रङ्गेली समाचारदाता
विराटनगर, माघ १ गते । विराटनगर–१८ स्थित एकीकृत जाँच चौकी (आइसिपी) लाई कोशी राजमार्गसँग जोड्ने ‘लिङ्क रोड’ चार लेनमा विस्तार गर्ने योजना अन्तिम चरणमा पुगेको छ । आइसिपी क्षेत्रसँगै कार्गो रेलको नेपाल कस्टम यार्ड रहेको छ । कार्गो रेलमार्फत आयात हुने सामान ढुवानीका लागि आइसिपीदेखि कोशी राजमार्गसम्मको दुरी ४.४ किलोमिटर छ ।
दुई लेनको सडकबाट सामान ढुवानी गर्ने ठुला मालवाहक सवारी आवतजावतमा असहज हुँदै आएपछि यसको विस्तार योजना अगाडि बढाइएको हो ।
विराटनगर (रानी–धरान) कोशी राजमार्ग छ लेनमा विस्तार भइसकेको छ । औद्योगिक कच्चा बोकेर आउने मालवाहक सवारीसाधन साबिक रानी भन्सार क्षेत्रभन्दा पाँच किलोमिटर पूर्व आइसिपीमा सरेपछि सडक विस्तारको आवश्यकता परेको हो ।
कार्गो रेल सञ्चालनमा देखिएका उल्झन हल भएपछि मालवाहक लोड भएका ट्रलीसहितका सवारी आइसिपीमा भन्सार जाँचपास गराएर कोशी राजमार्गसम्म आउनुपर्ने हुन्छ ।
कोशी राजमार्ग अन्तर्गत विराटनगर–१४ को हनुमान मन्दिरदेखि आइसिपीसम्मको सडक विस्तार कार्यका लागि वातावरणीय अध्ययन प्रतिवेदन तयार पारेर स्थानीयसँग छलफलसमेत गरिसकिएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिनुभयो । ‘कनेक्टिङ रोड’ विश्व बैङ्कको सहयोगमा विस्तार गरिने कार्यकारी निर्देशक गजुरेलले जानकारी दिनुभयो ।
“ठेक्काको चरणमा प्रवेश गर्नुपूर्वका काम भइरहेका छन्, १८ महिनामा सम्पन्न गर्ने गरी अब ठेक्का लगाउने छौँ” कार्यकारी निर्देशक गजुरेलले भन्नुभयो, “मुख्य योजनाका रूपमा रहेको लिङ्क रोडसहित आइसिपीभित्र गोदाम, पार्किङसहितका संरचनासमेत यसै अन्तर्गत बन्ने छन् ।
विराटनगर महानगरपालिकाको १४, १७ र १८ नम्बर वडा क्षेत्रमा पर्ने यो सडक विस्तारसँगै मालवाहक सवारी र बस्तीका बासिन्दाको आउजाउ सहज हुने संरचनासमेत आवश्यक रहेको स्थानीयले माग गरेका छन् । बारम्बार दुर्घटना हुने जोखिम न्यूनीकरण गर्नका लागि अन्डर पासिङ रोड, ओभर ब्रिज र डुबानको समस्या निराकारणका लागि निकासको व्यवस्था मिलाउनुपर्ने स्थानीय दिनेश यादवको सुझाव छ । केही समयअघि स्थानीयसँग परामर्शदाता कम्पनीले आयोजना गरेको सार्वजानिक सुनुवाइमा स्थानीयले सडक विस्तारपछि सडकबत्ती, पानीको निकास, अन्डर र ओभर व्रmसिङ संरचनासमेत राखिनुपर्ने माग गरेको आइसिपी सञ्चालन गर्दै आएको ट्रान्स नेपालका लक्ष्मी सुब्बाले जानकारी दिनुभयो ।
इन्टरमोडलका कार्यकारी निर्देशक गजुरेलले स्थानीयको सुझावका आधारमा थप गर्नुपर्ने आवश्यक देखिएका संरचनासहित यकिन लागत तयार पार्नुपर्ने सम्भावना रहेकाले यति नै लागत भन्ने अवस्था नरहेको बताउनुभयो ।
विराटनगरको रानी–इटहरी–धरान हुँदै सङ्खुवासभाको किमाथाङ्कासम्मको सडकलाई त्रिदेशीय व्यापारिक मार्गका रूपमा चिनिन्छ ।