• ७ वैशाख २०८२, आइतबार

शैक्षिक गुणस्तर उकास्ने नीति आवश्यक

blog

अमरगढी समाचारदाता 

डडेलधुरा, माघ ७ गते । शैक्षिक गुणस्तर माथि उकास्न राज्यले नै शैक्षिक नीति बनाउन नसकेको माध्यमिक तहका प्रधानाध्यापकले गुनासो गरेका छन् ।  शैक्षिक गुणस्तर सुधारका लागि सरकारले बनाएका सबै नीति तथा योजना कार्यान्वयनमा ल्याइए पनि सामुदायिक विद्यालयको गुणस्तर सुधार नहुँदा राज्यले अवलम्बन गरेको नीति तथा योजना नै सफल हुन नसकेको प्रधानाध्यापकको भनाइ छ । 

शनिबार शिक्षा विकास तथा समन्वय एकाइ डडेलधुराले आयोजना गरेको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि मावि तहका प्रधानाध्यापकसँगको अन्तर्क्रिया कार्यक्रममा उहाँहरूले पढाइप्रति विद्यार्थी र अभिभावकको रुचि नरहेको दाबी गर्नुभयो । अभिभावक विद्यालयका कुनै पनि कार्यक्रममा उपस्थित नहुनु ठुलो चुनौती रहेको उल्लेख गर्दै प्रअहरूले अधिकांश विद्यालयका परीक्षाको नतिजा अभिभावकको हातमा मात्रै दिने योजना बनाए पनि सफल हुन नसकेको उल्लेख गर्नुभयो । 

सुरुमै हामीले वार्षिक कार्यतालिका बनाएका छाैँ, भुवनेश्वरी मावि नवदुर्गा गाउँपालिका–१, असुर्पाका प्रअ दीपकप्रसाद भट्टले भन्नुभयो, “दैनिक तालिकाको अनुसरण, नियमित अतिरिक्त क्रियाकलाप, पुस महिनादेखि कक्षा ९ र १० का विद्यार्थीलाई अङ्ग्रेजी, गणित, विज्ञान विषयका अतिरिक्त कक्षा सञ्चालन गर्दा पनि अपेक्षा अनुसार नतिजा आएको छैन ।”

उहाँले विद्यार्थीलाई गृहकार्यका लागि बिहान/बेलुकी दुई/दुई घण्टा समय उपलब्ध गराई कार्यतालिकसमेत निर्माण गरेर समय व्यवस्थापन गरेको बताउँदै नियमित शिक्षक बैठक, कक्षा ३–८ सम्म सिकाइ सहजीकरण कार्यक्रम सञ्चालन, नियमित गृहकार्य दिने गर्दा पनि नतिजामा सुधार नआएको बताउनुभयो । विद्यालयमा अभिभावक उपस्थित नहुने समस्या अधिकांश विद्यालयको भएको प्रायः प्रअहरूको गुनासो थियो । विद्यालयमा गणित र विज्ञान विषयका शिक्षक नहुँदासमेत नतिजा राम्रो आउन नसकेको उहाँको भनाइ छ । 

सामुदायिक विद्यालयमा नियमित प्रार्थना कार्यक्रममा विद्यार्थीलाई निरन्तर आवश्यक निर्देशन दिनुका साथै सूचना तथा जानकारी गराइने, शिक्षकको कार्यविभाजन जिम्मेवारी बाँडफाँट जस्ता कार्य गर्दै आएको प्रअहरूले आफ्ना धारणा राख्नुभयो । 

नवदुर्गा गाउँपालिका–२, मणिलेकको मणिलेक बालकल्याण माविका प्रअ मानबहादुर खत्रीले स्थापनाकालदेखि विद्यालयले शिक्षकको अभाव झेलिरहेको बताउनुभयो । पहिले विद्यालय स्थापना गरिएको ठाउँमा विवाद आएपछि हाल केही पर सारिएको उल्लेख गर्दै उहाँले विद्यार्थी कक्षा छोडेर बिचमै भाग्ने गरेका कारण विद्यालयको समय सकिँदासमेत लाइन लगाएर हाजिर लगाउने गरेको बताउनुभयो । वार्षिक परीक्षाको नतिजा प्रकाशनपश्चात् चैत महिनामै नयाँ शैक्षिक सत्रका लागि आवश्यक पर्ने चार्ट, वार्षिक कार्यतालिका, शिक्षक–कर्मचारी विवरण, अतिरिक्त क्रियाकलापको खाका, वार्षिक शैक्षिक क्यालेन्डर आदि निर्माण गर्ने गरेको उहाँले बताउनुभयो । 

उहाँका अनुसार विद्यार्थी भर्ना अभियानसँगै पाठ्यपुस्तक समयमा नै उपलब्ध गराउन रणनीति बनाइने गरेको छ । वैशाख १५ गतेभित्र दैनिक समयतालिका अनुसार शिक्षकले पढाउने विषयको वार्षिक शैक्षिक योजना निर्माण गर्न लगाएको र योजना अनुसार पढाइ भए नभएको कक्षा अनुगमन गर्ने गरेको उहाँले दाबी गर्नुभयो ।  सामुदायिक विद्यालयतर्फका विद्यार्थी उच्छृङ्खल नै भएको शिवशङ्कर मावि परशुराम नगरपालिका–७, साँदनीका मावि संयोजक दमन महताले बताउनुभयो । यसको नियन्त्रणका लागि लाइनबाटै कक्षा शिक्षकलाई कक्षाकोठामा पठाइने गरेको उहाँले बताउनुभयो । गृहकार्य नदिएको गुनासो अभिभावले गर्छन्, उहाँले भन्नुभयो, “हामीले दिइरहेका हुन्छौँ । यसका लागि गृहकार्य डायरीको व्यवस्था गरेका छौँ र गृहकार्य डायरीमा अभिभावकले हस्ताक्षर गरेर पठाउने गर्नुभएको छ ।”