खलङ्गा समाचारदाता
जाजरकोट, माघ ६ गते । यहाँको छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले आफूले पाउने सेवा सुविधा गरिब, विपन्न आर्थिक अवस्था कमजोर भएका बालबालिकाको पढाइ खर्चमा लगाउनुभएको छ । स्थानीय तहको निर्वाचनमा छेडागाड नगरपालिकाको प्रमुखको जिम्मेवारीमा आएपछि पदभार ग्रहणका क्रममा घोषणा गरे अनुसार आफूले पाउने सेवासुविधा विपन्न र जेहेनदार बालबालिकाको पढाइमा खर्च गर्नुभएको हो ।
खड्काले नगरपालिकाका प्रमुखले पाउने सेवा सुविधा छेडागाड नगरपालिका–५, थलह बजारस्थित ग्लोबन आइएमई बैङ्कमा बालहित कोष स्थापना गरी जम्मा गर्नुभएको छ । कोषमा २०७९ जेठदेखि हालसम्मको प्रमुखले पाउने पारिश्रमिक करिब नौ लाख दुई हजार ८८० रुपियाँ जम्मा भएको र नगरपालिकाभित्रका गरिब, विपन्न जेहेनदार, आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई उच्च शिक्षा पढाइमा अवस्था अनुसार सहयोग गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार बालहित कोषबाट चार जना बालबालिकाले उच्च शिक्षा अध्ययन गरेका छन् । आफूले पाउने सेवासुविधा नलिई नगरपालिकाभित्रका बालबालिकालाई लगानी गर्न पाउँदा खुसी भएको जनाउनुभयो ।