शेरबहादुर राई
ओखलढुङ्गा, पुस २९ गते । ओखलढुङ्गाको रुम्जाटारमा रहेको यातायात व्यवस्था कार्यालयको सेवा हर्कपुरमा पनि विस्तार हुने भएको छ । करिब पाँच वर्षदेखि सिद्धिचरण नगरपालिका–४ रुम्जाटारमा सञ्चालित कार्यालयको सेवा अब जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेल हर्कपुरमा पनि विस्तार हुने भएको हो ।
गत पुस १९ गते बसेको मन्त्रीस्तरको बैठकले हर्कपुरमा सम्पर्क कार्यालय स्थापना गरी सवारी अस्थायी रुट परमिट जारी र ब्लुबुक नवीकरण सेवा विस्तार गर्न यातायात व्यवस्था कार्यालय रुम्जाटार ओखलढुङ्गालाई पत्राचार गरिएको छ । हाल रुम्जाटारमा रहेको कार्यालयबाट मध्यपहाडी लोकमार्गमा चल्ने सवारी साधन तथा सिद्धिचरण लोकमार्ग सोलुखुम्बु–कटारी साथै काठमाडौं जाने सवारीहरुलाई सवारीसम्बन्धी सेवा प्राप्त गर्न अपायक परेको साथै प्रदेशको राजस्व प्राप्तिसमेतलाई विचार गर्दै हर्कपुरमा सेवा विस्तार गर्ने निर्णय भएको पत्रमा उल्लेख छ ।
भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर, सिन्धुली र रामेछाप जिल्लाका सवारी धनीहरुलाई सेवा लिन तथा बाटो इजाजत पत्र लिन सहज सरल र सुलभ हुने साथै सोबाट राजस्वसमेत बढी सङ्कलन हुने विश्वास गरिएको कार्यालयले जनाएको छ । यातायात व्यवस्था कार्यालय ओखलढुङ्गाको मुख्य कार्यालय रुम्जाटारमा रहने गरी हर्कपुरमा सम्पर्क कार्यालय स्थापना गर्न पत्रमा भनिएको भए पनि स्थानीयले कोशी प्रदेश सरकारले रुम्जाटारबाट यातायात व्यवस्था कार्यालय हटाउने तयारी गरेको भनी आशङ्का गरेका छन् । सरकारको निर्णयविरुद्ध नागरिक आन्दोलित भएका छन् ।
बिना कारण कार्यालय सार्ने चलखेल रोक्न र निर्णय सच्याउन माग गर्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय र यातायात व्यवस्था कार्यालयमार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । हर्कपुरमा सम्पर्क कार्यालय स्थापना गरी सवारीसम्बन्धी सेवा विस्तार गर्नका लागि पत्र प्राप्त भएको यातायात व्यवस्था कार्यालय ओखलढुङ्गाका प्रमुख शम्भु शाहले बताउनुभयो । पत्र अनुसार सवारीलाई अस्थायी रुट परमिट जारी र ब्लुबुक नवीकरणको सेवा हर्कपुरबाट प्रदान गर्ने गरी सेवा विस्तार हुन लागेको प्रमुख शाहले जानकारी दिनुभयो । रुम्जाटारबाट कार्यालय हटाउने विषयमा आफूलाई जानकारी नभएको प्रमुख शाहको भनाइ छ ।
हाल यस कार्यालयमार्फत सवारीलाई अस्थायी रुटपरमिट जारी, रजिष्ट्रेशन पास, ब्लुबुक नवीकरण, सवारी चालक अनुमति पत्र जारी तथा नवीकरण लगायतको सेवा प्रवाह भइरहेको छ । मध्यपहाडी र सिद्धिचरण लोकमार्गमा गुड्ने भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर, सिन्धुली र रामेछाप जिल्लाका सवारी धनीहरुलाई हर्कपुरबाट सेवा लिन सहज हुने विश्वास गरिएको छ ।
कोशी प्रदेशका पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री अम्बीरबाबु गुरुङको पहलमा ओखलढुङ्गामा यातायात व्यवस्था कार्यालय स्थापना भएको थियो ।