अविनाश चौधरी
धनगढी, माघ ७ गते । सुदूरपश्चिम प्रदेश सभाको स्थापना दिवस आज मनाइएको छ । प्रदेश प्रमुख नजिर मियाँको प्रमुख आतिथ्यतामा दिवस मनाइएको हो ।
२०७४ माघ ७ गते सुदूरपश्चिम प्रदेश सभाको स्थापना भएको थियो । प्रदेश सभा स्थापना भएको सात वर्ष बितेको छ । गतवर्ष प्रदेश सभामा आठ वटा विधेयक दर्ता भएका थिए । जसमध्ये आठ वटा पारित भएको र दुई वटा विचाराधीन अवस्थामा रहेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै प्रदेश प्रमुख मियाँले प्रदेश सभा मुलुकका लागि कोसेढुङ्गा रहेको बताउनुभयो । उहाँले सबै जना मिलेर काम गरेमा यो प्रदेश साँच्चिकै सुन्दरपश्चिम बन्ने उल्लेख गर्नुभयो ।
यसैगरी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हालसम्म प्रदेश सरकारले ४३ वटा ऐन, ७ वटा नीति, १६ वटा नियमावली र विभिन्न निर्देशिका बनाएको मुख्यमन्त्रीले जानकारी दिनुभयो । उहाँले प्रदेश सरकार आफ्नो कार्य सम्पादनलाई अझै प्रभावकारी बनाउँदै नागरिकका आकाङ्क्षाहरू पूरा गर्न प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।
दिवसको अवसरमा पूर्व मुख्यमन्त्रीहरू दीर्घबहादुर सोडारी, राजेन्द्र रावल, त्रिलोचन भट्ट, माओवादी संसदीय दलका नेता मानबहादुर धामी, उपसभामुख कोइलीदेवी चौधरी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । समारोहमा सङ्घीय सांसद, प्रदेश सभा सदस्य, पूर्व प्रदेश सभा सदस्य लगायतको उपस्थिति रहेको थियो ।