• ८ माघ २०८१, मङ्गलबार

वित्तीय संस्थाको सकस

blog

बैङ्क तथा वित्तीय संस्था जसले सर्वसाधारणसँग रहेको बचत निक्षेपको रूपमा सङ्कलन गरी सङ्कलित रकमको उचित परिचिालनबाट प्रतिस्पर्धी बजारमा उभिएका हुन्छन् । यो एउटा चुनौतीपूर्ण खेल हो, जहाँ विभिन्न किसिमका जोखिम व्यवस्थापन गरी अगाडि बढ्नुको विकल्प रहँदैन । सफलता हासिल गर्नका लागि वित्तीय संस्थाले सरकारका नीति नियम नियमक निकायका कम्प्लायन्स, देशको कानुन, आफ्नो संस्थाले बनाएका नियम विनियम प्रक्रियासँगै अन्तर्राष्ट्रिय कानुनसमेतलाई ध्यानमा राखी आफ्ना क्रियाकलाप सञ्चालन गर्नु पर्छ । सञ्चालनको क्रममा प्रतिस्पर्धी संस्थाहरूको तुलनामा आफ्ना वस्तु तथा सेवा सुविधालाई उत्तिकै सबल बनाउँदै जानु पर्छ । नयाँ सेवाहरूको उपलब्धता सुविधायुक्त भौतिक संरचना, कर्मचारीको व्यवहारमा सरलता र सहजता, ग्राहकका रोजाइका सेवाहरू, सामाजिक उत्तरदायित्वलगायत पक्षलाई आत्मसात् गर्दै वित्तीय संस्था आजको प्रतिस्पर्धी बजारमा दीर्घकालसम्म अगाडि बढ्न सक्छन् ।

बैङ्क तथा वित्तीय संस्था नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्रप्राप्त क, ख, ग र घ वर्गका रहेका छन् । विसं २०८१ कात्तिक मसान्तको तथ्याङ्कलाई हेर्नै हो ११० वटा बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा रहेका छन् । विसं २०६८ मा २१४ वटा बैङ्क तथा वित्तीय संस्था रहेकोमा विभिन्न समयमा भएका मर्जर तथा एक्विजिसनका कारण ११० वटामा सीमित भएको अवस्था रहेको छ । अझै पनि वित्तीय संस्था मर्जरमा जाने अवस्था रहँदै आएको छ । कतिपय वित्तीय संस्थाले वार्षिक साधारण सभाबाट नै मर्जरमा जाने सकिने निर्णय गरिसकेका छन् ।

मर्जर तथा एक्विजिसनमा जानुपर्ने कारण के हो ? त भन्दा विभिन्न परिस्थितिबाट वित्तीय संस्थाले यस्तो बाटो समाउनुपर्ने हुन्छ । कतिपय वित्तीय संस्थाको वित्तीय अवस्था कमजोर, कतिपय संस्थाको कर्जालगायत अन्य जोखिम बहन गर्न सक्ने सामथ्र्यको कमी, कतिपयलाई नियामक निकायका अनुपालना पूरा गर्न कठिनाइ, कतिपय घाटामा सञ्चालनमा रहनुपर्ने, कतिपय एक्लै सानो हुनुभन्दा ठुलो भएर रहने इच्छालगायत यस्ता विविध परिस्थितिका कारण वित्तीय संस्थाले प्राप्ति र विलयको बाटो लिने गर्छन् । वित्तीय संस्थाको आजको अवस्थालाई अध्ययन विश्लेषण गर्ने हो भने विभिन्न किसिमका समस्यालाई झेल्नु परेको अवस्था रहेको छ । यी निम्न लिखित अप्ठ्याराको अध्ययन विश्लेषणबाट बैङ्क तथा वित्तीय संस्थाहरूको अवस्था सकसपूर्ण रहेको छ भन्न सकिन्छ ।

निष्क्रिय कर्जाको दर बढ्नु

निष्क्रिय कर्जाको अनुपात जति थोरै भयो उति राम्रो मानिन्छ । विसं २०६९ कात्तिक मसान्तदेखि २०८१ कात्तिक मसान्तसम्मको तथ्याङ्कलाई हेर्ने हो भने १२ वर्षयताकै उच्च दर रहेको छ । पहिलो विषय भनेको वित्तीय संस्था खराब कर्जाको व्यवस्थापनमा तल्लीन भएको देखिन्छ । खराब कर्जाको व्यवस्थापन यसरी गरिन्छ, जहाँ खराब कर्जाका लागि व्यवस्था गर्न कन्जुस्याइ गरेर गरिन्छ ।  जसले गर्दा पछिल्लो समयमा आएर बढेको देखिए पनि केही हदसम्म अगाडिदेखिकै निष्क्रिय कर्जाको प्रतिशत मान्न सकिन्छ । विसं २०७९ देखि २०८० सम्मको वर्ष ठुलो मात्रामा निष्क्रिय कर्जा बढेको देखिन्छ । विसं २०२८ कात्तिक मसान्तमा पुग्दा ४.५ प्रति पुगेको छ । जुन विगत १२ वर्षयताकै उच्च दर हो । यो दर अझै माथि जान सक्ने अनुमान गर्न सकिन्छ । किनकि व्यवसायमा आएको सुस्तता कर्जाको मागमा कमी र समग्र अर्थतन्त्रको शिथिलताको अवस्था र अर्थतन्त्रमा मन्दीको प्रभावका कारण निष्क्रिय कर्जाको दर अझ बढ्ने सङ्केत देखिन्छ ।

अधिक तरलताको अवस्था

बैङ्क तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था रहेको छ । विसं २०७८ मा सिडी रेसियो ९० प्रतिशत रहेकोमा त्यसपछिका वर्षमा क्रमशः तरलता अधिक हुने दर बढिरहेको छ । यसपछिका वर्षमा तरलताको अनुपात बढ्दो क्रममा रहन गयो । विसं २०८० को कात्तिकमा पुग्दा २८.४ प्रतिशत रहन गयो भने २०८१ कात्तिक मसान्तमा २५ प्रतिशतको हाराहारीमा रहन गएको छ । पछिल्लो समय अझै बढ्ने क्रम जारी देखिन्छ । किनकि लगानीको सम्भावना कम र रेमिट्यान्स आउने क्रम बढ्दो रहेको छ । 

लगानीको शिथिल अवस्था

समग्र अर्थतन्त्र चलायमान हुन नसकिरहेको अवस्थामा नवप्रवर्धनका काम पनि प्रभावकारी रूपमा अगाडि बढेको देखिँदैन । सञ्चालनमा रहेका कतिपय व्यापार व्यवसायले निरन्तरता हुन कठिन भएको अवस्था सडकका मुख्य स्थानमा रहेका सटरहरू टु–लेटका बोर्डहरू राखेको अवस्थाबाट स्पस्ट हुन्छ । विसं २०७८ देखि यता २०८१ कात्तिकसम्म आइपुग्दा एकल अङ्कको वृद्धि त्यसमा पनि २०८० को वर्षमा करिब चार प्रतिशतको हाराहारी रहेको देखिन्छ । बढ्दो ब्याजदर रहँदा पनि लगानी बढ्न नसक्नु भनेको लगानी अवस्था शिथिल रहनु भन्न सकिन्छ । 

नाफामा गिरावट

वित्तीय संस्थाको मुनाफा भनेको लगानीबाट प्राप्त ब्याज मुख्यस्रोत मानिन्छ । एकातिर अधिक तरलताको कारण ब्याज खर्चमा वृद्धि भइरहेको छ भने अर्काेतिर लगानी गर्न नसक्दा ब्याज आम्दानीमा कमी आउन नै भयो । लगानी भइसकेका व्यापार व्यवसायबाट पनि समयमा किस्ता र ब्याज आउन नसक्दा कर्जाको लागि व्यवस्था गर्नुपर्ने भएकाले प्रत्यक्ष रूपमा मुनाफामा असर परेको छ । आजको समयमा सञ्चालन खर्चमा ठुलो भार निक्षेपको ब्याजबाट हुने निश्चित छ । किनकि निक्षेप वृद्धि भए अनुरूप लगानी बढ्न सकेको छैन । बैङ्क तथा वित्तीय संस्थामा अधिक तरलताका कारण ब्याज खर्च बढेर पनि मुनाफामा असर परेको छ ।

राजस्व सङ्कलनमा कमी

वित्तीय संस्थाहरूको मुनाफाबाट राज्यलाई मनग्य कर सङ्कलन हुने गर्छ । कर्मचारीलाई बोनस वितरण र सेयर होल्डरलाई डिमिडेन्ट वितरण गरिन्छ । जुन व्यक्तिको आम्दानीमा गणना हुन्छ र करको रूपमा राज्यलाई सङ्कलन हुने गर्छ । जब वित्तीय संस्थाको नाफामा नै कमी आएको अवस्था रहेको वर्तमान परिवेशमा राज्यकोषमा सङ्कलन हुने कर रकममा कमी आएको छ ।

मर्जर विलयले ल्याउने समस्या

वित्तीय संस्था सयौँको सङ्ख्यामा मर्जरमा गइरहेको अवस्था छ । कतिपय सबल अवस्थाका संस्थाहरू मर्जर हुन्छन् भने कतिपय समस्याग्रस्त भएपछि मर्जर हुने तथा विलय हुने अवस्थाले विभिन्न किसिमका समस्या देखिएका छन् र अझ टड्कारो रूपमा देखिने छ । विसं २०६८ मा २१४ वटा बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या रहेकोमा विसं २०८१ मा आउँदा ११० मा खुम्चन पुगेको छ । यसो हुनुमा विविध समस्या जस्तै मानव संसाधनको व्यवस्थापनमा समस्या, कर्जाको व्यवस्थापनमा समस्या, खराब कर्जाको बढोत्तरी, भौतिक संरचनाको दुरुपयोग, फरक संस्कार र संस्कृतिको मिश्रणको नकारात्मक प्रभाव, ग्राहकको असन्तुष्टि तथा ग्राहक संरचनामा कमीलगायतका विषयहरू मर्जर र विलयले ल्याएका समस्या हुन्, जसले वित्तीय संस्थामा सकसको वातावरण सिर्जना भएको छ । 

निष्क्रिय कर्जा असुलीमा समस्या

माथि उल्लेखित विविध पक्षको अध्ययन तथा विश्लेषणबाट यो स्पष्ट हुन्छ कि आजका दिन सञ्चालनमा रहेका जति पनि वित्तीय संस्था छन् तिनीहरू सकसको वातावरणमा रुमलिएका छन् र भोलिका दिनमा यस्ता समस्या अझ गाढा भएर आउने निश्चितप्रायः छ । यस्ता समस्यालाई राज्यको तहबाट, नियामक निकायको तहबाट, वित्तीय संस्था स्वयम्को तहबाट, कर्मचारीको तहबाट र सरोकारवाला सबैले गम्भीर भएर यस्ता समस्या निराकरणमा लाग्नु पर्छ । 

नियामक निकायको भूमिका अपेक्षित

यस्ता विविध पक्ष समस्याको तह छर्लङ्ङ देखिँदा देखिँदै पनि वित्तीय प्रणालीलाई नजिकबाट हेर्ने, बुझ्ने र अध्ययन गर्ने सामथ्र्य राख्ने विश्लेषकले हामी सुधारउन्मुख छौँ, हाम्रा तथ्याङ्कहरू सबल बन्दै गइरहेका छन्, हामीसँग लगानीयोग्य रकम थुप्रिएको छ, व्यापार घाटा कम हुँदै गएको छ, रेमिट्यान्स बढेको छ भनेर जनमानसमा भ्रम छर्नु हुँदैन । यस्ता चिल्ला र मिठा भाषणले अरूलाई सुनाउनका लागि एकछिन राम्रो देखिएला तर यथार्थभन्दा बाहिर गएर गलत विश्लेषण गर्नु ठिक होइन । आफूले आफँैमाथि झुठको खेती गर्ने क्रम बन्द गर्नु पर्छ । वित्तीय संस्थाका अवयवमा यस्ता विविध किसिमका समस्या रहेको अवस्थामा शरीरको भित्री अङ्गमा खराब भई मानिसको शरीर सुन्निएको छ त्यसलाई तपाईं त स्वस्थ हुनु हुन्छ, मोटाएर राम्रो देखिनुभएको छ भन्नु यथार्थता होला र ? तसर्थ बैङ्क तथा वित्तीय संस्थाको सबल स्थिति बनाउनका लागि नियामक निकायको सही पहल र कदमको आवश्यकता देखिन्छ । सँगसँगै यस प्रणालीभित्र आबद्ध पक्षको सहयोगको भूमिका पनि उत्तिकै महत्वपूर्ण मानिन्छ ।