• ८ माघ २०८१, मङ्गलबार

दक्षिण एसियाको नारीवाद झल्काउने कला प्रदर्शनी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ८ गते । तारागाउँ सांस्कृतिक केन्द्रले सराफ फाउन्डेसनको सहकार्यमा काठमाडौँको तारागाउँ नेक्स्टमा बृहत् कला प्रदर्शनी आयोजना गर्ने भएको छ । जनवरी २५ देखि सुरु हुने प्रदर्शनीमा दक्षिण एसियाका १० उत्कृष्ट महिला कलाकारले आआफ्ना सिर्जना प्रस्तुत गर्ने छन् ।

डा. अर्सिया लोखन्डवालाको परिकल्पनामा हुने ‘फेमिनिस्ट फ्युचर : आर्ट, एक्टिभिजम एन्ड साउथ एसियन वुमनहुड’ नामक प्रदर्शनीले दक्षिण एसियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्ने आयोजकको भनाइ छ । दुईदिने प्रदर्शनीले पितृसत्तात्मक संरचना, उपनिवेशकालीन धरोहर र लैङ्गिक राजनीति जस्ता विषयलाई सम्बोधन गर्ने जनाइएको छ ।

प्रदर्शनीको उद्‍घाटनअघि जनवरी २३ मा ‘डिकोलोनाइजिङ दी फेमिन : आर्ट, एजेन्सी एन्ड जेन्डर्ड पोलिटिक्स इन साउथ एसिया’ शीर्षकमा छलफल गरिने छ । प्रदर्शनीमा भारतका चार, नेपालका तीन र श्रीलङ्का, पाकिस्तान र बङ्गलादेशका एक/एक महिला कलाकारका सिर्जना समावेश गरिने छ । आयोजकका अनुसार भारतबाट अनिता दुबे, मिथु सेन, सेबा छाच्छी र पुष्पमाला एन सहभागी हुनुहुने छ । सबै कलाकारले पारम्परिक लैङ्गिक भूमिकालाई चुनौती दिँदै महिलाको स्वायत्तता र सामाजिक संरचनाहरूको प्रभाव उजागर गर्ने छन् ।

प्रदर्शनीले लिङ्ग र शक्ति जस्ता प्रश्नसँग संवाद गर्न मञ्च प्रदान गर्ने डा. लोखन्डवालाको भनाइ छ । ‘प्रदर्शनीले दक्षिण एसियाली महिला कलाकारको लचिलोपन र शक्तिलाई उजागर गर्छ; जसले गहिरो रूपमा बसेका पितृसत्तात्मक संरचनाहरूको विरोध गर्दै आफ्नो कलामार्फत सोचमा परिवर्तन ल्याउन बाध्य बनाएका छन्,” उहाँले भन्नुभयो । 

नेपालको महिला अधिकारसँग सम्बन्धित मुद्दालाई दक्षिण एसियाली देशका महिला अधिकारका विषयसँग सम्बन्धित सङ्घर्षहरूसँग जोड्ने प्रयासस्वरूप प्रदर्शनी आयोजना गर्न लागिएको सराफ फाउन्डेसन तथा तारागाउँ नेक्स्टकी संस्थापक निर्देशक नमिता सराफको भनाइ छ । 

प्रदर्शनीले दक्षिण एसियाली महिला जीवनको बहुआयामिक दृश्य प्रस्तुत गर्ने छ, जहाँ ऐतिहासिक रूपमा महिलालाई सम्मान गरिएको छ भने समकालीन अवस्थामा लैङ्गिक असमानता, हिंसा र सांस्कृतिक परम्पराको कठोर वास्तविकता पनि देखिन्छ । शिल्पकला, फोटोग्राफी, इन्स्टलेसन, भिडियो, प्रदर्शन जस्ता विभिन्न कला माध्यममार्फत महिलाको जीवनका कहानीहरूलाई पुनः परिभाषित र पुनः आकार दिइने छ । प्रदर्शनीमा विभिन्न समकालीन मुद्दाको अन्वेषण गर्ने सिर्जनाहरूसमेत समावेश छन् ।