काठमाडौँ, २०८१ माघ ७ गते । नइ प्रकाशनले राष्ट्रिय जीवनका ख्यातिप्राप्त १० जना साधकलाई २०८० सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।
नइ प्रकाशनबाट अध्यात्म दर्शन र सनातन धर्मसंस्कृतिको जागरण, संरक्षण र संवर्धनका लागि प्राज्ञिक रूपमा सात दशकदेखि समर्पित प्रा.चेतोनाथ शर्मा आचार्यलाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गरिने भएको छ ।
नेपाल राष्ट्रको गौरवमय धर्म र संस्कृतिको अनुसन्धान तथा सांस्कृतिक जागरणका लागि सात दशक अघिदेखि अविच्छिन्न रूपमा समर्पित संस्कृति शिरोमणि श्री हरिराम जोशीलाई ‘नइ भूपालदुर्गा पुरस्कार’ समर्पण गरिने निर्णय भएको छ ।
नेपाली भाषासाहित्यको सेवामा समर्पित रही विविध सिर्जना तथा प्राज्ञिक चिन्तनमा पुर्याएको विशिष्ट योगदानका निम्ति प्रा।गोपीकृष्ण शर्मालाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।
नेपालको भौगोलिक अखण्डता, सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको संवर्धनका लागि निष्ठावान् प्रा।डा।मोहन लोहनीलाई ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।
स्वास्थ्य विज्ञानमा मन, वचन र कर्मले समाहित भई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपालको गौरव बढाएबापत न्युरो सर्जन डा. वसन्त पन्तलाई ‘नइ भावि पुरस्कार’ समर्पण गरिने भएको छ ।
यसैगरी सञ्चारका माध्यमबाट देशदेशान्तरमा नेपाली भाषाको गरिमा वृद्धिका साथै रेडियो नेपालको जनप्रियता बढाउनसमेत महत्त्वपूर्ण योगदान दिएबापत कमल प्रधान तथा ध्रुव थापालाई ‘नइ भाजप पुरस्कार’ संयुक्त रूपमा समर्पण गरिने भएको छ ।
नेपाली भाषामा बालसाहित्यका विविध विधाको सिर्जनाका साथै बाल चेतनाको संवर्धनका निम्ति श्रीमती रञ्जुश्री पराजुलीलाई ‘नइ रेखा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।
काठमाडौँ उपत्यकाबाहिर रहेर नेपाली भाषासाहित्यको सिर्जना र संवर्धनमा विशिष्ट योगदान पुर्याएबापत पर्वतका शान्तिनारायण श्रेष्ठलाई ‘नइ धनरूप पुरस्कार’ समर्पण गरिने भएको छ ।
यसैगरी राजधानीबाहिर रही नेपाली भाषासाहित्यको सिर्जनामा निरन्तर समर्पित विराटनगरका श्रीमती राधिका गुरागाईँलाई ‘नइ बुलु शर्मा पुरस्कार’ समर्पण गरिने भएको छ ।
यी सबै पुरस्कारका राशि जनही एकएक लाख रुपियाँ रहेको छ । नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा सोमबार बसेको नइ प्रकाशनको बैठकले उक्त निर्णय गरेको हो ।