• ७ माघ २०८१, सोमबार

पदमार्गमार्फत् ध्वजेडाँडा-खुवालुङ जोड्दै साँगुरीगढी

blog

ध्वजेडाँडा र खुवालुङ पदमार्गमा पर्ने थुम्कीबाट पश्चिमतर्फ देखिएको भेडेटार बजार तथा महाभारत पर्वत श्रृङ्खला ।

कबिराज घिमिरे 

हिले, माघ ७ गते । धनकुटाको साँगुरीगढी गाउँपालिकाले ध्वजेडाँडा र खुवालुङ जोडेर पर्यटक प्रवर्द्धन गर्न पदमार्ग निर्माण सुरु गरेको छ । खुवालुङ किरातहरूको सभ्यतासँग जोडिएको स्थान हो । 

त्यस्तै ध्वजेडाँडा पालिकाको सबैभन्दा अग्लो स्थानसहित महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो । अरुण, तमोर र सुनकोशी नदी मिसिने स्थान त्रिवेणीमा रहेको खुवालुङलाई महाभारत पर्वत श्रृङ्खला अन्तर्गतका डाँडैडाँडा ध्वजेडाँडासँग जोड्न लागिएको हो । गाउँपालिकालाई दिर्घकालीन पर्यटकीय हवको रूपमा विकास गर्न पदमार्ग निर्माण गरिएको हो ।  

गाउँपालिका भरिका १० वडामध्ये ५, ६, ७, ८, ९ र १० गरी ६ वडाहरूलाई पदमार्गले समेट्ने छ । ध्वजेडाँडा देखि त्रिवेणी हुँदै खुवालुङसम्मको पदमार्गको कुल लम्बाइ ३८.२ किलोमिटर रहेको इन्जिनियर दिपक राईले जानकारी दिनुभयो । करिब २ दिनमा पदमार्गको यात्रा पूरा गर्न सकिन्छ । पदमार्गको सुरुवाती विन्दु ध्वजेडाँडालाई मानिएको छ । ध्वजेडाँडाबाट सूर्याेदय र सूर्यास्तको दृश्य हेर्न मिल्ने छ । त्यस्तै तराईका समथर फाँटसँगै मकालु, सगरमाथा कुम्भकर्ण, कञ्चनजङ्गा नेपाल भारत र भुटान गरी तीन देशका हिमाल देख्न सकिन्छ । 

ध्वजेडाँडाबाट सुरु हुने पदमार्ग ५ नं. वडाको ओख्रे बजार, ६ नं. वडाको नाम्जे बजार, आत्माघर, जनजाती पार्क, भेडेटार बजार, पाथीभरा मन्दिर हुँदै साँगुरीगढी, ७ नं. वडाको टोपेटेम्बा, ८ नं. वडाको रनफने डाँडा, ९ नं. वडाको झण्डीडाँडा, दाक्वुङ, राँके, चारपोखरी, बडुवाडाँडा, १० नं. वडाको लिम्बू चौतारा, चाम्राङ, भालेलु, ताङकेरा साङकेम्मा हुँदै त्रिवेणी खुवालुङसम्म रहेको छ । यी दुई गन्तव्य जोड्न सके साँगुरी गढी गाउँपालिकाका विभिन्न स्थान जोडिनुको साथै भेडेटार घुम्न आउने आन्तरिक तथा वाह्रय पर्यटकलाई नया गन्तव्य मिल्ने साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले जानकारी दिनुभयो । “हाम्रो पालिका पर्यटकिय पालिका हो अझै धेरै स्थान ओझेलमा छन् । ती स्थानमा पर्यटक पुग्ने बाटो खुल्छ जसको फाइदा पालिकालाई हुन्छ,” राईले भन्नुभयो ।

गाउँपालिकाले गत आर्थिक वर्षमा पदमार्गका लागि ४० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । उक्त रकमबाट मार्गको विभिन्न स्थानमा संरचना निर्माण गरिएको थियो । पदमार्गमा पर्ने झाँडीहरूको सरसफाइ, डेढ मिटर चौडाहा भएको करिब ६ किलोमिटर लम्बाइको फुट ट्रयाक, ७ किलोमिटर क्षेत्रका विभिन्न स्थानमा सुख्खा वाल लगायतको संरचना निर्माण गरेको थियो । बाँकी संरचना निर्माणको लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा ३० लाख रुपैया बजेट विनियोजन गरेको छ । 

यो क्षेत्रमा विशेषगरी राई, लिम्बु, मगर जातीहरूको जातीय संस्कार हेर्न सकिन्छ । स्थानीय वालीनाली, वन्यजन्तु, हरियाली तथा मनोरम दृष्य, स्थानीय वनस्पति तथा जैविक विविधतालाई नजिकबाट नियाल्न सकिने खुवालुङ–त्रिवेणी–ध्वजेडाँडा पदमार्ग उपभोक्ता समितिका अध्यक्ष नगेन्द्र राईले बताउनुभयो । “पदमार्गमा होमस्टेको प्रचुर सम्भावना रहेको छ अन्य पर्यटकीय स्थललाई फाइदा पुग्छ । यो पदमार्गमा हिँड्ने पर्यटकहरूले नजिकबाट दुलर्भ मानिएको गिद्धको बथान नियाल्न सक्नेछन्,” उहाँले भन्नुभयो ।