गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले रोग लागेर उपचार गराउनुभन्दा रोग लाग्नै नदिनेतर्फ लाग्नुपर्ने बताउनुभएको छ । मङ्गलबार १० औँ राष्ट्रिय योग दिवसका अवसरमा राष्ट्रिय योग दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले नेपालमा रोग लागिसकेपछि मात्र उपचार गर्ने चलन रहेको तथ्य राख्दै यस्तो बताउनुभयो ।
“क्यान्सर, मिर्गौलारोग, मुटुरोग लागेर उपचारमा खर्च गर्नुभन्दा रोग लाग्नै नदिन के गर्न सकिन्छ भन्नेतर्फ लाग्नु पर्छ,” स्वास्थ्यमन्त्री पौडेलले भन्नुभयो, “सरकारले उपचारात्मक क्षेत्रलाई व्यवस्थित गर्ने गरी तयारी गरिरहेको छ ।” उहाँले योगले स्वस्थ समाज निर्माण गर्न सिकाउने भन्दै अब उपचार लाग्न नदिनका लागि छुट्टै योग तथा आयुर्वेद अस्पतालको निर्माण गर्नुपर्ने बताउनुभयो । मन्त्री पौडेलले प्रत्येक अस्पतालमा योग र आयुर्वेदको छुट्टै इकाइ स्थापना गर्न नसकिने भन्दै रोग लाग्न नदिनका लागि जनचेतना जगाउने छुट्टै अस्पताल आवश्यक रहेको बताउनुभयो । “हामी निरोधात्मकभन्दा पनि उपचारात्मक सेवामा बढी केन्द्रित छौँ,” मन्त्री पौडेलले भन्नुभयो, “उपचारात्मकभन्दा निरोधात्मकमा लाग्नुपर्ने देखिन्छ ।”
उहाँले नेपाललाई योग पर्यटनका रूपमा विकास गरी संसारमा चिनाउन सकिने बताउनुभयो । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले स्वस्थ रहनलाई योग महत्वपूर्ण रहेको बताउनुभयो । योगलगायतका विषयलाई पाठ्यक्रममा समावेश गर्न सकिने उहाँको भनाइ छ ।