अमृतप्रसाद पौडेल
म्याग्दी, माघ ३ गते । हिमालपारिको जिल्ला मुस्ताङको जिल्ला प्रशासन कार्यालयको पुरानो भवनमा आगालागि हुँदा एक जना प्रहरी हवलदार घाइते हुनुभएको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार राती साढे दुई बजे तिर एक्कासि आगालागि हुँदा जिल्ला प्रशासनको पुरानो भवनको एउटा कोठामा भएको सामग्रीहरू जलेर नष्ट भएका छन् भने एक जना प्रहरी हवलदार घाइते हुनुभएको छ । आगालागि भए पछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । घाइतेको जिल्ला अस्पताल मुस्ताङमा उपचार पछि थप उपचारका लागि राती नै पोखरा रिफर गरिएको अस्पतालले जनाएको प्रजिअ भुसालले बताउनुभयो । आगालागिको एकिन कारण नखुले पनि विद्युत् सर्ट भएर हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रजिअले जानकारी दिनुभयो ।
क्षतिको विवरण सङ्कलन भई रहेकोले अहिल्यै कति भयो भनेर भन्न सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।