• २९ पुस २०८१, सोमबार

नाला र सडक निर्माणप्रति स्थानीयको असन्तुष्टि

blog

पत्रकार सम्मेलनमा आफ्नो भनाइ राख्दै स्थानीय । तस्बिर : नवराज कट्टेल

रङ्गेली समाचारदाता

विराटनगर, पुस २९ गते । मोरङको बुढीगङ्गा गाउँपालिका–१, टङ्कीसिनवारी चोकदेखि पूर्व सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३ गणसम्मको सडक विस्तारसँगै निर्माण हुन लागेको नालाको विषयलाई लिएर स्थानीयले असन्तुष्टि जनाएका छन् । सडक डिभिजन कार्यालय विराटनगरले पहिलो चरणको निर्माण ठेक्का लगाएको योजनाले स्थानीयवासी बाढी तथा डुबानबाट पीडित हुनुपर्ने भन्दै उनीहरूले पानीको निकास व्यवस्थापन गर्न आग्रह गरेका हुन् । 

स्थानीयले टङ्कीसिनवारीदेखि जम्मा भएको पानी दुई किलोमिटर पूर्व रहेको खदरा (खोल्सा) मा झार्ने गरी सडकमा आरसिसी ड्रेन निर्माण गर्न लागेकोमा विरोध जनाएका छन् । स्थानीय सरकार बुढीगङ्गा गाउँपालिकाले डुबान नियन्त्रणका लागि बस्तीको पानी खदरामा निकास गरेर सिङ्घिया खोलामा मिसाउने योजना अगाडि सारेको थियो । सोही योजना अनुरूप सङ्घीय सरकार अन्तर्गतको सडक डिभिजन कार्यालयमार्फत स्रोत सुनिश्चित गरेर ठेक्का आह्वान भएको हो तर स्थानीयले भने सडकसँगै निर्माण हुने आरसिसी ड्रेनको निकास खदरामा मिसाउन नहुने माग गरेका हुन् । 

सडक तथा नालाको उपभोग गर्ने सेवा क्षेत्रका बासिन्दाले भने खदरामार्फत सिङ्घियामा पानी पठाउँदा त्यसले नदी तटीय क्षेत्रमा बाढीको जोखिम हुने बताएका छन् । उनीहरूले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर सडकसँगै निर्माण हुने ड्रेनमा निश्चित स्वार्थ समूह हाबी भएको आरोप लगाएका हुन् । 

पत्रकार सम्मेलनमा स्थानीय सुनिल क्षेत्रीले सरकारको योजना कार्यान्वयनमा आउनुअगाडि उपभोक्तासँग कुनै परामर्श नलिएको, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारी तथा वातावरणीय प्रभाव मूल्याङ्कन नगरी काम थालिएको आरोप लगाएका छन् । उनीहरूले यदि ड्रेन बनाएर पानी खदरा हुँदै सिङ्घियामा मिसाउने हो भने नदी तथा खदरामा तटबन्ध पहिले गरिनुपर्ने माग अगाडि सारेका छन् । अर्का स्थानीय भक्तबहादुर कटवालले खदरा तथा सिङ्घिया खोला तटीय क्षेत्रका बासिन्दा बर्सेनि बाढीको जोखिममा परिरहेका बेला दुई किलोमिटरदेखिको पानी मिसाउँदा झन् जोखिम हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “आरती स्ट्रिप्स र सूर्य नेपालको इच्छा अनुसार यो काम स्थानीय सरकारको पहलमा भइरहेको छ । बस्ती जोगाउने कि उद्योगको इच्छा अनुसार योजना बनाउने ?”

सडक डिभिजन कार्यालय विराटनगरका इन्जिनियर एवं सूचना अधिकारी शीतल पराजुलीका अनुसार टङ्कीसिनवारी चोकपूर्व योजनाका लागि एक करोड रुपियाँ बजेट व्यवस्थापन भएको छ । यो बजेटमध्ये ५५ लाख १९ हजार ८७९ रुपियाँमा ठेक्का लागेको हो । चालु आर्थिक वर्षका लागि गत पुस ८ गते ठेकेदार कम्पनी विश्व वैभव कन्सल्टेन्सी कन्स्ट्रक्सन एन्ड सप्लायर्ससँग सम्झौता भएअनुसार २०८२ असार २४ गतेसम्ममा तोकिएका निश्चित काम सम्पन्न गर्नुपर्ने छ । जसमा सडकका लागि आवश्यक संरचना बन्ने छन् । इन्जिनियर पराजुलीका अनुसार कलभटसहित प्लमवाल २९३ मिटर, एजिङवाल २९० मिटर, आरसिसी ड्रेन २९५ मिटर, ह्युमपाइपसहितका कार्य रहेका छन् । चालु आर्थिक वर्षमा बजेटले भ्याए जति काम गरेपछि आगामी वर्ष त्यसमा अस्फाल्ट कालोपत्रेको कार्य गर्ने योजना राखिएको हो । उहाँले भन्नुभयो, “सडक चौडा बनाउने संरचना यस आर्थिक वर्षका लागि निर्माण तोकिएका छन् । बाँकी कामका लागि आगामी वर्षका योजनामा समेटिने लक्ष्य छ ।” 

स्थानीयले भने सडक विस्तार गर्दा त्यहाँको पानी निकासका लागि दुई किलोमिटर पूर्वको खदरामार्फत सिङ्घिया खोलाको विकल्पमा कोशी राजमार्गको नालामा मिसाउनुपर्ने माग गरेका हुन् । सडक निर्माण बिन्दु टङ्कीसँगै जोडिएको हाइवेमा दुई किलोमिटर पूर्व रहेको सशस्त्र बेस क्याम्पदेखिको पानीको निकास जोड्नुपर्ने भन्दै स्थानीयले गाउँपालिकामा ध्यानाकर्षण गराएका छन् । 

बुढीगङ्गा गाउँपालिकाका १ का वडाध्यक्ष सोमराज काफ्लेले भने बस्तीको पानीको निकास राजमार्गको नालामा मिसाउन सम्भव नरहेको दाबी गर्नुभयो । उहाँले राजमार्गको पानीको निकास खोलामार्फत खोज्नुपर्नेमा बस्तीको पानीको निकास राजमार्गमार्फत गर्ने भन्ने माग नै सही नभएको जिकिर गर्नुभयो । वडाध्यक्ष काफ्लेले भन्नुभयो, “सेवा क्षेत्रका बासिन्दाले सडकसँगै निर्माण हुने नालाको विषयलाई लिएर गुनासो गर्नु विकास चाहिँदैन भन्नु मात्रै हो । खदरामार्फत सिङ्घिया खोलामा पानीको निकास लैजाँदा बस्तीलाई असर गर्दैन ।”

 वडाध्यक्ष काफ्लेले निर्माण योजना राजमार्गपूर्व रहेको भए पनि स्थानीयवासीले राजमार्ग पश्चिमको केशलिया खोलामा पानीको निकास गर्नुपर्ने माग गर्दै आएको बताउनुभयो । यो अस्वाभाविक र असम्भव माग हुने उहाँको दाबी छ । निर्माणाधीन योजनादेखि दुई किलोमिटर दुरीमा सिङ्घिया खोला रहेको छ भने राजमार्ग क्रस गरेपछि पश्चिमतर्फ पाँच किलोमिटर दुरीमा केशलिया खोला रहेको छ । 

कोशी राजमार्ग छ लेनमा विस्तार हुँदा यसको उचाइ बस्तीभन्दामाथि गरिएको छ । जसका कारण उत्तर–दक्षिण राजमार्गको नालामा पूर्व–पश्चिम बस्तीका लागि निर्माण भएका सडकका नालाबाट पानीको निकास हुन नसक्दा बर्सातमा सधैँ डुबान हुँदै आएको छ । बुढीगङ्गामा औद्योगिक क्षेत्रको पानीसमेत समेटिएर बर्सातको समयमा विराटनगरको उत्तरी क्षेत्रका वडासमेत डुबानमा पर्दै आएका छन् । निर्माणाधीन ड्रेनसहितको सडक योजनाले बस्तीको पानी खोलामा पु-याउने लक्ष्य राखिएको दाबी स्थानीय सरकारको छ ।