गलकोट (बागलुङ),माघ ९ गते । बागलुङमा प्रविधिको प्रयोगबाट पहिलो पटक आँखाको शल्यक्रिया गर्न थालिएको छ । नेपाल नेत्रज्योति सङ्घ बागलुङ र धौलागिरि आँखा अस्पतालले ‘फेको’ प्रविधिबाट मोतियाबिन्दु भएका बिरामीकोे शल्यक्रिया गर्न सुरु गरेकाे हाे ।
अत्याधुनिक प्रविधिद्वारा गरिने आँखाको शल्यक्रिया सरल ढङ्गले गर्न सकिने नेत्रज्योति सङ्घ बागलुङका सभापति बिन्दु सागर राजभण्डारीले जानकारी दिनभयो । उहाँले संस्थाको पहलमा आँखाको शल्यक्रिया गर्ने उक्त फेको प्रविधि भित्र्याइएको बताउनुभयो ।
'फेको' प्रविधिबाट आँखाको शल्यक्रिया गर्दा समय र खर्च दुवै बचत हुने गरेको धौलागिरि आँखा अस्पताल बागलुङका जलबिन्दु तथा नेत्ररोग विशेषज्ञ डा अनिल पराजुलीले बताउनुभयो । उहाँले यो प्रविधि धौलागिरिमै नयाँ र पहिलो भएको बताउनुभयो ।
“आँखाको समस्या कम्प्युटरबाट हेर्न सकिन्छ, फेको प्रविधिबाट शल्यक्रिया गर्दा समय र खर्च दुवैको बचत हुन्छ, आँखाको समस्या कम्प्युटरबाटै पहिचान गर्न सकिन्छ”, डा पराजुलीले भन्नुभयो, “पहिला–पहिला आँखा चिरेर शल्यक्रिया गरिन्थ्यो, अहिले आखाँको छेउमै सानो प्वाल पार्ने र कम्प्युटरबाट हेरेर शल्यक्रिया गर्ने प्रविधि नै फेको प्रविधि हो ।”
शल्यक्रियाको भोलिपल्टै घाउ निको हुने उहाँको भनाइ छ । बिना चिरफार गरिने शल्यक्रियाले बिरामीलाई सहज बनाउने नेत्रज्योति सङ्घ बागलुङका सचिव युक्तजङ्ग राजभण्डारीले जानकारी दिनुभयो। शल्यक्रिया हरेक महिना १ देखि १५ गतेसम्म गरिने छ भने अन्य १५ दिन गाउँ–गाउँमा पुगेर शिविरमार्फत शल्यक्रियाका लागि बिरामी ‘रिफर’ गरिने जनाइएको छ । रासस