नेपाली हिन्दु समाजमा हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक श्री स्वस्थानी देवीको व्रत बसेर हिन्दु महिला वर्षभरि रातो कपडामा बेरेर राखिएको पुस्तकमा लेखिएको कथा वाचन गर्ने, सुन्ने र सुनाउने गर्छन् । जसलाई स्वस्थानी व्रतकथा भनिन्छ । सोह्रौँ शताब्दीमा लेखिएको स्वस्थानी व्रतकथा जसले नेपाली समाजको परम्परागत कथानक विशेषता बोकेको छ, कथा लेखिएको साढे चार सय वर्षपछि पनि यस कथालाई नेपाली समाजमा अत्यन्त श्रद्धा र भक्तिपूर्वक पढ्ने, सुन्ने र सुनाउने गरिन्छ । रमाइलो पक्ष त के छ भने आफ्नै कथाव्याथा जस्तै लाग्ने, आफैँलाई हेपिएर लेखिएको कथा पनि हिन्दु नारीहरूले श्रद्धापूर्वक पढ्ने र व्रत बस्ने गर्दछन् । आखिर यसको रहस्य के हो त ? यसभित्रका सबै कुरा बुझेरै व्रत बसिरहेछन् या धर्मको आडमा सिर्जना गरिएका त्रास वा अन्धभक्तिले यसलाई जीवन्तता दिइरहेछ ? अहिलेको समयको यो एउटा महìवपूर्ण प्रश्न हो । यस लेखमा स्वस्थानी व्रतकथाले नारीलाई कुन स्थानमा राखेको छ र कसरी हेरेको छ भन्ने बारेमा विश्लेषण गरिएको छ ।
नारी (देवी) को पूजा गरिने स्वस्थानी व्रतकथाभित्रको सम्पूर्ण कथा नारीहरूकै कथा र व्याथाले भरिएको छ । नारी अर्थात् ‘स्वस्थानी’ देवीकै व्रत, पूजा र महिमाले भरिएको स्वस्थानी कथाभित्रका नारीपात्रहरूले भोग्नुपरेको अपमान, दुःख, पीडा, विभेद, हिंसा र कष्टका कुराले कथा मार्मिक मात्र बनेको छैन, यस कथाले नेपाली समाजको परम्परागत चरित्रलाई निरन्तरता दिइरहेको छ । आज पनि नेपाली समाजमा नारीहरूको स्थान स्वस्थानी व्रतकथाकै झझल्को दिने खालको छ । पुरुषलाई प्रथम दर्जा र महिलालाई दोस्रो दर्जाको मानिसका रूपमा आज पनि समाजले हेरिरहेकै छ । चरित्र र सतित्वको आशा अझै पनि नेपाली समाजले गरिरहेकै छ एकातिर भने अर्कोतिर महिलाहरू चाहे सत्तरी नाघेका वृद्धा हुन्, चाहे चार वर्षीया बालिका, बलात्कारको सिकार भएकै छन् । आफूमाथि आइपर्ने दुःख, कष्ट र अन्यायलाई भाग्य र कर्मको खेल सम्झेर चित्त बुझाउने मानसिकताबाट अझै महिलाहरू मुक्त हुन सकिरहेका छैनन् । कानुनले दिए पनि व्यवहारमा पैतृक सम्पत्तिमा हक स्थापित गर्न छोरीहरूले सकेका छैनन् । छोरीहरू विवाह गरेर ‘अर्काको घर जाने जात’ भन्ने मानसिकता अझै छ । यी सब कारणको पछाडि स्वस्थानी व्रतकथा जस्ता धार्मिक ग्रन्थको के कतिको भूमिका रहेको छ त भनेर अध्ययन र विश्लेषण हुनु पनि अबको आवश्यकता हो भन्ने लाग्छ । किनभने अझै पनि हाम्रो समाजलाई यस्तै धर्मकथाहरूले निर्देशित र नियन्त्रित गरिरहेको पाइन्छ ।
स्वस्थानी व्रतकथामा उल्लिखित सबै पात्र तथा चरित्रले तत्कालीन समाजको सामाजिक, धार्मिक तथा सांस्कृतिक परिवेश र त्यसभित्रको मानवीय चरित्रको प्रतिनिधित्व गरेका छन् । सतीदेवी, पार्वती, वृन्दा, गोमा, चन्द्रावती आदि सबै नारीपात्रले तत्कालीन समाजको मात्र होइन, आजको समाजका नारीको भोगाइलाई पनि प्रतिनिधित्व गरेका छन् भने महादेव, विष्णु, जालन्धर, शिवशर्मा आदि सबैले आम पुरुष चरित्रको प्रतिनिधित्व गरेका छन् र आमपुरुषको चारित्रिक विशेषताको निरन्तरताको प्रतिनिधित्व गरेका छन् । यी सबै पात्रको भूमिकालाई अध्ययन गर्दा निष्कर्षमा के भन्न सकिन्छ भने स्वस्थानी व्रतकथाले एकातिर नारीलाई देवत्वकरण गरेर धार्मिक रूपले पूजनीय र शक्तिशाली देखाउन खोजेको छ भने अर्कोतिर व्यवहारमा त्यही नारीलाई कमजोर मानसिकताको देखाउँदै नारीको स्थान केवल सेविका र भोग्याको रूपमा मात्र देखाउन खोजेको छ र पुरुषहरूलाई शक्तिशाली र मालिकका रूपमा प्रस्तुत गरी समाजमा उनीहरूको स्थान उच्च देखाउन खोजेको छ ।
स्वस्थानी व्रतकथा महिला लक्षित कथा हो, जसले परिवार तथा समाजमा महिलाको स्थान के हो र उसको भूमिका कस्तो हुनु पर्छ भन्नेमा जोड दिएको छ । पत्नी सधैँ कर्तव्यपरायण र चरित्रवान हुनु पर्र्दछ, ऊ सधैँ पतिप्रति समर्पित र इमानदार भएर पतिसेवामा लाग्नु पर्दछ भन्ने सन्देश यो कथाले दिएको छ । नारी जातिले जीवनमा जे जस्तो परिस्थिति आइपरे पनि ‘भाग्यको खेल वा कर्मको फल’ भन्दै स्विकार्नुपर्ने सन्देश यसले दिएको छ । नारीहरूलाई भाग्यवादमा विश्वास गर्न सिकाएको छ ।
एकातिर नारीले एक्लै पनि घरसंसार चलाउन सक्छे भन्ने कुरालाई कथाले गोमाको सङ्घर्षद्वारा देखाउन खोजेको छ भने अर्कोतिर मानसिक रूपमा त्यही गोमालाई कमजोर देखाइएको छ र एक्लो हुनुपर्दाको विछिप्त अवस्थामा देखाइएको छ । स्त्रीजातिलाई समाजले यसै त कमजोर देख्छ, झन पतिले छोडेकी एक बेसहारा स्त्रीको सङ्घर्षको कसरी मूल्याङ्कन हुन सक्छ ? गोमाको कुरा मात्र होइन, स्वस्थानी कथाभरि नै स्त्रीजातिलाई कमजोर र निरिह रूपमा प्रस्तुत गरिएको छ । घर, गृहस्ती, पूजापाठ, व्रत आदिमा स्त्री र पुरुषको समान सहमागिता चाहिन्छ भनिए पनि स्त्रीलाई कमजोर ठान्दै उसका लागि सम्पूर्ण उसको पति हो भन्ने कुरालाई कथाले ठाउँ ठाउँमा सम्झाएको पाइन्छ र नारीहरूलाई हरतरहले कमजोर देखाएको छ । पुरुष शारीरिक रूपमा जस्तोसुकै कमजोर भए पनि उसलाई साहसी र रक्षक ठान्ने मानसिकताले गर्दा महिलाले आफूलाई कमजोर ठान्छन् । आज हरेक क्षेत्रमा महिलाहरू पुरुषको दाँजोमा काँधमा काँध मिलाएर अगाडि बढिरहँदा त महिलाहरूलाई कमजोर ठानिन्छ भने साढे चार सय वर्षअघिको समाजले महिलालाई कमजोर रूपमा प्रस्तुत गर्नु कुन आश्चर्यको कुरा भयो र ! कथाका नारीपात्रहरू प्रायः सबैले आफूलाई कमजोर, अभागिनी, पापिनी, दुखिया आदि शब्दले सम्बोधन गरेको पाइन्छ । के स्त्रीजाति भएर जन्मनु पाप हो ? हाम्रा विभिन्न पुराणहरूले पुत्र जन्मनुलाई पूर्वजन्मको पूण्य कर्म र पुत्री जन्मनुलाई पाप कर्मको फल भनेर भनिदिएका छन् । स्वस्थानी व्रतकथामा पनि शिवभट्ट र सती ब्राह्मणीलाई गणेशले पुत्री हुने वरदान दिँदै ‘पुत्र भने तिमीहरूलाई हुने छैन किनभने पूर्वजन्ममा तिमीहरूले राखेको छैन’ भनेर भनेका छन् । त्यसैले पनि होला स्त्रीजातिको मानसिकतामै आफूलाई ‘पापिनी’ वा ‘अभागिनी’ भनेर भरिएको हुन्छ । यति हुँदाहुँदै पनि आजका शिक्षित नारीहरूले नै निरन्तर यो कथालाई महिमामण्डित गरेर पढ्दै र व्रत बस्दै आउनुलाई के भन्नू ?
गोमाले पटक पटक आफूलाई पापिनी भनेर सम्बोधन गरेकी छ । स्वस्थानी व्रत गराउन आफूकहाँ आएका सप्तर्षिहरूसँग गोमाले भन्छे– ‘हे ऋषिश्वर ! म यस्ती पापिनीलाई घरमै आएर दर्शन दिनुभयो ।’ गोमाले पान लिएर फर्किआउँदा ऋषिहरूलाई नदेखी दुःखी हुँदै भन्छे– ‘...पापिनीका हातको पान खानुपर्ला भनेर गैगएछन् । म धिक्कार रहिछु ।’ तर स्वस्थानी कथामा कहीँकतै पनि गोमाले त्यस्तो के पाप गरेकी थिई भनेर भनिएको पाइँदैन । चन्द्रावतीलाई त झन ‘पापिनी’ नाम नै दिइएको छ । यो कथा समाजको प्रतिविम्बका रूपमा प्रस्तुत भएकाले पनि समाजमा नारीहरूप्रति हेरिने दृष्टिकोण, उनीहरूलाई गरिने व्यवहार र नारीले आफैँलाई हेर्ने दृष्टिकोणलाई यसले प्रतिनिधित्व गरेको अनुमान लगाउन सकिन्छ । के स्वस्थानीको व्रत पापिनीहरूले मात्र गर्ने व्रत हो ? यदि त्यसो हो भने सुरुमा त यो व्रत पार्वतीले गरेकी छन् नि !
स्वस्थानी व्रत कथा पुरुषप्रधान सामाजिक मानसिकताबाट लेखिएको हुनाले यसमा पुरुषको स्थान उच्च र महिलाको स्थान निम्न कोटिको देखाइएको छ । अझ भन्नुपर्दा पुरुषलाई मालिक र महिलालाई सेवकको भूमिकामा राखिएको छ । पितृवंशीय परम्परा, परिवारमा छोराको महìव र बालविवाहलाई समाज स्वीकार्य मानिएको छ । बाबुआमाले दिएको पुरुष जस्तोसुकै अयोग्य भए पनि स्विकारेर उसको पछि लाग्नुपर्ने कुरालाई छोरीहरूको मर्यादा मानिएको छ । कन्यादानलाई विशेष महìव दिइएको छ । पतिभक्ति र पतिप्रतिको निष्ठा नै महिलाहरूका लागि सर्वस्व मानिएको छ ।
यस कथाले पितृवंशीयतालाई महìव दिँदै सन्तानमा बाबुको नाम र वंश धान्नका लागि छोरा नै चाहिने कुरालाई प्राथमिकता दिइएको छ । आमाको भूमिकालाई ओझेलमा पारेको छ । एक्ली गोमाले पुत्र (नवराज) लाई जन्म दिएकी छ र अनेक दुःख गरेर उसलाई हुर्काएकी छ तर पनि उसको सङ्घर्ष ओझेलमा परेको छ र नवराजको बाबु खोजेको छ समाजले । कथाले महिलाको सामाजिक हैसियतको कल्पना पनि गरेको छैन । नारीहरूको भूमिका केवल पुरुषको सेवा गर्ने नै रहेको पाइन्छ । यसले नारीको कमजोर मूल्याङ्कन गरेको छ, पुरुषलाई साहसी, बुद्धिमान र पुण्यात्मा ठानेको छ भने नारीलाई कमजोर, अज्ञानी, दुःखी, पापिनी भनेको छ । यसले पुरुष सर्वोच्चतालाई महìव दिएको छ । यति हुँदाहुँदै पनि आजका महिलाहरूले यही कथालाई आदर्श मानेर सगर्व पूजापाठ गर्नु र पुसको ठण्डीमा महिनाभर शालीनदीको चिसो पानीमा चोपलिँदै व्रत बस्नु भनेको फेरि पनि धर्मान्धताबाहेक केही होइन ।
पतिको निन्दा सुनेर बाँच्नुभन्दा मर्नु उचित हुने सन्देश स्वस्थानी व्रत कथाले दिएको छ । साथै महिलाहरूका लागि पति नै सबै कुरा हो र ऊबिना नारी अधुरो रहन्छे भन्ने सन्देश यसले दिएको छ । पतिका हर कार्यलाई चुपचाप सहनु नै उसका लागि कल्याणकारी छ । पतिलाई उसको जस्तोसुकै परीक्षा लिन पनि छुट छ तर पत्नीले भने अन्जानमा पनि कुनै गल्ती गर्नुहुँदैन । नारी जति नै साहसी भए पनि पति वा पुरुषको इच्छामा चल्नु पर्छ । पतिलाई हरतरहले सन्तुष्ट राख्नु उसको कर्तव्य हो भन्ने सन्देश महिलालाई दिन खोजेको छ । कथाले नारीलाई वस्तुका रूपमा चित्रण गरेको छ र पुरुषको भोग्या र मनोरञ्जनको साधन मानेको छ ।
पतिभक्ति, पतिव्रता धर्म र सतित्वको पाठ स्वस्थानी व्रत कथाले धेरै पढाएको छ र नारीको यौनिकतामाथि नियन्त्रण गर्न खोजेको छ । पुरुषको स्वतन्त्र यौनिकतालाई भने महिमामण्डित गर्ने तर नारीको यौनिकतालाई भने पुरुषको जीवनसँगै लगेर जोडिदिएको छ र पुरुषहरूले पत्नीको सतित्वमा आफ्नो प्राण सुरक्षित देख्ने मानसिकतालाई उजागर गरेको छ । ‘पतिव्रता धर्म’ को बारम्बार उल्लेख गरेर यसलाई महन् धर्म भन्दै नारीलाई कथित आदर्शको पर्खालभित्र कैद हुनुपर्ने उपदेश दिएको छ । स्त्रीको पतिव्रता धर्ममा पतिको प्राण रक्षित हुन्छ भन्दै नारीलाई एक पतिव्रता भइरहन र परपुरुषसँग मन नलगाउन अर्तीउपदेश दिइएको छ तर कुनै पनि पुरुष एक पत्नीव्रत रहनु पर्छ र पत्नीप्रति इमानदार रहनु पर्छ भनेको पाइँदैन । कथामा जति धेरै पतिव्रता धर्मका कुरा लेखिए पनि कहीँकतै पत्नीव्रता धर्मको उल्लेख गरिएको पाइँदैन । न त कतै पतिको पत्नीप्रतिको कर्तव्यको बारेमा उल्लेख गरिएको छ ।
यस कथाले नारी र पुरुषको सम्बन्ध सेवक र मालिकको जस्तो देखाएको छ । चरित्र, भाग्य, कर्म, पाप र नैतिकता जस्ता कुराको पाठ महिलालाई मात्र पढाएको छ । आफ्नो असहमतीमा बोल्न नपाउने, बोलेमा सत्यानाश नै हुने जस्ता प्रसङ्ग स्वस्थानीमा राखिएको छ । महिलामाथि परिवार र समाजले थोपरेका ज्यादतिलाई ‘भाग्य’ वा ‘कर्म’ को फल भन्दै चुप लाग्न विवश गराएको छ । भाग्यवादको आडमा महिलालाई पुरुषको इच्छामा चल्न सिकाएको छ र पुरुषहरूलाई स्वतन्त्र र महिलालाई पराधीन रूपमा प्रस्तुत गरेको छ । पुरुषलाई गम्भीर अपराधमा पनि उन्मुक्ति दिएको छ भने महिलालाई अन्जानमा भए गरेका अपराधमा पनि कठोर सामाजिक दण्ड दिएको छ ।
गोमाको कथाबाट समाजले आजका नारीहरूमा पनि गोमाको जस्तै पतिभक्ति, धैर्यता, सहनशीलता, ममता र करुणा खोज्न चाहेको देखिन्छ । महिलाहरूका लागि व्यक्तिगत सुख र स्वार्थको कामना गर्नु अपराध जस्तै हुन्छ । जुन कुरा समाज स्वीकार्य मानिँदैन भन्नेतिर सङ्केत गर्दै महिलाबाट केवल सेवा र त्याग मात्र खोजेको देखिन्छ । स्वस्थानी मात्र होइन, प्रायः सबै धर्मकथाहरू महिलामैत्री देखिएका र लेखिएका छैनन् । उदाहरणका लागि स्वस्थानीबाहेक सत्यनारायणको कथा, ऋषि पञ्चमीको कथा, हरितालिका (तिज) को कथा आदि सबैले नारीजातिलाई यसरी प्रस्तुत गरेका छन् कि यो जगत्मा पापकर्म जति नारीहरूले नै गर्दछन् र त्यो पापबाट मुक्तिका लागि अनेक अनेक प्रकारका कठिन व्रत, उपासना र अनुष्ठान गर्नुपर्ने हुन्छ तब मात्र उनीहरू दुःख, कष्ट र पापबाट मुक्त हुने छन् तर आजसम्म कुनै पनि त्यस्ता धर्मकथाहरू पुरुषका लागि लेखिएको सुन्नमा आएको छैन, जसमा पुरुषहरूले यो वा त्यो व्रत वा उपासना गरेमा उनीहरू दुःख, कष्ट र पापबाट मुक्त हुने छन् भनिएको होस् । लेखियोस् पनि कसरी र ! जबकि यस्ता कथाहरू लेख्नेहरू सबै पुरुष नै हुन्थे । यति मात्र होइन, धर्म, समाज, संस्कृति र चरित्रको व्याख्या गर्नेहरू पुरुष नै भएकाले आफूलाई मानव समाजको सर्वोच्च प्राणी ठान्ने पुरुषले किन आफूलाई निच, दुःखी र पापी देख्छ ? उसले गरेका हरेक कार्य महान् हुन्छन् ।
उबेलाका कथाको के कुरा गर्नु, जबकि आजको समयमा आजका विद्वान् भनिएका पुरुषहरूबाट लेखिएका साहित्यहरू त महिलामैत्री भएको पाइँदैन । सावित्री–सत्यवानको कथा होस् वा नल–दमयन्तीको, नारीमा चरित्र, सतित्व, त्याग र समर्पण खोजिएकै छ । यी त अझै पुराना कथा भए । धेरै पछि ‘आधुनिक काल’ भनिएको समयमा लेखिएका मुकुन्द–इन्दिरा जस्ता साहित्यले पनि नारीमा त्याग र समर्पण मात्र खोजेन, उनीहरूका लागि लक्ष्मणरेखा कोरिदियो । नारीको सतित्वको परीक्षा लिएरै छोड्यो । यसर्थ साढे चार सय वर्षअघि लेखिएको स्वस्थानी कथालाई मात्र के र कति भन्नु !
मध्यकालीन नेपाल महिलामाथिको बर्बर हिंसाको युग मानिन्छ । यसै बेलादेखि समाजका ‘ठालुहरू’ ले धर्मका ठेकेदार ‘पण्डितहरू’मार्फत स्वस्थानी जस्ता धार्मिक कथा लेखाएर पूर्वजन्म, पुनः जन्म, स्वर्ग र मोक्षको लोभ र त्रास देखाई महिलाहरूलाई ज्युँदो छउन्जेल पुरुषको दासी, भोग्या र मृत्युपछि पनि ‘उसैको साथ पाउने’ र ‘स्त्रीको परम कर्तव्य’ र पुण्यकर्म भन्दै लोग्नेसँगै जलाएर मार्न थाले । शिवपुराणमा ‘सती’ को अर्थ पतिप्रति अगाध प्रेमको प्रतीक मानिएको छ । न कि पतिको मृत्युपछि जबर्जस्ती पतिको लाससँगै ज्युँदै चितामा जलाउनु ।
स्वस्थानीमा सतीदेवीले पिताद्वारा पति महादेवको अपमान गरेको सहन नसकी आगोमा हामफालेर आत्महत्या गरेकी छन् । यसलाई पतिप्रतिको अगाध प्रेम र समर्पणभित्रको ‘पागलपन’ भन्न सकिन्छ तर मध्ययुगीन नेपाली समाजमा महिलालाई उसको इच्छाविपरीत ज्युँदै जलाएर मार्ने र त्यसपछि ‘सतीदेवी’ भनेर महिमामण्डित गर्ने र उसको मन्दिर बनाएर पूजा गर्ने गरिन थालियो । जुन कुरा मानव इतिहासमा धर्म र त्यागको नाममा महिलामाथि हुने गरेको अत्यन्त व्रmुर एवं बर्बर हिंसा र लज्जाजनक प्रथाको रूपमा स्थापित भयो ।
स्वस्थानीको कथामा महिलाप्रति जेजस्ता हिंसा र विभेदका कुरालाई उल्लेख गरिएको छ, तिनलाई धर्मसँग जोडेर महिनादिनसम्म महिलाहरूकै मुखबाट वाचन गर्न लगाउनु र स्वयं महिलाले नै ती सब हिंसा र विभेदले भरिएका कथालाई ‘मनोकाङ्क्षा पुग्ने’ नाममा घोकिरहनुले समाजमा महिलामाथि हुने हिंसात्मक र विभेदजन्य व्यवहारलाई धर्मको नाममा कसरी वैधता मिलिरहेको छ भन्ने प्रस्ट हुन्छ र स्वयं महिलाहरू नै यसमा वैधताको लालमोहर लगाइरहेका छन् भनेर भन्नु दुस्साहस हुने छैन ।
वास्तवमै आलोचनात्मक रूपले स्वस्थानी व्रत कथालाई हेर्ने हो भने यसले नेपालको मध्यकालीन समाजमा प्रचलित व्रmुर र अमानवीय ‘सतीप्रथा’ लाई मलजल गरेको महसुस हुन्छ । आज पनि कैयौँ नेपाली हिन्दु नारीहरूले धर्मको नाममा नारीमाथि नै थोपरिएका यस्ता अमानवीय परम्परा, संस्कार र संस्कृतिलाई महìव दिएर निरन्तरता दिनुले नेपाली महिलामा अझै पनि चेतनाको स्तर माथि उठ्न नसकेको देखिन्छ । आजको समय भनेको पितृसत्तात्मक समाजले धर्म, व्रत र पूजाका आडमा महिलामाथि गर्दै आएका हिंसात्मक र विभेदजन्य गतिविधिलाई विश्लेषण गर्ने र तिनबाट छुटकारा पाउने समय हो । जसका लागि सशक्तीकरण जरुरी छ । न कि पुरुष मानसिकतामा लेखिएका धार्मिक कथा र पुराणमा भएका कुरामाथि विश्वास गर्दै तिनैको पछि लाग्नु ।
यद्यपि स्वस्थानी कथामा ‘यो व्रत स्त्री जातिले मात्र गर्नु र कथा पनि स्त्रीजातिले नै वाचन गर्नु’ भनिएको हुनाले जतिबेला परिवारमा छोरी बुहारीहरूलाई पढाउने अथवा शिक्षादीक्षाको प्रचलन थिएन, त्यतिबेला स्वस्थानी व्रतकथाले जबर्जस्त रूपमा नारीशिक्षाको जग हालिदिएको पो थियो कि । सुरुका दिनमा जम्मा दुई दिन एक रात मात्र गर्ने भनिएको स्वस्थानी व्रतकथालाई लम्ब्याएर ठुलो बनाउनु र एक महिनासम्म नारीले नै पाठ गर्ने र व्रत गर्ने नियम बनाउनुले परिवार तथा समाजमा छोरीबुहारीलाई अक्षर चिन्न मद्दत पु¥याएको कुरालाई मनन् गर्नै पर्दछ । स्वस्थानी व्रत कथाको यो एउटा सकारात्मक पाटो हो । तथापि यसमा प्रयुक्त विभिन्न प्रसङ्गले महिलाको स्वतन्त्र अस्तित्वमाथि प्रहार गरेका कारण परिवर्तित नेपाली समाजमा यो व्रतको पछि लाग्नु उपयुक्त नभएको भन्ने आलोचनात्मक टिप्पणीबाट मुक्त हुन भने सकेको छैन ।