भक्तिविलास पोखरेल
गाईघाट, माघ २ गते । चरनका लागि हिमाली क्षेत्रमा लगिएका भेडा चिसो बढेपछि हिमाली क्षेत्रबाट तल झारिएका छन् । त्यस्तो भेडीगोठ उदयपुरका उच्च पहाडी भेगको जङ्गलमा राखिएका छन् ।
भित्री मधेश र महाभारत शृङ्खलामा अवस्थित उदयपुरमा जाडोको मौसम सुरु हुनासाथ सोलुखुम्बु र ओखलढुङ्गा जिल्लाबाट हरेक वर्ष भेडीगोठ ल्याउने गरिन्छ ।
करिब एक हजार भेडाका मालिक ओखलढुङ्गाको शिद्धिचरण नगरपालिका–५, रुम्जाटारका दुर्गाबहादुर गुरुङले जाडो मौसममा हिमाली क्षेत्रमा चिसो हुने र भेडाका लागि घाँसपातसमेत नपाइने गरेकाले पुसको पहिलो सातादेखि भेडीगोठ झारिएको बताउनुभयो ।
उदयपुरमा सामुदायिक वन क्षेत्रमा राजस्व तिरेर भेडीगोठ राख्ने गरेको भन्दै उदयपुर जिल्लाको कटारी नगरपालिका तथा ताप्ली, लिम्चुङ्बुङ उदयपुरगढी गाउँपालिका क्षेत्रभित्रका तावाश्री, सिरिसे, लिम्पाटार, ओख्ले, नामेटार, आँपटार, लेखानी, हर्देनीलगायतका उच्च पहाडी क्षेत्रको नागीडाँडामा खर्क राखेर वनमाराको घारीमा भेडा चराउने गरिएको गुरुङले बताउनुभयो ।हिउँदमा जन्मेका भेडाका साना पाठापाठी पनि केही यतै बिक्री हुने र बाँकी रहेका ओखलढुङ्गाको रुम्जाटारमा लगेर बेच्ने गरेको अर्का भेडी गोठाला चन्द्रबहादुर गुरुङले बताउनुभयो ।
उदयपुरका सामुदायिक वनका पदाधिकारीले मनपरी पैसा लिएर दुःख दिने गरेको गुनासो गर्दै उहाँले एउटा सामुदायिक वनले चारदेखि पाँच हजारसम्म लिने गरेको सुनाउनुभयो । वनविनाशका कारण विगतको जस्तो चरन क्षेत्र पनि प्रशस्त नभएकाले भेडा चराउने जङ्गलको पनि अभाव हुँदै गएको अनुभव गुरुङको छ ।
त्यसो त भेडा गोठालालाई जस्ले खाने बस्नेको प्रबन्ध गर्छ उसैको बारीमा भेडाको बास राखिदिने चलन पनि छ । यसो गर्दा पहाडी क्षेत्रका कतिपय किसानले आफ्नो जग्गामा बास राख्न दिने गरेको र यसबाट किसानको बारीमा भेडाको मलले गर्दा अन्नबाली सप्रिने गरेको स्थानीय शिक्षिका इन्दिरा रानाले बताउनुभयो ।
खास गरी उच्च पहाडी भेगमा प्रशस्त पाइने कालो वनमारा, अम्रिसो र अन्य प्रजातिका वनस्पतिको बाक्लो झाडी नै भेडाको आहारा भएकाले दिनभर जङ्गलमा चराउने र रातपरेपछि गाउँलेले बस्न दिएको बारीमा र नदिएको अवस्थामा मात्र खर्कमा लगेर बास राखिने भेडी गोठाला चन्द्रबहादुरले बताउनुभयो ।