• ३ माघ २०८१, बिहिबार

किसानलाई कृषि सामग्री प्रदान

blog

कृषक समूहमा आवद्ध किसानलाई कृषि सामग्री हस्तान्तरण गरिँदै । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, माघ ३ गते ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले किसानलाई कृषि सामग्री प्रदान गरेको छ । गाउँपालिकाले आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत वडा ३ साँघुका किसानलाई कृषि सामग्री प्रदान गरेको हो ।

साँघुको मैदानी सुके लामपोखरी खर्केली बहुउद्देश्यीय कृषक समूहमा आबद्ध किसानलाई कृषि सामग्री प्रदान गरिएको हो । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमको उपस्थितिमा स्थानीय किसानलाई हाते ट्रयाक्टर, पाइप, स्प्रिङकललगायतका सामग्री वितरण गरिएको छ । यता कृषि सामग्री वितरण गर्नुहुँदै गाउँपालिका अध्यक्ष वनेमले अनुदानमा पाएको सामग्रीलाई सदुपयोग गर्न किसानलाई आग्रह गर्नुभएको छ ।

अनुदान प्राप्त गरेपछि त्यसको सही सदुपयोग गरी दिगो तथा व्यावसायिक बनाउन सकेमा आत्मनिर्भर बन्नलाई टेवा पुग्ने अध्यक्ष वनेमको भनाइ छ । उहाँले स्थानीय किसानलाई आत्मनिर्भर बनाउनमा सहयोग पुर्‍याउने उद्देश्यले नै गाउँपालिकाले विभिन्न अनुदान उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । आलु पकेट क्षेत्रका लागि साँघुको जग्गा उपयुक्त रहेको र कृषक समूहमा आबद्ध किसानले यसवर्ष करिब ८० रोपनी जग्गामा आलुखेती लगाएको गाउँपालिकाले जनाएको छ ।