• ३ माघ २०८१, बिहिबार

बिहान सवारी चलाउनै कठिन

blog

नवलपुर समाचारदाता

नवलपुर, माघ ३ गते । घाममाथि आइसक्ने बेलासम्म पनि तराईमा उज्यालो देखिँदैन । हुस्सु यति बाक्लो लागेको छ कि १० मिटरअगाडिको वस्तु देख्न पनि हम्मेहम्मे  पर्छ । यसले सबैभन्दा बढी समस्या बिहानको समयमा सवारीसाधन चलाउनेलाई परेको छ । 

पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटबल सडकखण्डमा पातलो गरी सवारीसाधन त गुडेका छन् तर निकै सुस्त गतिमा । वीरगन्जबाट भैहरवा जाँदै गरेको बसका चालक रमेशकुमार पराजुली बाक्लो गरी लागेको हुस्सुले भिजिबिलिटी निकै कम हुँदा बस चलाउनै समस्या भएको बताउनुहुन्छ ।  उहाँ भन्नुहुन्छ “गति बढाउनेबित्तिकै भिजिबिलिटीका कारण दुर्घटना हुने जोखिम उत्तिकै छ । त्यसैले सावधान भएर सुस्त गतिमा सवारीसाधन चलाउनुपर्ने बाध्यता छ ।’’

राजमार्ग निर्माणकै क्रममा भएको र चालकले पनि सावधानीपूर्वक गाडी चलाएकाले सामान्यबाहेक ठुला दुर्घटना भने नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनकराज बन्जाराले बताउनुभयो । पुस लागेयता नवलपुरलगायत तराईका जिल्लामा बाक्लो हुस्सु लाग्ने गरेको छ । 

हुस्सु मात्र होइन शीतलहर पनि त्यत्तिकै चलेको छ । शीतलहरकै कारण बाटो चिप्लो हुँदा नारायणगढ–बुटबल सडकको दाउन्ने खण्डमा एक दिन पूर्ण र दुई दिन आंशिक रूपमा राजमार्ग नै अवरुद्ध भयो । अरू समय यतिबेला चर्को घाम लाग्ने तराईमा अहिले दिउँसोपख मुस्किलले घाम देख्न पाइन्छ । 

बाक्लो हुस्सु र शीतलहरले जाडो बढ्दा यतिबेला तराईका धेरै जसो विद्यालयले जाडो बिदा दिएर विद्यालय बन्द गरेका छन् । जाडो बढेपछि वृद्धवृद्धालाई भने थप समस्या परेको छ । जाडो धपाउन चोक चोकमा आगो बालेर ताप्ने व्यवस्था गरिएको छ । 

जिल्ला प्रहरी कार्यालयको पहलमा जिल्लाका २४ सार्वजनिक स्थलमा आगो ताप्ने व्यवस्था गरिएको छ । जिल्लाका छ स्थानीय तहका २४ सार्वजनिक स्थलमा आगो ताप्ने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिनुभयो । त्यसै गरी स्थानीय क्लबहरूले पनि दाउरा व्यवस्थापन गरी ठाउँ ठाउँमा आगो ताप्ने व्यवस्था गरेका छन् । 

हुस्सु र शीतलहरले चिसो बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा न्यून आय भएका जिल्लाभरिका करिब एक सय परिवारलाई खाद्यान्न तथा न्यायो कपडा वितरण गरिएको प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताउनुभयो ।