँसहित देशको कुनै पनि बजारमा घरजग्गा खरिद गर्नुभएको थिएन । राजविराजको सेवा आश्रममा पनि टिनकै छाना थियो ।
गजेन्द्रनारायणले आफ्नो पार्टीको अभिवादनको नारा पनि ‘जय मातृभूमि’ रोज्नुभएको थियो । स्पष्टतः यो मातृभूमि नेपालको जयकार हो । उहाँ राष्ट्रप्रति समर्पित हुनुहुन्थ्यो । उहाँको निम्ति राष्ट्र सर्वोपरि थियो । मधेशी समस्याको समाधान पनि उहाँले नेपालको भूगोलभित्रै खोज्नुभएको थियो । उहाँ मूल्य, मान्यता एवं निष्ठामा आधारित राजनीतिमा विश्वास गर्नुहुन्थ्यो । राजनीतिमा परिवारवादका उहाँ घोर विरोधी हुनुहुन्थ्यो । गजेन्द्रनारायण सिंहको त्याग, समर्पण एवं सैद्धान्तिक प्रतिबद्धता उच्च कोटीको भएर नै आज पनि राष्ट्रियस्तरमा उहाँको चर्चा छ ।