करिब ४८ हजार मानिसको ज्यान गएपछि अनि कैयौँ भौतिक क्षति बेहोरिसकेपछि इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबिच युद्धबिराम हुने लगभग तय भएको छ । युद्धका लगभग १५ महिनामा हमास नियन्त्रित गाजा तथा प्यालेस्टाइन र इजरायलले ठुलो जनधनको क्षति बेहोरेका छन् । ढिलै भए पनि युद्धविरामको यो सङ्केतले यी दुई देश मात्रै होइन नेपाललगायत सारा विश्वलाई नै शान्तिको आशा जगाएको छ ।
रुस र युक्रेनबिचको युद्ध त अझै जारी छ । दुई देशबिचको लडाइँमा रुस–युक्रेनपछि विश्वका शक्तिशाली अनि नेपाल जस्ता धेरै गरिब राष्ट्रले ठुलो मूल्य चुकाउनु परेको अर्को युद्ध इजरायल हमास युद्ध पनि हो । तीन वर्षअघि सुरु भएको रुस–युक्रेन युद्धले त सारा विश्वलाई नै दुई ध्रुवमा बाँडिदियो । नेपाल जस्ता ‘असंलग्न राष्ट्र’ ले पनि कुनै राष्ट्रको पक्षमा बोल्नुपर्ने अवस्था आयो । यी युद्धले मात्रै दुई देशका नागरिक अनि त्यो मात्रै भूमिलाई छोएको छैन, संसारको ध्यान खिचेको छ ।
यी दुवै युद्धमा नेपाल र नेपाली पनि गाँसिएका छन् । इजरायलमा पढ्दै र सिक्दै परियोजनामा सहभागी भएका कम्तीमा एक दर्जन नेपालीको मृत्यु भएको छ । हमास र इजरेली सैनिक दुवैको निशानामा नेपाली नागरिक पनि सिकार बने । हमासले बन्धक बनाएका कैयौँ विदेशी नागरिकमध्ये अहिले पनि नेपाली युवा विपिन जोशीको अवस्थाबारे अज्ञात छ । हालै मात्र परराष्ट्रमन्त्री डा. आरजु राणाले कतारका विदेश राज्यमन्त्रीसँग विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको छ । योबाहेक यसअघिका अरू कूटनीतिक पहलमा नेपाल सफल हुन सकेको थिएन । आशा गरौँ, यसपालि युद्धविरामसँगै विपिन सकुशल घर फर्किने छन् । युद्धविरामका लागि दुवै राष्ट्रले केही सर्त पालना गर्नुपर्ने छ । त्यसमध्ये एक हो बन्धकको रिहाइ । यद्यपि हमासले रिहाइ गर्नेहरूको सूचीमा विपिनको नाम नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । तथापि हामीले आशा र भरोसा गर्नुबाहेक अहिले अर्को विकल्प छैन । किनकि नेपालको कूटनीतिक पहल त्यो स्तरसम्म पहुँच राख्दैन वा सकिएको छैन ।
रुस–युक्रेनको लडाइँमा त झन् सयौँ नेपाली प्रत्यक्ष नै जोडिए । दुवै देशले देखाएका प्रलोभनका कारण कैयौँ युवा रुस तथा युक्रेनको पक्षमा भिडे । दुवै देशको सैन्य मिसनमा भर्ना भएर नेपाली युवा नै एकअर्काका लागि आफ्नैसँग लड्न पुगे । रुसले त नेपालीलगायत धेरै विदेशी युवालाई आफ्नो सेनामा भर्ती हुनका लागि त्यहाँको नागरिकता नै दिने जस्ता लोभ देखायो । त्यसको प्रलोभनमा परेर दलाललाई चर्को रकम बुझाएर रुसी सेनामा भर्ती हुन पनि नेपाली युवा पुगे । त्यही क्रममा दर्जनौँ नेपाली युवाको मृत्यु भएको छ । जसको शवसमेत अहिलेसम्म आफन्तले पाउन सकेका छैनन् । कैयौँ युवा घाइते भएका छन् । उनीहरूको अवस्थाबारे न परिवार जानकार छ न त राज्यका निकाय नै । त्यहाँ कति नेपाली लडिरहेका छन् भन्ने यकिनसमेत अहिलेसम्म छैन । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले त्यहाँको सैनिकमा भर्ती हुन जाने नेपालीको सम्झौता सकिएको र अब उनीहरू त्यहीँ अलपत्र परेको समाचार प्रकाशित गरेका छन् । यद्यपि नेपाली कूटनीतिक नियकाले त्यसबारे यकिन विवरण सङ्कलन गरेका छैनन् ।
यति मात्रै होइन यी युद्धका कारण विश्व आपूर्ति चक्र नै अवरुद्ध भयो । कोरोना महामारीसँगै थलिएको विश्व अर्थतन्त्र तङ्ग्रिने बेलैमा रुस र युक्रेनबिचको युद्ध चर्किएको थियो । त्यो वैश्विक सङ्क्रमणकालीन अवस्थामा सुरु भएको युद्धका कारण पूरै संसार नै अस्तव्यस्त हुन पुग्यो । त्यसको मुख्य कारण थियो आपूर्ति चक्र खलबलिनु । दुई देशको युद्धका कारण कैयाँै शक्ति राष्ट्रले उनीहरूमाथि नानाथरिका प्रतिबन्ध लगाउन पुगे । फलस्वरूप विश्व बजार नै प्रभावित हुन पुग्यो । इन्धनको प्रमुख निर्यातकर्ताका रूपमा रहेका दुवै देश युद्धमा होमिएका कारण विश्वभरि नै इन्धनको मूल्यमा ठुलो घटबढ भयो । त्यसको प्रत्यक्ष/परोक्ष असर नेपाल जस्ता देशमा पनि प¥यो । नेपाल जस्तो सानो अनि आयातमुखी अर्थतन्त्र भएको देशमा संसारभरि जहाँसुकै हुने सानो छेकबारले पनि असर पर्छ । दैनिक प्रयोजनका वस्तुसमेत आयतमै निर्भर भएका कारण नेपाली बजारमा पनि त्यसको असर नपर्ने कुरै भएन । जसका कारण बजार र त्यसमै आधारित अर्थतन्त्र खलबलिन पुग्छ । तरलता अभावले पैसाको परिचालन नहुने वा कहिले भएको पैसाले पनि नपुग्ने गरी बजार उछालिनुका पछाडि केही घरेलु कारण हुन सक्छन् तर अधिकांश त वैश्विक कारण हुन् । किनकि नेपालको ८० प्रतिशतभन्दा बजार वैश्विक व्यापारको आपूर्ति क्रमा निर्भर छ । विश्वको एउटा कुनै छेउको अवरोधले पनि नेपाली बजारमा कहीँ न कतै छोइरहेकै हुन्छ ।
हुन त नेपाल एक असंलग्न राष्ट्र हो । अर्थात् विश्वका कुनै पनि देशबिच भएका लडाइँमा नेपाल तटस्थ रहनु पर्छ । दोस्रो विश्वयुद्धपछि उदय भएका दुई महाशक्तिमा ध्रुवीकृत विश्वका केही कुनामा रहेका नेपाल–भारत जस्ता राष्ट्रले थालनी गरेको असंलग्न अभियानको मर्म अनुसार हामीले हरेक सार्वभौम राष्ट्रको बराबरी सम्मान गर्न पर्छ र कसैको पक्ष वा विपक्षमा उभिनु हुँदैन भन्ने हो । त्यसकै मर्म अनुसार हामीले अपनाएको पञ्चशील सिद्धान्तको विदेश नीति अहिले पनि कायम छ । त्यो भनेको अहस्तक्षेप, अनाक्रमण, शान्तिपूर्ण सहअस्तित्व, एकअर्काको स्वतन्त्रता, सार्वभौमिकता र अखण्डताप्रति सम्मान गर्नु र आर्थिक तथा सामाजिक, सांस्कृतिक सहयोगको आदानप्रदान गर्नु हो । नेपालको यही नीतिका कारण विश्वमा अहिले चर्किरहेका कुनै पनि युद्धका विषयमा नेपालले आधिकारिक वा औपचारिक धारणा दिएको छैन, त्यसो गर्न पनि मिल्दैन । युद्धमा आफैँ र आफ्ना नागरिकसमेत पिल्सिन थालेपछि कसैको पक्ष वा विपक्षमा नउभिए पनि कूटनीतिक पहल भने हुनु पर्छ ।
हजारौँ मानिसको ज्यान लिएको र कैयौँ धनसम्पत्तिको क्षति गराएको हमास–इजरायल युद्ध रोक्नका लागि अहिले कतार अघि सरेको छ । युद्धरत दुई पक्षलाई एकै ठाउँमा राखेर अहिले कतारले युद्धविरामका लागि मध्यस्थता गरिरहेको छ । यसको अर्थ कतारले आफ्नो कुनै शक्ति प्रदर्शन गरेको होइन मध्यस्थताको एउटा अगुवाइ मात्रै कतारले गरेको हो । अहिलेसम्म कुनै पनि राष्ट्रको पक्षमा खुलेर नदेखिएको कतारले आखिर दुई शक्तिलाई एउटा सम्झौतामा ल्याउने कोसिस गरेको छ । यो लडाइँबाट सारा विश्व त पिरोलिएको थियो नै खाडी क्षेत्रका राष्ट्र पनि एकअर्कामा विभाजित थिए । त्यसको मार कतारले पनि खेपिरहेको थियो । त्यसैले उसले यो युद्धविराम चाहन्थ्यो र १५ महिनापछि उसले एउटा सफलता पाउँदै छ ।
विभिन्न राजनीतिक उथलपुथल र अशान्तिको साक्षी बनेको नेपालले पनि कुनै बेला आन्तरिक युद्ध बेहोर्नु परेको थियो । राज्य र विद्रोही माओवादीको १० वर्षसम्मको युद्धका कारण नेपालले कैयौँ पुस्ताका लागि गर्नुपर्ने विकास गुमाउनु पर्यो । ती १० वर्षको क्षति आगामी कैयौँ पुस्तासम्म पनि परिपूर्ति हुन सक्दैनन् सायद । यहाँका राजनीतिक दलले त्यसको सही र सफल अवतरण गराए त्यो पनि आफ्नै मौलिक तरिकाले । कुनै बेला छिमेकी देश लडाइँमा होमिएका बेला अनि कुनै आपतविपत्मा पर्दा नेपालले पनि त्यसमा सहजीकरण गर्दै आएको छ । आज रुस–युक्रेन, हमास–इजरायल, प्यालेस्टाइन, इरान वा इराक मात्रै होइन, दक्षिण एसिया आफैँमा शान्त छैन । पूर्वी एसिया त्यत्तिकै तनावपूर्ण अवस्थामा छ । छिमेकी भारत–पाकिस्तानको इगोका बिच पूरै एसिया पिरोलिएको छ । चीन अनि उसका वरिपरिका राष्ट्रबिच उस्तै तनाव छ । अमेरिका नजोडिएका विवाद अनि युद्ध बिरलै होलान् । दुई कोरियाको विवादले विश्व नै सशङ्कित छ । मध्य युरोप वर्षौंदेखि अशान्त अनि खलबलिन पुगेको छ । यसरी हेर्दा विश्वका कुनै पनि कुना शान्त छैनन् । कतै युद्ध अनि कतै मानवीय र राजनीतिक सङ्कटले साराका सारा देश जेलिइरहेका छन् ।
यो अशान्त विश्वलाई लयमा फर्काउन अब नेपालले विश्व शान्तिका लागि कूटनीति अर्थात् ‘डिप्लोमेसी फर पिस’ अवलम्बन गर्नुपर्ने जरुरी छ । त्यसले सारा विश्वलाई शान्तिको मार्गमा डोर्याउन मद्दत गर्न सक्छ । बुद्ध जन्माएर आफैँमा शान्तिभूमि कहलिएको नेपालले आज चारैतिरबाट अशान्त भइरहेको विश्वलाई शान्तिको यही बाटोमा ल्याउन अगुवाइ गर्ने हिम्मत देखाउन जरुरी छ । यसबाट नेपाल राष्ट्रको सार्वभौम परिचय विश्वमाझ थप उचाइमा पुग्ने मात्रै होइन विश्व शान्तिको अगुवा राष्ट्रका रूपमा नेपालले विश्व इतिहासमा नाम लेखाउने मौका पनि पाउने छ ।