• २ माघ २०८१, बुधबार

मधेसमा मनाइयो २७ औं भूकम्प सुरक्षा दिवस

blog

मधेश प्रदेश सरकारको गृह मन्त्रालयले भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री राजकुमार लेखीसहिता । तस्बिरः धर्बेन्द्र झा

धर्बेन्द्र झा 

जनकपुरधाम, माघ २ गते । मधेश प्रदेशमा २७ औं भूकम्प सुरक्षा दिवस २०८१ विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्व तयारीका साथ भने मूलनाराका साथ मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले बुधबार विहान मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रभात फेरि, भूकम्प सुरक्षा प्रर्दशनी तथा भूकम्पबाट जोगिन अपनाउनु पर्ने सावधानी विषयमा सचेतनामुलक कार्यक्रमको आयोजना गरेको छ । 

मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले भूकम्पजस्ता विपताहरु कुनै पनि बेला आउन सकिने भएकाले त्यसबाट जोगिनका लागि हामी सचेत हुनुपर्ने बताउनुभयो । 

उहाँले सरकारले निधारण गरेको मापदण्डलाई वेवास्तागरी बनाउने गरिएको संरचनाले जोखिम बढाउन सकिने भन्दै त्यसो हुन नदिनका लागि भवन संहिताअनुरुप भवन निर्माण गर्नुपर्ने काममा हामी गम्भीर हुनुपर्ने बताउनुभयो । 

उहाँले भूकम्पजस्ता विपत्तिहरुले समाजमा सिर्जित विभिन्नखालका समस्यालाई सम्बोधन गर्न हामी जिम्मेवार छौंकि छैनौं, विषयमा हामी गम्भीर हुनु पर्ने बताउनुभयो । उहाँले राज्यको साथै हामी सबै गम्भीर नभएको खण्डमा समाज रुपान्तरणको अभियानले परिणाम दिन नसक्ने र समाजमा चाहेको परिवर्तन हुन नसक्ने बताउनुभयो । 

कार्यक्रममा मधेश प्रदेशका निमित्त मुख्यसचिब जयकुमार घिमिरेले २०७२ सालमा नेपालमा आएको भूकम्पले भएको धनजनको क्षति विषयमा सबै जानकार रहेको भन्दै नेपालमा नयाँ भौतिक संरचना निर्माण हुँदा भूकम्प प्रतिरोधी निर्माण हुनु पर्नेमा जोड दिनुभयो । 

उहाँले हामीले पनि घर बनाँउदा समान्य गल्ती गर्दा त्यसको परिणाम भोलि अर्कै हुन सक्ने भएकाले घर बनाउँदा भवनसंहिता अनुरुपको मापदण्डलाई पाल्ना गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा संघीय सहरी विकास तथा भवन कार्यालय जनकपुरधामका प्रमुख विनोद यादवले भूकम्पबाट विगतमा भएका क्षति र यसबाट बाँचनका लागि अपनाउनु पर्ने सावधानीका विषयमा आफनो प्रस्तुति गर्दै नेपाल भूकम्पको जोखिम दृष्टीकोणले विश्वमा ११ औं स्थानमा रहेकाले हामी सतर्क हुनुपर्नेमा जोड दिनुभयो ।