सहदेव बस्नेत
जाजरकोट, माघ ९ गते । पुरुषहरुले बाजा बजाएको मात्र देख्नुभएको कुशे गाउँपालिका ६ की गङ्गा परियार अहिले पञ्चेबाजा बजाउने भएपछि आफैँ दङ्ग हुनुहुन्छ । गाउँघरमा मेला, जात्रा, उत्सव, चाडवाड, बिहेवारीलगायतका कार्यमा पुरुषहरुले बाजा बजाएको देख्नुभएकी परियार तालिम पाएपछि आफैँ बाजा बजाउने भएपछि खुसी हुनुभएको हो ।
पञ्चेबाजा सीपबाट विमुख महिलाहरु दमाहा(नगरा), छिल्लर(झ्याली), ट्याम्को, नरसिंहा र सहनाई पाँच वटै बाजा बजाउन सिक्दा निकै खुसी छन् ।
सामाजिक विकास कार्यालय जाजरकोटको सहयोगमा जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले महिलाहरुका लागि पञ्चेबाजा बजाउने तालिम दिएपछि यतिबेला जाजरकोटका गङ्गा जस्तै २० जना महिलाहरु पञ्चेबाजा बजाउन सिपालु भएका छन् । महिलाहरुलाई कुशे ५ का ६७ वर्षीया लाले दमाईले पञ्चेबाजा बजाउने तालिम प्रदान गर्नुभएको थियो ।
बारेकोट गाउँपालिका २, ध्यारगाँउकी कौशिला परियार दमाहा बजाउँनि सिक्दा हर्षित हुनुभएको छ । ‘‘पहिला बुवा र दाइहरुले बजाएको देखेकी थिएँ । बजाउने इच्छा नभएको पनि होइन । तर महिलाले बाजा बजाउनु हुँदैन भनेर छुनै दिनुभएन ।’’ कौशिलाले भन्नुभयो ।
अहिले बाजा बजाउने तालिम लिने अवसर पाएर सिके पछि निकै खुसी लागेको कौशीलाको भनाइ छ । भेरी नगरपालिका २ तिमिलेकी रामकली खड्का मजाले सहनाई बजाउनुहुन्छ । सुरुमा त सहनाई फुक्न निकै गाह्रो भो अभ्यास गर्दै जाँदा अहिले पुरुषहरुले जस्तै गरी सहनाई फुक्ने गरेको खड्काको भनाइ छ ।
जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले केही निश्चित शुल्क लिएर आवश्यक परेको ठाउँ महिला समूहले बाजा बजाएर आयआर्जन गर्ने विश्वास लिएको बताउनुभयो ।
सामाजिक विकास कार्यालयका प्रमुख यज्ञश्वर खत्रीले महिलाहरुलाई तालिम दियो भने पञ्चेबाजा संरक्षणमा सघाउ पुग्ने विश्वासले कार्यक्रम राखिएको बताउनुभयो । पञ्चेबाजा लोप हुने अवस्थामा पुर्खाको संस्कृति जोगाउन र संरक्षणका लागि तालिम प्रदान गरिएको कार्यालय प्रमुख खत्रीको भनाइ छ ।