• ९ माघ २०८१, बुधबार

मुगुमा बढ्दै कुपोषित बालबालिका

blog

हरिकृष्ण ऐडी
मुगु, माघ ९ गते ।
पछिल्लो समय जिल्लामा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको  जिल्ला अस्पताल मुगुको  पोषण पुनःस्थापना केन्द्रले जनाएको छ ।

जिल्लास्थित पोषण पुनःस्थापना केन्द्रले दिएको जानकारी अनुसार सोरु गाउँपालोकामा २१, खत्याड गाउँपालिकामा चार मुगुमकार्मारोङ गाउँ पालिकामा तीन, छायाँनाथ रारा नगरपालिकामा दुई र अन्तर जिल्ला हुम्लाबाट तीन जना गरी ५० जना बालबालिकालाई  कुपोषण देखिएको जिल्ला पोषण पुनःस्थापना केन्द्रका कार्यालय सहयोगी सुर्जबहादुर मल्लले बताउनुभयो । उहाँका अनुसार २३ जना बालबालिका पुनःस्थापना भएका छन भने २७ जनाको उपचार भइरहेको छ ।

जिल्लाका ग्रामीण भेगकी लेखपढ गर्न नसक्ने अशिक्षित महिलालाई कुपोषण भएका बालबालिकालाई पोषण युक्त लिटोको  लेबल मिलाएर खुआउन अलिकठिन मान्ने गरेको गुनासो मल्लले सुनाउनुभयो ।

करिब पाँच वर्षभन्दा मुनिका बालबालिकालाई पोषण केन्द्रले दुई साप्ताको एकपटक स्वास्थ्य जाँच गर्ने र कुपोषण देखिएको खण्डमा आमा–बाबुलाई सुझाव सल्लाहका साथै तीन महिनासम्म पुग्ने लिटो दिने गरेको भए पनि कुपोषणमा कमी नआएको पोषण पुनःस्थापना केन्द्रले जनाएको छ ।

जिल्लाको खत्याड गाउँपालिकाको श्रीकोट, कोटडाडा, धैनकोट स्वास्थ चौकी सोरु गाउँपालिकाको नार्थपु, कालै र मुगुमकार्मारोङ गाउँपालिकाको मांग्री र पिना स्वास्थ चौकीमा पोषण बहिरंगसेवा स्थापना गरिएको भए पनि स्वास्थ्यकर्मी र साधन–स्रोतको अभावले भनेको समयमा कुपोषित बालबालिकाले सेवा पाउन नसकेकको एक स्वास्थ्यकर्मीले बताउनुभयो ।

जिल्ला अस्पताल मुगुका कार्यालय प्रमुख डा. निर्मल नगरकोटीका अनुसार जिल्लाको ग्रामीण बस्तीमा गरिबी र पोषिलो खानाको अभाव, अस्थायी परिवार नियोजनको साधन प्रयोग नगरी बर्सेनि बच्चा उत्पादनले गर्दा यस जिल्लाको ग्रामीण भेग क्षेत्रमा बढी बालबालिकामा कुपोषण हुने गरेको पाइएको छ । कुपोषण भएका बालिकालाई नियमित उपचाररात्मक लिटो सेवाग्राहीलाई सहजै उपलब्ध गराउदै आएको उहाँले बताउनुभयो ।