• ८ माघ २०८१, मङ्गलबार

पशुमा लम्पी स्किनको प्रकोप

blog

शेरबहादुर राई

ओखलढुङ्गा, माघ ८ गते । ओखलढुङ्गाको लिखु गाउँपालिकाका पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको प्रकोप देखिएको छ । गाउँपालिका ८ र ९ का किसानले पालेका पशु चौपायामा लम्पी स्किन रोगको प्रकोप देखिएको हो । 

छिमेकी जिल्ला रामेछापबाट खरिद गरेर ल्याईएका भैँसी र गोरु लगायत गरि आधा दर्जन बढी पशुचौपायमा लम्पीको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको छ । लम्पी स्किनसँग मिल्दो जुल्दो रोगको संक्रमण देखिएसँगै महामारीको रुपमा फैलन नदिन किसानलाई सतर्कता अपनाउन आग्रह गरिएको गाउँपालिकाको पशुपन्छी विकास शाखाका पशु चिकित्सक डा. रोशन पौडलले बताउनुभयो। 

प्रभावित क्षेत्रमा पशु प्राविधिकहरु खटाइएको पौडेलको भनाइ छ । आवश्यक रोग पहिचान र प्रकोप नियन्त्रणका लागि अध्ययन गरिने प्रमुख पौडेलले जानकारी दिनुभयो । किसानले पालेका पशु चौपायमा यस्ता लक्षण देखिएमा सम्बन्धीत निकायमा खबर गर्न र बिरामी पशुलाई छुट्टै राख्न, चरिचरणमा नलान तथा आवश्यक सतर्कता अपनाउन पालिकाले आग्रह गरेको छ । 

गत वर्ष जिल्लाका विभिन्न स्थानीय तहमा लम्पी स्किनको रोग देखा परेको थियो । रोग प्रकोपबाट पशु चौपायलाई बचाउन खोप कार्यक्रम समेत सञ्चालन गरिएको थियो । लम्पी स्किन गाईभैँसीमा भाइरसको कारण लाग्ने महामारी रोग हो । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने र दूध उत्पादन घट्ने, छालामा गोलो गिर्खा र गाँठा देखिने पशु चिकित्सकको भनाइ छ । 

गिर्खा केही समयपछि हराउने वा कहिलेकाहीँ गिर्खा फुटेर घाउ हुने, किरा र औँसा पर्ने, नाकमुखभित्र, कल्चौँडा, थुनमा घाउ हुने, आँसु, र्‍याल, सिङ्गान बग्ने, चिप्रा कचेरा लाग्ने, खुट्टा जोर्नी सुन्निनेजस्ता लक्षण समेत देखिने गर्दछन् ।