हिले समाचारदाता
हिले, माघ ४ गते । धनकुटाको चौबिसे गाउँपालिका–२, मुढेबासस्थित लाफा गाँउमा एकल मगर जातिको मात्र बसोबास छ । ९५ घरधुरी रहेको यो गाँउमा घरबास सेवा सञ्चालनमा ल्याउने कुरा चलेको धेरै वर्ष भयो । स्थानीय तहको पहिलो चुनावपछि यहाँ लक्षित गरेर घरबास सेवा सञ्चालन गर्ने योजनासँगै प्रदेश सरकारको सहयोगमा मगर जातिको कला, संस्कृतिको प्रवर्धन गर्न सङ्ग्रहालयसमेत बनेको छ तर घरबास सेवा सञ्चालन गर्ने चर्चा चलेको सात वर्षभन्दा बढि हुँदा पनि कार्यक्रम सञ्चालन हुन सकेको छैन ।
अहिले पालिकाले दोस्रो कार्यकालको जनप्रतिनिधि पाइसकेको छ । लाफा गाँउमा होमस्टे सञ्चालन गर्ने चर्चा अहिले पनि छ । स्थानीयवासीको व्यस्तताका कारण कुरामा मात्र सिमित हुन पुगेको पालिकाका अध्यक्ष राजकुमार लिम्बूले बताउनुभयो । उहाँले भन्नुभयो, “गत साल घरबास चलाउन तालिमका लागि बजेट
छुट्यायौँ तर कसैले नभ्याएकाले काम नै गर्न सकिएन । यस पटक भने जिल्ला घरेलु कार्यालय धनकुटासँग सहकार्य गरेर घरबास सेवाको तालिम सञ्चालन गर्न लागिएको छ ।”
लामो समयदेखि यहाँको मगर बस्तीमा घरबास सेवा सञ्चालन गर्न खोजे पनि व्यावसायिक रूपमा सञ्चालनमा आउन नसकेको स्थानीय पूजन मगरले पनि जानकारी दिनुभयो । निर्माणाधीन भेडेटार–रवि–राँके राजमार्गमा पर्ने यस क्षेत्रमा हुने विभिन्न कार्यक्रममा खान र बस्न समस्या हुने देखिएकाले निकट भविष्यमा घरबास सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको मगरले जानकारी दिनुभयो ।
यहाँका मगर जाति परम्परागत रूपमा कृषि पेसामा आबद्ध रहिआएको र कृषिबाटै मनग्गे आम्दानी हुने भएकाले यसतर्फ ध्यान नदिँदा घरबास सञ्चालन चर्चामा सिमित रहेको अर्का स्थानीय अमृतदेव थापाको भनाइ छ । लेकाली क्षेत्रमा पर्ने यस गाउँमा खानेपानी अभाव भए पनि चिस्यान रहिरहने भएकाले बर्खे सिजनमा यहाँ कोबी र आलुको प्रशस्त मात्रामा खेती हुने गरेको छ । हिउँदभरि खेतबारी मलिलो बनाउन र बर्खामा खेती गर्न व्यस्त भएकाले पनि अन्य क्षेत्रको स्वाद पाउन नसक्दा घरबास सञ्चालनमा नआएको तर अब भने बिस्तारै सबै जना सञ्चालनको तरखरमा रहेको उहाँको भनाइ छ ।