नेपाली समाजलाई हिंसामुक्त बनाउने सङ्कल्पसहित स्थापित संस्था हो माइती नेपाल । मानव तथा चेली बेचबिखन रोक्नु पर्छ भन्ने मूल ध्येयका साथ ३३ वर्षअघि यो संस्था स्थापना भएको हो । यसबिचमा संस्थाले अनेकन् आरोह/अवरोह पार गरेको छ । भारतीय कोठीमा बेचिएर नारकीय जीवन जिउन विवश नेपाली चेलीको उद्धार तथा पुनस्र्थापनामा संस्थाले खेलेको भूमिका प्रशंसनीय छ । यौन शोषण र घरेलु हिंसाबाट पीडित असङ्ख्य नागरिकको आशाको किरण बनेको माइती नेपालले मानव बेचबिखनविरुद्ध लड्न, अपराधजन्य क्रियाकलाप रोक्न, पीडितको उद्धार र पुनस्र्थापनासहित आमनागरिकलाई यसप्रति सजग र सचेत गराउन महìवपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यही सामाजिक कर्मको प्रतिफल संस्थाकी अध्यक्ष अनुराधा कोइरालाले भारतको सुप्रसिद्ध पद्मश्री पुरस्कार र सन् २०१० को सिएनएन हिरोको सम्मानसमेत पाइसक्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली सोमबार सामाजिक सेवामा समर्पित माइती नेपालको केन्द्रीय कार्यालयमा पुग्नुभयो । संस्थामा आश्रित ‘चेली’ हरूले प्रधानमन्त्रीको स्वागत गरे । चेलीहरूले हिंसा र बेचबिखनको त्रासदीपूर्ण सङ्घर्ष र कहालीलाग्दो जीवनको वास्तविक कथा सुनाउँदा प्रधानमन्त्री ओली गम्भीर बन्नुभयो । ओली समय समयमा बालबालिकाका बिचमा बसेर आफूलाई गौरवान्चित भएको महसुस गर्नुहुन्छ । प्रधानमन्त्री ओलीले पुनस्र्थापना गृह, बाल संरक्षण गृह, एचआइभी उपचारको एआरटी केन्द्र, टेरेसा एकेडेमी/विद्यालयको अवलोकनसमेत गर्नुभयो । अध्यक्ष अनुराधा कोइरालाले सोमबार मात्र उद्धार गरेर ल्याइएकी १५ वर्षीय किशोरीको परिचय गराउँदै उद्धार कार्यमा झेलेका समस्याबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउनुभयो । संस्थाको अवलोकन, अध्यक्ष अनुराधा कोइरालासहित संस्थाका अन्य पदाधिकारीसँगको छलफलपछि प्रधानमन्त्री ओलीले संस्थाको अक्षय कोषका लागि एक करोड रुपियाँ सहयोग गर्ने घोषणासमेत गर्नुभयो ।
प्रधानमन्त्री ओलीले उद्धार गरिएका सम्पूर्ण बालबालिकालाई बहुआयामिक क्रियाकलापमा लगाउने संस्थाका कर्मको खुलेर प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “नागरिकको रक्षा, सुरक्षा र उन्नति प्रगति गर्ने काम सरकारको हो तर सरकारको सीमा र अरू कतिपय कारण यो काम गर्न सकिरहेका छैनौँ । नागरिकस्तरबाट अनुराधा कोइराला जस्ता समाजसेवीबाट भएको काम प्रशंसनीय छ ।” प्रधानमन्त्रीका यी उद्गार आफैँमा मूल्यवान् छन् । “यति सुन्दर र मनोरम, सभ्यताको सुरुवात भएको देशलाई अझै समृद्ध बनाउनु पर्छ । नेपालमा जन्मिएकोमा गर्व गर्नु पर्छ । पुन्य, पवित्र, देवभूमिमा जन्मिने मौका पाएकोमा गौरव गर्नु पर्छ । जन्मिनलाई देश छान्न मिल्दैन । हामीले समृद्ध राष्ट्र बनाउने सङ्कल्प गर्नु पर्छ ।” प्रधानमन्त्रीका यी भनाइ व्यवहारमा रूपान्तरण गराउन सबैले आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्नु पर्छ । सुन्दर संसारको कल्पनासहित रमाइरहेका कलिला मुना अभिभावकको अभाव र चेलीले हिंसाकै कारण नारकीय जीवन जिउनुपर्ने अवस्थाको अन्त्य गर्नु पर्छ ।
हिंसा, शोषण र दुव्र्यवहारबाट सुरक्षित महसुस गर्न पाउनु बालबालिकाको अधिकार हो । हजारौँ बालबालिका हिंसा र दुव्र्यवहारबाट पीडित छन् भने धेरै बालबालिका जोखिममा । बालबालिकाका लागि सुरक्षित स्थान नेपाल भएको सन्देश प्रवाह गर्न पनि यस क्षेत्रमा केही गरेर देखाउनुपर्ने छ । हिंसाको सिकार, बालविवाह, बालश्रम, अनुशासनको अभाव, महिला र बालिकाविरुद्ध हुने यौन हिंसाले नेपाली समाजलाई गम्भीर मात्र बनाएको छैन सचेत र सजग हुनसमेत पाठ सिकाएको छ । अनाथालय र सुधारगृहमा राखिएका बालबालिका पनि सुरक्षित नभएको समाचारले हामीलाई थप सोच्न बाध्य बनाएको छ । हिंसाविरुद्ध प्रहरीमा उजुरी दिँदैमा यस्ता घट्नामा कमी आउँदैन । माइती नेपाल भन्ने संस्थाको एक्लो प्रयासले मात्र यस्ता समस्या न्यूनीकरण होलान् ? समाज र राज्यको पनि यसमा झन् बढी दायित्व छ ।
चेली तथा बालिका बेचबिखनविरुद्ध केही नभएको होइन । हिंसाका घटनामा प्रहरीको बढ्दो उपस्थिति, सरकारी नीति तथा कार्यक्रममा बालबालिकाको संरक्षणप्रतिको बढ्दो चासो, न्यायका क्षेत्रमा विशेष एकाइको स्थापना र बालबालिकासम्बन्धी सूचनामा आएका बढोत्तरीले हिंसाका घटना कम भएका छन् । विमानस्थलमा हेल्प डेस्कको व्यवस्था र सीमा क्षेत्रमा बढ्दो निगरानीले पनि चेली बेचबिखनमा कमी आएको छ । उमेर पुगेपछि मात्रै विवाह गर्ने बढ्दो प्रचलनले पनि चेली थप सुरक्षित भएका छन् । त्यतिले मात्र पर्याप्त हुँदैन । तराईमा दाइजोले निम्त्याएका हिंसा नियन्त्रणमा स्थानीय तह र प्रदेशले विशेष कार्यक्रम ल्याउन आवश्यक छ । न्यायमा बालबालिकाको पहँुच थप सुनिश्चित गर्नु पर्छ । वैदेशिक रोजगारीका नाममा चेलीलाई भारत हुँदै सुटुक्क खाडी पठाउने काम रोक्नु पर्छ । हिंसाका घट्ना रोक्न विभिन्न कार्यक्रम सार्वजनिक गर्नुभन्दा हिंसा हुनै नदिन विशेष सतर्कता अपनाउन जरुरी छ ।