नवलपरासी समाचारदाता
देवचुली, माघ ३ गते । पूर्वी नवलपरासीको पहाडी गाउँपालिका जोड्ने दलदले धौवादी सडक निर्माण सुरु भएको ३७ वर्ष पुग्यो तर अहिलेसम्म स्तरोन्नति हुने कुनै छाँटकाँट नै देखिँदैन । सडक स्तरोन्नति हुन नसक्दा यो सडक भएर यात्रा गर्नेले बर्सेनि सास्ती खेप्दै आएका छन् । हरेक वर्ष हुने सवारी दुर्घटनाका कारण ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको प्रहरीले जनाएको छ । पहिले स्तरोन्नतिका लागि केही काम भए पनि वर्षाको समयमा पहाडी क्षेत्रमा आउने पहिरोले सडक जस्ताको तस्तै बनाउने गरेको बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो ।
यो सडक भएर पहाडी दुई गाउँपालिका हुँदै तनहुँ, पोखरा र पाल्पा जोड्ने सडकको अहिले स्तरोन्नतिका काम सबै रोकिएको बौदीकाली गाउँपालिकाका पूर्वअध्यक्ष दुर्गा रानामगरले गुनासो गर्नुभयो । करिब ३६ वर्षअघि सुरु भएको पहिलो चरण अन्तर्गत बुलिङटार–धौवादी–दलदले ४३ किलोमिटर सडकको ट्र्याक खोल्न मात्रै करिब २० वर्ष लाग्यो । खोलिएका सडक वर्षा लाग्नासाथ भत्किने हुँदा राम्रोसँग चल्न नसकेको बुलिङटार गाउँपालिका–२ का पूर्ववडाध्यक्ष प्रेमबहादुर थापामगरले बताउनुभयो । तत्कालीन गाविस र जिल्ला विकास समितिले हरेक वर्ष बाटोको स्तरोन्नतिका लागि करोडौँ रुपियाँ विनियोजन गरेको भए पनि सडकले स्थायित्व लिन नसकेको स्थानीय समाजसेवी भविलाल रानामगरले बताउनुभयो ।
अस्ट्रेलियाली नागरिक सेफर्ड बारबाराको प्रयासमा यो सडक निर्माणको काम अगाडि बढेको स्थानीय अर्खलाका भूपाल लुङ्गेलीमगरले बताउनुभयो । यो सडकको निर्माण सुरु भएपछि बारबाराको एक्लो प्रयासमा २०५८ सम्म २० किलोमिटर सडकको ट्र्याक खोल्ने काम सम्पन्न भई अर्खलालाई मधेशको दलदलेसम्म जोड्ने काममा सफलता मिलेको वडाध्यक्ष मीनबहादुर आलेले बताउनुभयो ।
तर सो सडक चल्नेभन्दा बिग्रिने धेरै भएपछि पटक पटकको प्रयासपछि नेपाल सरकारले ग्रामीण कृषि सडक नामकरण गरी विश्व खाद्य सङ्गठनको सहयोगमा चामल वितरण गरेर सडकको निर्माण पुनः सुरु गरेको गण्डकी प्रदेश सरकारका पूर्वकृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले बताउनुभयो ।
ट्र्याक खोलेको ३० वर्षपछि सरकारले ४० किलोमिटर सडक स्तरोन्नति गर्न करिब ६५ करोड रुपियाँको लागतमा ठेक्का खोलेको र पाँच वर्षदेखि निरन्तर काम हुँदै आए पनि विगत एक वर्षदेखि ठेकेदार नै बेपत्ता भई काम हुन नसकेको स्थानीय ठेकेदार कुलबहादुर ठाडामगरले बताउनुभयो ।
सडक राम्रो नहुँदा पहाडी क्षेत्रमा उत्पादन हुने सामग्री मधेश लैजान समस्या हुँदै आएको जौबारीका स्थानीय मीनबहादुर लामिछानेमगरले बताउनुभयो । यस क्षेत्रबाट चार पटक प्रतिनिधि सभामा निर्वाचित सांसद डा. शशाङ्क कोइरालाले दलदले–धौवादी–बुलिङ्टार सडकलाई छिटो सम्पन्न गराउन बजेट उपलब्ध गराई काम अगाडि बढाइने बताउनुभयो ।
दलदले–धौवादी सडक निर्माण पूरा हुने हो भने यो सडकको यात्रा प्रदेश राजधानी पोखरा हुँदै कालीगण्डकी कोरिडोर, पाल्पा, स्याङ्जा, पर्वत, गुल्मी, मुस्ताङसम्मको यात्रासमेत कम समयमा गर्न सकिने भएकाले पनि यसको निर्माणलाई तीव्रता दिनुपर्ने सांसद महेन्द्रध्वज जिसीले बताउनुभयो ।