जयकृष्ण यादव
इनरुवा, माघ २ गते । सुनसरीको गढी गाउँपालिका र इनरुवा नगरपालिकाको जल्पापुरमा आगलागी हुदाँ पाँच घर जलेर नष्ट भएको छ । स्थानीयले न्यानोका लागि बालेको घुरबाट भएको दुवै ठाउँको आगलागीमा पाँच घर जलेर नष्ट भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाका अनुसार सुनसरीको गढी गाउँपाािलका –२ मुसहरी टोलकी कमली ऋषिदेवको घरमा आगलागी हुदाँ घर जलेको छ । इनरुवा नगरपालिका –१० जाल्पापुरमा यौजुप मियाँको घरबाट सल्केको आगोले थप चार जनाको घर जलेर नष्ट भएको छ । गढीमा भएको आगो प्रहरी चौकी औरावनी, स्थानीयबासी र दमकलको सहयोगमा पूर्ण रुपमा नियन्त्रण गरिएको थियो ।
आगलागीबाट बाँसको बेरा, फूसको छानो भएको एकतले घर पूर्णरूपमा जलेर नष्ट भएको र नगद ९ हजार रुपियाँसहित दुई लाख २० हजारको क्षति भएको प्रहरीले जनाएको छ । यता इनरुवा १० जाल्पापुरमा घुरबाट परालको टालमा अचानक आगो लागी हुँदा औजुप मियाँ, भोटो मियाँ, सलाउदीन मन्सुरी र मुर्सीद मियाँको घर जलेर नष्ट भएको छ ।
आगोलाई कोशी गाउँपालिका, ईनरुवा नगरपालिका र देवानगञ्ज गाउँपालिकाको दमकल, स्थानीयबासी र प्रहरीको सहयोगमा पूर्णरुपमा नियन्त्रणमा लिएको थियो । आगलागिले मानवीय, चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।