• ८ माघ २०८१, मङ्गलबार

जलवायु परिवर्तनका कारक

blog

पृथ्वीका सबै कुरा असल र शुद्ध बनेका छन्, मानिसले तिनमा हात हाल्छ र ती कुरालाई अशुद्ध र खराब तुल्याउँछ । ऊ जबर्जस्तीसँग एउटा माटोलाई अर्कै माटोमा हुने फसल पैदा गर्ने बनाउँछ । एउटा वृक्षलाई अर्कै वृक्षमा हुने फल फलाउने तुल्याउँछ । ऊ काल बेला, ठाउँ र प्राकृतिक अवस्था बुझ्दैन, त्यसैले अलमलिएको छ । उसले सब कुरालाई कुरूप तुल्याउँछ र नाश गर्छ । जुन कुरा नराम्रो र भयङ्कर छ, त्यस कुरालाई मन पराउँछ । प्रकृतिले जुन बनाएको छ, त्यो कुनै कुरा पनि ऊ रुचाउँदैन । आफ्नै सजातीय मनुष्य पनि उसको दृष्टिमा चढ्दैन । 

वातावरणलाई अशुद्ध पारेर प्रकृतिलाई हाँक दिएको छ मानिसले । वातावरण अर्थात् वायुको त्यो राशि जसले पृथ्वी, ग्रह वा पिण्डलाई चारैतिरबाट घेरेर बसेको हुन्छ । वातावरणको मूल स्रोत जलमण्डल, वायुमण्डल र पृथ्वी स्वयम् हो । जसरी तरल पदार्थको आफ्नो आकार नहुनाले राखिएको भाँडाको आकार नै उक्त तरल पदार्थको आकार हुन्छ त्यसै गरी पृथ्वीका जीव र वनस्पतिको आकार वा रूप वातावरणले निश्चित गर्छ, जनावर र बिरुवाको आकार वातावरणले आकृत गर्छ । यो नै विकास हो । मानवसमेतको जीवनको अस्तित्व, निर्वाह, विकास आदि वातावरणद्वारा निश्चित छ । त्यसैले मानिसको पालनकर्ता र जीवनाधार वातावरण हो । हामीलाई सुखमय र स्वस्थ राख्ने रक्षाकवच पनि वातावरण नै हो । वातावरण अचानक परिर्तन हुनुको अर्थ जीवन र वनस्पतिमा विपत्ति आउनु हो । 

पृथ्वी साढे चार अर्ब वर्ष पुरानो हो । यो उमेरमा आइपुग्नु उहिले धेरै वातावरणीय परिवर्तन धरतीले खेपिसकेको छ । शिशुकालको पृथ्वी पग्लिएको चट्टान हो । त्यसपछि शून्य तल एक सय अथवा धेरै डिग्रीसम्म सतहका तापक्रमहरू बदलिएका छन् । अहिलेको सुक्खा भूमिमा समुद्रहरू बनेका छन्, पछि हटेका छन्, अनि फेरि बनेका हुन् । प्राचीन समुद्रतलबाट पर्वतहरू उठेका, ध्वंस भएका, फेरि उठेका हुन् । यी चरम परिवर्तन भएर सूक्ष्म आकृतिहरूको विकास भएको मानिन्छ । यी जीवहरू यति कमजोर छन्, रासायनिक गठन, तापक्रम अथवा चापमा अनपेक्षित रूपमा अलिकति पनि आन्तरिक परिवर्तन भएमा तिनीहरू छिट्टै निर्जीव वस्तुमा विघटन हुन सक्छन् ।

अहिलेका मान्छेको अस्तित्व यो पृथ्वीमा देखिएको तीन लाख वर्षजति मात्र भयो । झन्डै पाँच हजार वर्षको मानव सभ्यतामा उल्लेख्य केही नभएको कुरा विगत दुई सय वर्षमा मानिसले गरेका कामहरूको परिणाम स्वरूप वातावरणमा उल्लेख्य उथलपुथल भएको छ । यो उथलपुथल मानिस–मानिस, मानिस–प्रकृति, प्रकृति–प्रकृति, मानिस तथा अन्य जीव, जीव–जीव आदि बिचको सङ्घर्ष, मेल वा सहजीवनको इतिहास हो । मानिसबाहेक सबै जीवको बासस्थानको नियत छ । त्यो बासस्थानमा त्यो प्राणी साधारणतः मिलिसकेको हुन्छ, उसको विशिष्ट जीवन शैली हुन्छ । जस्तो, ट्रट माछा चिसो खोलाको पानीमा, गैँडा सिमसार र घाँसे मैदानमा रहन्छ, इत्यादि । यदि अन्य जीवद्वारा उक्त बासस्थानमा अतिक्रमण भयो भने सङ्घर्ष हुन्छ । बासस्थानमा अनुकूल भइसकेकाले अर्कोलाई हराइदिन्छ, हटाइदिन्छ र अदृश्य पारिदिन्छ । बासस्थान परिवर्तनशील हुन्छ, त्यो परिवर्तशीलतासँग मिल्न नसक्ने जीव पनि विलुप्त भएर जान्छ ।

प्राणी गैह्रले वातावरणसित ‘मिल्न’ शरीरलाई अनुकूल बनाए, यथा, घाँस चर्नेको खुर, मांसाहारीको विशेष दाँत, लोखर्के जस्ता जीवहरूको जमीन र रुखमा दुवैमा निर्भर हुन सक्ने पञ्जाको विकास भएको देखिन्छ, इत्यादि । मानिसले मात्र शरीरलाई अनुकूलन पार्नुको सट्टा वातावरणका हाँकहरू स्वीकार गर्न आफ्नो मगजलाई खियायो । हतियार बनायो, जाडोबाट बच्ने कपडा लगाएकाले छालामा रौँ उम्रनु परेन, उड्नका लागि पखेँटा चाहिएन नतः पानी मुनि जान शरीरमा विशेष अङ्ग । आफ्नो फाइदाका लागि आगोको प्रयोग र नियन्त्रण गर्न जानेकाले पकाएको नरम खाँदा मानिसका ठुला शक्तिशाली दाँत र बङ्गरा कमजोर भए भने घामको विकिरणबाट शरीरलाई बचाउन छालामा रौँको सट्टामा रङ विशेषको विकास भएको पाइन्छ । 

मानिस आफू विकसित भएको क्षेत्रमा मात्र सीमित भएर रहेको भए अनुकूलतालाई वातावरणमा मिलाउने काम सरल हुने थियो । तर आफ्नो विकासको पहिलो दिनदेखि नै मानिस गतिमा छ । सिकारी भएदेखि नै ऊ सङ्ग्रहशील संस्कृतिमा बाँचेको छ । त्यसैले उसले पृथ्वीको विशाल भूखण्डलाई ढाकेको छ । जलवायु र संस्कृति परिवर्तनले मानिसलाई आफ्नो अनुकूलन वातावरणदेखि निकै टाढा बसाइ सर्न उत्साहित पारेको छ । उसको प्रत्येक नयाँ लम्काइले वातावरणलाई गहिरो आघात पुर्‍याएको छ । मानिस पशुपालन, कृषि, औद्योगिकीकरण भएर आजको औद्योगिक जटिलतामा आइपुगेको छ ।

कृषि क्रान्ति भएयता विशाल औद्योगिक प्रगति भएर पनि मानिसले खाना प्राप्तिका लागि माटामै भर पर्नु परिरहेछ । पृथ्वीमा मानिसको जीवनका लागि आवश्यक यौगिक र तत्वहरूको एउटा जटिल मिश्रणको रूपमा माटोले कुनै खास क्षेत्रको परिस्थितिमा एउटा प्रमुख भूमिका खेल्छ । बिरुवा र जीवजन्तु दुवै नै पौष्टिक तत्वका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा माटोमै निर्भर हुन्छन् । बढिरहेको जनसङ्ख्याको उदरपूर्ति माटोबाट हुने उब्जनीद्वारा हुन्छ । माटोको उर्वरता बढाउन रासायनिक मलको प्रयोगले माटोको वायुछिद्र कम गरिरहेछ र विषादीको प्रयोगबाट विनाशकारी र उपयोगी दुवै खालका किराहरू मर्ने त छँदै छ, उब्जाबाली विषाक्त हुनाले खानेलाई तत्काल असर देखिने गरेको छ । उद्योगहरूबाट निस्कने कचरले माटोलाई प्रदूषित गर्छ भने सिँचाइबाट माटोको लवण वृद्धि हुन्छ र अक्सिजन घट्छ, परिणामतः माटोको उर्वरता पनि घट्छ ।

एक अङ्ग्रेजी कविको कवितामा ‘हजारौँ मानिस प्रेमबिना पनि बाँचिरहेका छन् तर एउटा छैन पानी बिना बाँचेको’ । हामी साना छँदा इन्द्रले बर्सात गराउँछन् भनेर सुनिएको थियो । सौर्य ऊर्जाले समुद्रको पानीलाई वाष्फ बनाएर उडाउँछ, अनि यसरी जल वाष्फको ठुलठुला परिमाणले माथिका वायु राशि भरिन्छन् । जब यी गरम, आद्र्र सामुद्रिक राशिहरू चिसो, शुष्क हावासित ठोक्किन्छन् वर्षा हुन्छ भनेर पढियो । ‘८५ प्रतिशत रोगको निवारण असल पानी, खान हुने पानी गाउँ गाउँमा पुर्‍याइदिने हो भने स्वतः हुन्छ’ भनेर आधा शदीअघि भन्ने एक जना प्रसिद्ध नेपाली राजनीतिज्ञको भनाइलाई बहुधा उद्धरण गर्ने गरिन्छ तथापि कवि क्लरिजको ‘जताततै, पानी पानी, पिउनलाई एक थोपा पनि छैन’ कै स्थिति हाम्रो छ । ‘असल पानी’ को निश्चित गुणस्तर हुन्छ । त्यसमा अवाञ्छित सम्मिश्रण भयो भने प्रदूषित हुन्छ, यो सम्मिश्रण मानिसको कारणले भइरहेको छ ।

हामी वरिपरि बहने हावाको बारे विचार गर्दा हजारौँ वर्षसम्म दाउरा, हुन सक्छ गुइँठा पनि, झ्यासझुस इन्धनको रूपमा प्रयोग गरियो तर केही समयपछि कालो, चम्किलो, अनौठो तवरले कम तौल भएको ढुङ्गाले दाउराको आगोभन्दा धेरैबेरसम्म टिकिरहने निकै तातो आगोको राप बनाउन सक्छ भन्ने पत्ता लाग्यो । पत्थर कोइला र जीवाश्मबाट बन्ने अन्य इन्धन प्राकृतिक ग्यास, डिजेल, पेट्रोलबाट निस्कने सल्फरडाइअक्साइडका रापहरूले हावालाई यति प्रदूषित पार्‍यो कि औद्योगिक मुलुकका औद्योगिक सहरमा यसको कारण सामान्य मृत्युदर दुई भएको इतिहास छ । यसको प्रकोप अहिले उत्कर्षमा छ । 

मानिसको भिड, सवारीसाधन र कारखाना आदिको कोलाहलले ध्वनि प्रदूषण गराएको छ । ध्वनि प्रदूषणका कारण ‘एड्रेनेलिन’ नामक पदार्थ शरीरमा बन्छ, जसले हृदयगति र रक्तचापलाई प्रभावित पार्छ । यस पदार्थबाट मांसपेसीमा तनाव, टाउको दुखाइ, अनिद्रा, मानसिक तनाव, कोलोस्ट्रोलमा वृद्धि जस्ता समस्या उत्पन्न हुन्छन् । 

जलवायु परिवर्तन तीव्रताको असरले वायुमण्डल तातिँदै जानाले हिमाली भेगको तापक्रम र सामुद्रिक सतहमा वृद्धि भइरहेको छ । योबाट सबैभन्दा धेरै प्रभावित गरिब, भूपरिवेष्टित र पर्वतीय मुलुकमा नेपाल पनि पर्छ । हाम्रा घरहरू पत्थर कोइला, तेल, प्राकृतिक ग्यास वा बिजुलीबाट शायदै ‘वातानुकूलित’ छन नत हामीले हरित गृह ग्यासको अत्यधिक उत्सर्जन गर्ने उद्योग, सवारीसाधन आदिको सञ्चालन नै गरेका छौँ । एउटा अध्ययन अनुसार जलवायु परिवर्तनका लागि सवारीसाधन र कलकारखानाको धुवाँ जति जिम्मेवार हुन्छ, त्योभन्दा बढी गाईको पेटबाट निस्किने मिथेन ग्यास जिम्मेवार हुन्छ । ग्रिनहाउस ग्यासमध्ये पर्ने कार्बनडाइअक्साइडको तुलनामा मिथेन ग्यास वायुमण्डलका लागि अझ बढी खतरनाक हुन्छ । यो हाम्रा लागि ‘नखाएको विष’ समान हो । यसले नानाथरीका असरहरू देखाइरहेको छ, त्यसैले यो महाप्रलयको जोखिम बन्न सक्ने कुरा हो । श्रृष्टि र संहार चलिरहने चक्र हो । यो महाप्रलय आउन नदिन धनीहरूकै हातमा छ । मानव सभ्यता पूर्वसूचनाबिना परिवर्तित हुने भौगर्भिक स्वीकृतिका आधारमा टिकेको छ भन्ने प्रसिद्ध इतिहासकार विल दुराँको भनाइ पृथ्वीको संरचना, यसमा आउने परिवर्तन तथा तिनका आधारमा भएको सभ्यताको विकास तथा विनाश बारेको सार मन्तव्य हो ।