भावना जोशी
अत्तरिया, माघ ३ गते । सुदूरपश्चिम प्रदेशमा बिहीबार बिहानैदेखि वर्षा भइरहेको छ । पश्चिम न्यूनचापीय प्रणाली र अरब सागरबाट आएको प्रणालीको संयुक्त प्रभावका कारण वर्षा भइरहेको जलवायुविद् डा. धरमराज उप्रेतीले जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको र सो वर्षा बिहीबार साँझसम्म कायम रहने उप्रेतीले बताउनुभयो । शुक्रबारदेखि नेपालको पूर्वी भाग गण्डकी, लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने उहाँको भनाइ छ ।
वर्षाका कारण कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात सम्भावना छ । वर्षा र हिमपातले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो ।
लामो समयपछि हिउँदे वर्षा हुँदा किसानलाई राहत भएको छ । गहुँ खेतीलाई आवश्यक परेको समयमा वर्षा भएकाले गहुँ उत्पादन वृद्धि हुने किसान सुरेश रावलले बताउनुभयो ।
सुदूरपश्चिमका अधिकांश भूभागमा आकाशे पानीको भरोसामा खेती गरिन्छ । उहाँले भन्नुभयो, “गहुँ फुल्ने बेला वर्षा भएको छ, यसले किसानलाई ठुलो राहत मिलेको छ ।”