• १ माघ २०८१, मङ्गलबार

‘इन्द्रिय रङ्गहरू’ नेपाली शिक्षाको ऐना

blog

इन्द्रिय रङ्गहरू पुस्तक चेतनाका रङ्गहरू घोलेर लेखिएका समाजका दर्दनाक कथाहरू हुन् । सबाल्र्टन आवाज मिसिएका कथाभित्र एक बालक पुरुषको मनोदशा र त्यसले निर्देश गर्ने मार्गबारे प्रशस्त ज्ञान दिने पुस्तकका रूपमा लेखक तथा शैक्षिक अभियन्ता इन्द्रप्रसाद खाइतुको ‘इन्द्रिय रङ्गहरू’ पुस्तक केही साताअघि मात्र बजारमा आएको हो । आत्मकथा विधाबाट यो पुस्तकलाई सम्बोधन गरे पनि कृति पढ्दा उपन्यास पढिरहेको छु भन्ने आभास गर्न सकिने ‘इन्द्रिय रङ्गहरू’ कृतिमा बाल अधिकारका विषय, विद्यार्थीका मनस्थिति, परम्परागत शैलीमा अध्यापन गराउने विद्यालयहरूको शिक्षण शैली र त्यसले विद्यार्थीको जीवनमा पारेका असर र मुलुकले कस्तो खालको जनशक्ति पाइरहेको छ भन्ने सन्दर्भको आख्यानात्मक शैलीमा चिरफार गरिएको छ । 

खाइतुको यो कृतिले मानिसले बनाएका प्रणालीबाटै मानिस कसरी पीडित बनिरहेका छन् र परम्परावादी समाजले मानिसको अधिकार कसरी किचेका छन् भन्ने सन्दर्भ पाठकसामु जस्ताको तस्तै ल्याउन सफल भएको छ । 

समाजले, परिवारले, जातले र मान्छेले बनाएको प्रणालीले एक पुरुषलाई पनि कसरी लखेट्छन् र त्यस्तो बेला नभागेर, त्यसैबाट पाठ सिकेर जीवनलाई ढुङ्गा फोरेर उम्रेको पिपल बनाएका सन्दर्भ निकै रोचक, कारुणिक रूपमा कृतिमा आएका छन् । समाजमा त्यस्ता इन्द्रप्रसादहरू पनि रहेछन्, जो जहाँ ठक्कर लाग्यो त्यसैलाई अवसरका रूपमा लिएर जीवन सार्थक बनाउने । समाजमा त्यस्ता हजार, लाखौँ र करोडौँ इन्द्रप्रसादहरू छन्, जो जीवनमा यो इन्द्रप्रसादले भोगेको जस्तो जीवन भोग्नुपरेको भए सायद जीवन र रहरहरूबाटै पलायन हुन्थे । 

परम्परा र संस्कृतिको सहर भक्तपुर । रीतिरिवाजप्रधान सहर भक्तपुर । त्यही भक्तपुरको किसान परिवारमा जन्मिएका भक्तपुरका रैथाने इन्द्रप्रसाद खाइतु । जसले पीडालाई नै जीवनका रङ्ग बनाए । असफलताभित्र पनि रङ्ग भरेर जीवन दर्शन बनाए । संसारका हरेक मानिसमा फरक फरक क्षमता हुने दर्शनलाई लिएर आफ्नै जीवनमा घोलेका इन्द्रिय रङ्गहरू नयाँ पुस्ता माझ रङ्ग्याउन सफल भए । मान्छेले बनाएका ‘थेसिस’ भित्र गएर ‘एन्टिथेसिस’ हरू जन्माए र जीवनलाई सार्थक बनाए । यो पुस्तक तिनै कठिन दिन र सफलताका कथा समेटिएको पुस्तक हो । 

हरेक परिस्थिति र अवस्थितिलाई चेतनाको ढुङ्गोमा राखेर व्यवहारको मदानीले मथेर जीवनलाई रहरलाग्दो बनाए । समाजमा जात, रीतिरिवाज, समाज र सिस्टमहरूले बनाएको नजिरहरू भत्काएर मानव जीवनका लागि उपयोगहीन व्यवस्थाहरूलाई वैचारिक, वस्तुगत, परम्परागत, ऐतिहासिकलगायत सङ्ग्रहालयमा मात्र सीमित राख्नुपर्नेमा पुस्तकले जोड दिएको छ । युग अनुसार मानिस चल्न सिक्नुपर्ने चेतनाका रङ्गहरू यस पुस्तकमा पोटिएका छ । परम्परावादी प्रणाली र सोचले महिला मात्र होइन, पुरुषहरू पनि कति प्रताडित हुन्छन् भन्ने एक गतिलो र उदाहरणीय पुस्तक हो इन्द्रिय रङ्गहरू । 

एक क्षितिजबाट हजार क्षितिज छुन सक्न चेतनाका रङ्ग बोकेका इन्द्रप्रसाद खाइतुको यो पुस्तकले पाठकलाई मनोरञ्जन मात्र दिने छैनन्, जीवन र जगत् बुझाउने छ । समाजशास्त्रमा विद्यावारिधि गर्दै गरेका खाइतुको यो कृति पनि सामाजिक दृष्टिकोण र शैक्षिक दृष्टिकोणबाट बजारमा आएको छ । विद्यालय र विद्यार्थीबिचको सन्तुलनका विषयदेखि शैक्षिक प्रणाली सुधारका सुझाव, समाज र शिक्षाको सम्बन्धको सेतुको रूपमा इन्द्रिय रङ्गहरू पाठकमाझ आएको छ । यस अर्थमा ‘इन्द्रिय रङ्गहरू’ नेपाली शिक्षा क्षेत्रको एक ऐना हो भन्न सकिन्छ । 

बालबालिकालाई विद्यालयमा तनावरहित शिक्षाको परिकल्पना मात्र हैन, परिकल्पना गरेका कार्यलाई साकार गरेर व्यावहारिक रूपमै शिक्षा क्षेत्रमा पनि योगदान गरिरहनुभएका खाइतुको यो कृति विशेष गरी नेपाली शैक्षिक जगत्का लागि महìवपूर्ण हुने देखिन्छ ।     

मधुपर्क