भारतका ठुला अस्पतालमा नेपाली बिरामीको भिडभाड हुन्छ । कुनै बेला सामान्य रोगको उपचारका लागि पनि छिमेकी मुलुक भारतका अस्पताल धाउनु पर्ने बाध्यता थियो । अहिले आफ्नै देश नेपालमा विशिष्टीकृत सेवा दिने अस्पताल बग्रेल्ती स्थापित भएका छन् तर पनि नेपाली दिल्ली, कलकत्ता, भेलोर, चेनाई, मुम्बई जस्ता भारतीय सहरमा उपचारका लागि धाउने गर्छन् । सीमावर्ती सहर सिलगढी, गोरखपुर, दरभङ्गा, सीतापुर, रायबरेली आदिमा पनि नेपाली ठुलो सङ्ख्यामा उपचारको सिलसिलामा जाने गर्छन् । केही चिकित्सा सेवामा नेपालले बिस्तारै आफ्नो हैसियत स्थापित गर्दै गएको पाइन्छ । आँखा उपचारका लागि ठुलो सङ्ख्यामा सीमापारिबाट नेपाल आउने गर्छन् । यसमा भैरहवाको रण अम्बिका आँखा अस्पतालले अग्रस्थान लिएको पाइन्छ । चितवनको बिपी कोइराला क्यान्सर अस्पतालमा पनि सीमा पारीबाट आउने बिरामीको केही सङ्ख्या रहेको बताइन्छ ।
चिकित्सा विज्ञानको क्षेत्रमा भारतको स्थान अग्रणी रहेको पाइन्छ । औषधी उत्पादन होस् या भ्याक्सिन अन्वेषण उत्पादन र वितरण भारत संसारमै अगाडि रहेको छ । कोभिड–१९ को महामारीको बेला कोभिसिल्डको जस्ता भ्याक्सिन उत्पादन गरी भारतले महामारी प्रकोपविरुद्धको लडाइँमा स्याबासी कमाएको छ । भारतको पुणेस्थित सेरम इन्स्टिच्युट अफ इन्डियाको भूमिका ज्यादै महìवपूर्ण रहेको थियो । पश्चिमा मुलुकमा उत्पादन हुने महँगा औषधीसमेत सस्तो मूल्यमा उत्पादन गरी एसियाली तथा अफ्रिकन मुलुकमा समेत सस्तो मूल्यमा आपूर्तिमा योगदान पुर्याएको छ । धेरै विकसित मुलुकबाट भारतका अस्पतालमा उपचारार्थ बिरामी आउने गर्छन् । खास गरी पश्चिममा मुलुकको तुलनामा भारतमा उपचार खर्च सस्तो हुनुका साथ साथै सापेक्षिक रूपमा भरपर्दो भएको पनि बताइन्छ । साथै, भारतले विश्व व्यापार सङ्गठनको (ट्रिप्स) सम्झौताका लचिलो नियम उपयोग गरेर सस्ता जेनेरिक औषधी उत्पादन गरी विश्वभर पुर्याउँदै ‘विश्वको फार्मेसी’ को नाम कमाएको छ । यसले मधुमेह, एचआइभी÷एड्स, क्यान्सर र अन्य गम्भीर रोगका औषधी सुलभ बनाएको छ । कोभिड–१९ महामारीमा खोप र औषधी उत्पादन गरी धेरै देशलाई सहयोग गर्यो । औषधी निर्यातबाट भारतले ठुलो आर्थिक लाभ पनि कमाएको छ, जसले उसको अर्थतन्त्र र स्वास्थ्य सेवामा सुधार ल्याएको छ ।
भारतका छिमेकी मूलक बङ्गलादेश, भुटान अफगानिस्तान, नेपाल मात्र होइन खाडी मुलुकका बिरामीको भारतीय अस्पतालमा ठुलो भिडभाड देखिन्छ । दिल्ली र कलकत्ता अपोलो अस्पतालमा क्रमशः अफगानिस्तान र बङ्गलादेशी बिरामीको घुइँचो नै हुन्छ । दिल्लीको केही वर्षअघिको कुरा हो दिल्लीको इन्द्रप्रस्थस्थित अपोलो अस्पतालमा मधुमेह रोग परीक्षण गराउन जाँदा अफगानी बिरामीको ठुलो भिडभाडले गर्दा पङ्क्तिकारलाई लामो समय कुर्नु परेको थियो । यसै गरी पत्नीको उपचारका सिलसिलामा कलकत्ताको अपोलो अस्पताल जाँदा बङ्गलादेशी बिरामीको भिडले चिकित्सक समय पाउन गाह्रो भएको थियो ।
हालै पङ्क्तिकार नयाँदिल्लीको प्रसिद्ध अस्पताल मेदान्तमा उपचारको साथसाथै भारतका परिवारका सदस्यहरू दाजुभाइ, दिदीबहिनीसहित केही तीर्थस्थलको घुमघाम गर्ने सिलसिलामा पुगेको थियो । यो अस्पताल हरियाणा राज्यको गुडग्राम (गुडगावा) पालिकाभित्र पर्ने भए पनि दिल्ली राजधानी क्षेत्रसँग जोडिएको ठाउँ भएकाले यो ठाउँलाई दिल्लीकै अंशको रूपमा बाहिरबाट बुझिन्छ । मेदान्त अस्पतालको स्थापना सन् २००९ मा भएको र यसको स्थापनाको श्रेय विश्वप्रसिद्ध मुटु रोग विशेषज्ञ (कार्डियोलोजिस्ट) डाक्टर नरेश त्रेहानलाई जान्छ । संयुक्त राज्य अमेरिकाको न्युयोर्क मेडिकल सेन्टरमा लामो समय मुटु रोगको विशेषज्ञता हासिल गरी भारत फर्केपछि उनले इस्कोर्टस हर्टइन्स्टिच्युट सुरु गरे । त्यसपछि भारतमा बहुविद्यागत विशेषज्ञ सेवा प्रदान गर्ने विश्वस्तरकै सुविधासम्पन्न अस्पतालको आवश्यकता महसुस गरी उनले मेदान्तको स्थापना गरेका थिए । उनले लखनउको प्रसिद्ध किङ्गजर्ज मेडिकल कलेजबाट एमबिबिएस उत्तीर्ण गरेका थिए । त्यसपछि अमेरिका मुटु रोगको विशेज्ञता प्राप्त गरेका थिए । नरेश त्रेहानले चिकित्सा सेवाको क्षेत्रमा विशिष्ट योगदान पुर्याएबापत भारत सरकारले सन् १९९१ मा पद्मश्री र २००१ मा पद्म भूषण प्रदान गरेको थियो । मेदान्तमा विशेषतः उत्तर भारतमा पाँच वटा शिक्षण अस्पताल र १० वटा विशिष्टीकृत सेवा अस्पताल रहेका छन् ।
४३ एकड जमिन क्षेत्रफलमा फैलिएको मेदान्त अस्पताल संसारका २५० वटा सर्वोत्कृष्ट अस्पताल मध्येको एक अस्पतालको रूपमा अमेरिकाको प्रशिद्ध न्युजविक पत्रिकाले उल्लेख गरेको छ । मेदान्तमा नौ सय विशेषज्ञ चिकित्सक ४० वटा शल्यक्रिया कक्ष, १३९१ शैøया र २७० सघन उपचार कक्ष रहेको बताइन्छ । मेदान्तमा वार्षिक करिब तीस हजार विदेशी बिरामी उपचारका लागि आउने गरेको बताइन्छ । तीमध्ये २० प्रतिशत जति नेपालीको सङ्ख्या रहेको छ । उपचारका लागि मेदान्त पुग्ने नेपालीका लागि बसोबास र उपचारका लागि सहजीकरण गर्ने नेपालीद्वारा सञ्चालित होटेल एवं गेस्ट हाउसको स्तुत्य भूमिका रहेको छ । मेदान्त अस्पतालको विशाल परिसर क्षेत्रसँगै सटेको सेक्टर–३८ इस्लामपुरमा नेपालीद्वारा सञ्चालित करिब नौ वटा जति होटेल, गेस्ट हाउस रहेका छन् । ती होटेल एवं गेस्ट हाउसले करिब एक सय जना जति नेपालीलाई प्रत्यक्ष रोजगारी दिएको मनकामना गेस्ट हाउस सञ्चालक धिरज खनाल बताउँछन् । विगत सात वर्षदेखि उनले मनकामना गेस्ट हाउस सञ्चालन गर्दै आएका छन् ।
उनको गेस्ट हाउसमा नेपालबाट पश्चिमदेखि पूर्वसम्मका हरेक ठाउँबाट नेपाली पुग्छन् । उनले सुलभ दरमा बसोबास खानपिनको व्यवस्था मिलाइदिने व्यवस्था गर्छन् । यसका साथै मेदान्त अस्पतालमा चिकित्सकसँग चेकअप गराउन सहजीकरण गर्ने, परिवहनको व्यवस्थापन गरी घुमघाम गर्न सहयोग पु¥याउनेलगायतका सेवा उपलब्ध गराउँछन् । मेदान्तमा चिकित्सकसँग समय मिलाउन कठिनाइ हुने एवं भाषाको समेत अप्ठेरोले गर्दा आइपर्ने समस्यालाई हाम्रो सहयोग मद्दतगार बनेको खनालको भनाइ छ । बिरामीप्रति मेदान्तका चिकित्सकको सकारात्मक एवं सहानुभूति भावपूर्ण व्यवहारले पनि मेदान्तमा हाम्रो सहयोग र सहजीकरण फलदायी भएको छ । पशुपतिनाथ होटेलका सञ्चालक गोपाल पाँडे बताउँछन् । मेदान्त अस्पतालका कारणले नेपालीले ट्याक्सी सेवाबाट जीविकोपार्जन गरेका छन् भने नेपालीका फुटकर औषधी पसल चलेका छन् । त्यसै गरी, यातायात र परिवहन सेवा सञ्चालन गरी सहयोग पुर्याउने काम गर्ने सुरज जिसीले नेपाललाई विमानस्थल एवं रेलमार्ग स्टेसनसमेतबाट यातायात सुविधा प्रदान गरेको बताउँछन् ।
पहिले पहिले नेपालबाट दिल्ली उपचार गर्न जाने बिरामीलाई कुनै कुनै अस्पतालमा विदेशीसरह व्यवहार गरिन्थ्यो । कुनै कुनै अस्पतालले सबै प्रकारका शुल्कमा १५ प्रतिशत थप महसुल तिर्नु पर्दथ्यो तर अहिले त्यसो गरिँदैन । यसमा भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायको भूमिका उल्लेख गर्न सान्दर्भिक हुन्छ । पूर्वराजदूत उपाध्यायले मेदान्तलगायतका ठुला अस्पतालका प्रमुखसँग भेटघाट गरी नेपालीलाई भारतसँगको १९५० को सन्धिबमोजिम पारस्परिकता (रेसिप्रोकल) का आधारमा व्यवहार गर्नुपर्ने जिकिर गरेका थिए । नेपालीलाई अरू देशबाट आउने विदेशी जस्तो महसुल लिन नहुने जिकिर गरेकाले अहिले मेदान्तलगायत अन्य ठुला अस्पतालमा कार्यान्वयन भएको छ । नेपालीले भारतीयसरह शुल्क चिकित्सक, प्रयोगशाला, शल्यक्रिया एवं विविध क्षेत्रमा महसुल भुक्तानी गर्दा हुने गर्छ । मेदान्त अस्पताल जस्तो निजी क्षेत्रको अस्पताल जीविकोपार्जनको आधार बन्नु आफैँमा सकारात्मक हो ।