• ३ माघ २०८१, बिहिबार

कोदोको उत्पादन घट्दै माग र मूल्य बढ्दै

blog

फक्ताङ्लुङ गाउँपालिका–६, लेलेपका किसानले गरेको कोदो खेती । तस्बिर : चन्द्र पन्दाक

ताप्लेजुङ समाचारदाता 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङमा कोदो उत्पादनमा कमी आएको छ । जिल्लाका अधिकांश किसानले कोदो खेती लगाउन छाडेपछि उत्पादनमा कमी आउन थालेको हो । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार गत वर्षभन्दा यो वर्ष कोदो उत्पादन घटेको छ । कृषि ज्ञान केन्द्रको तथ्याङ्क अनुसार जिल्लामा यो वर्ष चार हजार २५६ मेट्रिक टन मात्र कोदो उत्पादन भएको छ । जिल्लामा दुई हजार ९६२ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट उक्त परिमाणमा कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख सन्तोष थापामगरले जानकारी दिनुभयो । थापामगरका अनुसार गत वर्ष चार हजार २७०.३० मेट्रिक टन कोदो उत्पादन भएको थियो । 

पछिल्लो समय बसाइँसराइसहित विभिन्न कारणले गाउँबाट जनशक्ति पलायन हुने क्रमले कोदो खेती गर्न छाडिँदै गएको छ । त्यस्तै अन्य खेतीभन्दा झन्झटिलो र धेरै जनशक्ति लाग्ने भएकाले पनि कोदो खेतीप्रति किसानको आकर्षण घट्दै गएको हो । खेती नै कम हुन थालेपछि उत्पादन घट्नु स्वाभाविक भएको कृषि ज्ञान केन्द्रका प्रमुख थापामगर बताउनुहुन्छ । पछिल्लो केही वर्षयता भने जिल्लाका सीमित किसान कोदो खेतीतर्फ आकर्षित हुँदै गएका छन् । कोदोको महìव र यसको उपभोगले हुने फाइदा तथा लाभबारे बुझ्न थालेपछि सीमित किसान कोदो खेतीमा पुनः आकर्षित हुँदै गएको ज्ञान केन्द्रका प्रमुख थापामगरको भनाइ छ । 

उहाँले उत्पादन घटेपछि कोदोको मूल्य र माग भने बढ्दो क्रममा रहेको बताउनुभयो । गाउँमा कोदो पाथीको (करिब चार किलोग्राम) दुई सयदेखि २५० रुपियाँसम्म पर्ने गर्दछ । महँगो पर्ने भए पनि माग अनुसार लोकल (स्थानीय) कोदो नपाइने गरेको उपभोक्ता बताउँछन् । सिदिङ्वा गाउँपालिका–४, साब्लाखुका उपभोक्ता अनिता लिम्बूले महँगो पर्ने भए पनि गाउँमा माग अनुसार कोदो पाउनै छाडिएको बताउनुभयो । उहाँका अनुसार गाउँमा उत्पादन भएको कोदो नपाइने भएपछि बजार तथा खाद्यान्न पसलमा जानुपर्ने अवस्था रहेको छ । बजारमा आउने कोदो पनि दिनदिनै मूल्य बढ्दै गएको उहाँले बताउनुभयो । एक वर्षअघिसम्म बजारमा आउने कोदो प्रतिकिलोग्राम ५५ देखि ६० रुपियाँ पर्ने गरेकोमा अहिले बढेर ७५ देखि ८० रुपियाँसम्म पुगेको छ । 

सदरमुकाम फुङ्लिङ बजारका स्थानीय व्यवसायी नारायण थापाका अनुसार पछिल्लो समय कोदोको माग अत्यधिक बढेको छ । ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्षसमेत रहेका थापाले विगतका वर्षमा भन्दा अहिले कोदोको माग र मूल्य बढेको बताउनुभयो । उहाँका अनुसार फुङ्लिङ बजारमा प्रतिमहिना ५० किलोग्राम तौल भएको छ सयदेखि आठ सय बोरासम्म कोदो खपत हुँदै आएको छ । जाँड रक्सी जस्ता घरेलु मदिरा बनाउनका लागि कोदो खपत हुने गरेको उहाँको भनाइ छ । उहाँले कोदोको माग बढ्दो क्रममा रहेको बताउनुभयो ।