जीवछ यादव
लहान, माघ ९ गते । लहान नगरपालिका –४ स्थित इस्लामपुर र सुन्दरपुरका बाढीपीडितहरुलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त राहत लहान नगरपालिकाले वितरण गरेको छ ।
गत असोज १० देखि १३ गतेसम्मको अविरल वर्षाले बलान नदीको किनारामा रहेको इस्लामपुर र सुन्दपुरका ६० घरमा बाढी पसेको थियो । पीडितहरुको समस्या बुझ्न मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीलगायत सरकारी निकायहरु र मानव अधिकारवादी संघसंस्थाहरुले बाढीग्रस्त क्षेत्रमा अवलोकन गरेका थिए ।
पीडित परिवारहरुलाई लहान –४ का वडाध्यक्ष रामनाथ पण्डित, मानव अधिकारवादी राजकुमार राउत, प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल, जिल्ला प्रहरी प्रमुख रमेश पण्डित र नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोजकुमार बनैताको उपस्थितिमा लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले मङ्गलबार एक कार्यक्रमकाबिच राहत वितरण गर्नुभयो ।
राहत सामग्री वितरण गर्नुहुँदै लहान नगरप्रमुख चौधरीले भन्नुभयो, ‘‘राहत सङ्घीय सरकारबाट राहत आए लगतै वितरण गरेका छौं । बाढीको समयमा पाएको पीडा शितलहरमा राहत मिलोस् भन्ने उद्देश्यले राहत आएलगतै वितरण गरेका छौं । नागरिकता भएकै परिवारलाई राहत उपलब्ध गराएका हौैं । नागरिकता नभएका परिवारहरुको हकमा लहान नगरपालिकाबाट थप सहयोग गर्ने छौं ।’’
राहत पाएका इस्लामपुर र सुन्दरपुरका स्थानीयहरु खुसी हुँदै बलान नदी कटानबाट बस्ती जोगाइ दिनका लागि ठोस पहल गरिदिन ध्यान आकर्षण गराइएको थियो । लहान–३, ४, ५, ९, १०, १७, १८, १९ र २३ नं. वडाहरु बलान र खुटी नहरका कारण कटान र जोखिममा पर्दै गइरहेकाले यसको ठोस समाधानका लागि तीनै तहको सरकारबाट समस्या समाधानका लागि पहल गर्दै आइरहेको लहान–४ का निर्मला मोदे र लहान –२३ का अशेश्वर यादवले पीडा सुनाउनुभयो ।
यता मधेश प्रदेश सरकारलाई बलान नदी कटान क्षेत्रको समस्या समाधान गर्नका लागि मधेश प्रदेश सभामा र सङ्घीय सदनमा आवाज उठाएपछि लहान–२३ मा गत वर्ष एक करोड ४० लाखको तटबन्ध निर्माण कार्य भएको प्रदेशसभा सदस्य राजकुमार गुप्ताले बताउनुभयो । सिरहा–१ का सङ्घीय सांसद राम शङ्कर यादवका अनुसार बलान नदी कटान नियणत्रणका लागि यस वर्ष सङ्घीय सरकारबाट तीन करोड बजेट निकासा भएको भन्दै थप बजेटका लागि निरन्तर प्रयासरत रहेको बताउनुभयो ।