विश्वविद्यालयहरू शिक्षाको उच्च स्तरका संस्था हुन्, जसलाई ज्ञान उत्पादनको केन्द्र, आविष्कारको जननी, प्राज्ञिक कर्मथलो, आर्थिक विकासको कडी र सामाजिक न्यायको प्रतीकका रूपमा लिइन्छ । नेपालमा अधिकांश विश्वविद्यालयमा बृहत् सुधारको आवश्यकता छ । यी संस्थाहरू तीव्र रूपमा बदलिँदो समाज, नयाँ प्रविधि, र बदलिँदो श्रम बजारको माग अनुरूप सान्दर्भिक हुन सकिरहेका छैनन् । विश्वविद्यालयलाई वर्तमान समाजसापेक्षित र युगानुकूल बनाउनका लागि सुधारका केही महत्वपूर्ण सूत्रहरू प्रस्तुत गरिएको छ, जसले उच्च शैक्षणिक एवं प्राज्ञिक संस्थालाई विश्वसनीय, प्रतिस्पर्धी र प्रभावकारी बनाउन योगदान पुर्याउन सक्छ ।
पाठ्यक्रम सुधार र अद्यावधिक
पाठ्यक्रमको सुधार नै विश्वविद्यालय सुधारका लागि पहिलो कदम हो । समयसापेक्षित पाठ्यक्रम बनाउनु र समयको आवश्यकता अनुसार पाठ्यक्रमलाई अद्यावधिक गर्नु आवश्यक छ । पर्यटन, कृषि उद्योग, व्यवसाय र प्रविधिको नयाँ प्रवृत्ति र आयामलाई समेटेर विषयवस्तु तयार गरिनु पर्छ । यसले विद्यार्थीलाई सिर्जनशील, कर्मठ, उत्तरदायी, प्रतिस्पर्धी र व्यावहारिक बनाउँछ । वर्तमान शिक्षाको पाठ्यक्रम सक्षमतामा आधारित भएर पनि अपेक्षित प्रतिफल प्राप्त हुन सकेको छैन । आगामी दिनमा आउन सक्ने चुनौती सामना गर्ने गरी, नयाँ कुरा सिक्ने र आफूलाई चिन्नेतर्फ केन्द्रित गरी अवको पाठ्यक्रममा परिमार्जित गर्नु पर्छ । साथै विद्यार्थीमा मानवीयता, नैतिकता, पूर्वीय दर्शन, आत्मानुभूति, सिर्जनात्मकता र विकासलाई विशेष ध्यान दिँदै परिमार्जन गर्नु पर्छ । पाठ्यक्रम साधन र साध्य दुवै हुनाले यसलाई सशक्त बनाएर त्यसैका आधारमा पढ्ने पढाउने गर्नु पर्छ । खास गरी प्राविधिक, कृषि, विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितका क्षेत्रमा अपडेट गरिएको पाठ्यक्रमले विद्यार्थीलाई उद्यमशीलतामा समेत प्रोत्साहित गर्न सक्छ ।
अनुसन्धानमा जोड
अनुसन्धान व्यवस्थित तथा वैज्ञानिक रूपमा नयाँ ज्ञानको खोजी गर्ने विधा हो । शिक्षा, स्वास्थ्य, विज्ञान प्रविधिको विकासको आवश्यक हेतु विश्वविद्यालयको प्रमुख उद्देश्य अनुसन्धानपरक हुनु पर्छ । अहिलेको परिप्रेक्ष्यमा कतिपय विश्वविद्यालयले अनुसन्धानलाई प्राथमिकता दिन सकेका छैनन् । समग्रमा यसको सुधारता र नवीन आयामका साथ गतिशील, सृजनात्मक र तथ्यपरक अनुसन्धान प्रवर्धन गर्न विद्यार्थी र प्राध्यापकलाई प्रोत्साहन र सहजीकरणको व्यवस्था गर्नु पर्छ । सामाजिक, गुणात्मक, परिणात्मक र गुणस्तरीय अनुसन्धानका लागि स्रोतसाधनमा विश्वविद्यालयले मात्र नभएर राज्यले समेत लगानी बढाउनु पर्छ । अनुसन्धान नै नयाँ ज्ञानको जननी भएकाले यसमा सुधार गर्ने प्रक्रियामा अनुसन्धानलाई विशेष ध्यान दिनुपर्ने हुन्छ ।
प्राज्ञिक स्वतन्त्रता
विश्वविद्यालयलाई स्वतन्त्र र स्वायत्त संस्थाका रूपमा लिइन्छ । वर्तमान परिप्रेक्ष्यमा विश्वविद्यालयका शैक्षिक र प्रशासनिक क्षेत्रमा राजनीतिक हस्तक्षेप अत्यधिक मात्रामा नै हुने गरेको छ, जसले गर्दा विश्वविद्यालयको स्वतन्त्रता र प्राज्ञिक क्षमतामा कमी आउनुका साथै प्राज्ञिक संस्थाहरूको गरिमा माथि नै प्रश्न उठ्ने गरेको छ । विश्वविद्यालय जस्तो प्राज्ञिक केन्द्रलाई सुधारका लागि प्राज्ञिक स्वायत्तता अनिवार्य एवं अत्यावश्यक छ । प्राज्ञिक स्वायत्तताको अर्थ यो हो कि – विश्वविद्यालयले आफ्नो पाठ्यक्रम निर्माण, अनुसन्धान, नियुक्ति र प्रशासनिक काममा स्वतन्त्र निर्णय लिन पाउनु पर्छ । यसले विश्वविद्यालयलाई प्राज्ञिक क्षेत्रमा स्वतन्त्र निर्णय गर्न र शैक्षिक गुणस्तर सुधार्न सहयोग पुर्याउँछ । यसका लागि राज्यले नै सहयोग गर्नु पर्छ ।
विद्यार्थी केन्द्रित शिक्षा
सिकाइमा अभिप्रेरणाको ठुलो भूमिका हुन्छ । शिक्षण सुधार गर्न विद्यार्थी केन्द्रित शिक्षामा जोड दिनु पर्छ । जसले सिकारुमा अध्ययन गर्ने भोकको जागरण गराउन सक्नु पर्छ । परम्परागत व्याख्यानमूलक शिक्षण पद्धतिको साटो अन्तर्क्रियात्मक, प्रयोगात्मक र समस्या समाधानमुखी शिक्षण पद्धति अपनाउनु आवश्यक छ । विद्यार्थीले आफ्ना प्रश्न सोध्न, विचार प्रस्तुत गर्न र नयाँ सिप सिक्न प्रोत्साहित हुनु पर्छ । यसका लागि प्राध्यापकलाई समय समयमा गोष्ठी, तालिम, अन्तर्क्रिया, प्राज्ञिक सभा इत्यादिमा सहभागी गराई विद्यार्थीलाई आकर्षित गर्ने तरिकामा सुधार गर्न सकिन्छ ।
प्रविधिको नवीन प्रयोग (डिजिटलाइजेसन)
प्रविधिको साधनमा र प्रयोगमा भएको पहुँचले व्यक्ति तथा संस्थालाई अगाडि बढ्न अग्रसर बनाउँछ । आजको युगमा प्रविधिको महत्व बढ्दै गएको छ । विश्वविद्यालयले यसलाई उच्च शिक्षामा सामेल गर्नुपर्ने आवश्यकता छ । अनलाइन कक्षा, डिजिटल स्रोत, स्मार्ट कक्षा, र अनलाइन पुस्तकालयले शिक्षामा नयाँ ढङ्गबाट पहुँच बढाउन मद्दत गर्छ । साथै, विश्वविद्यालयको प्रशासकीय कामलाई डिजिटल बनाउने, डेटा व्यवस्थापनलाई आधुनिक बनाउने जस्ता कदमले विश्वविद्यालयको कार्यक्षमतामा सुधार ल्याउन सक्छ । डिजिटलाइजेसनले खोज, अध्ययन, अनुसन्धान तथा सूचना पहुँचमा सरलता ल्याउँछ, जसले गर्दा विद्यार्थी र प्राध्यापकलाई समय र श्रम बचत गर्न मद्दत पुर्याउँछ ।
विश्वविद्यालय–उद्योग सहकार्य
विश्वविद्यालय सुधारका लागि विश्वविद्यालय र उद्योगको सहकार्य आवश्यक छ । त्यस्ता चुनौतीको समाधानका लागि उद्योग र विश्वविद्यालयबिच सहकार्य गर्दा पक्कै पनि नयाँ बाटो खुल्ने छ र यसबाट अन्य क्षेत्र पनि साझेदारीका लागि प्रेरित हुन्छ । संयुक्त अनुसन्धान परियोजनामा सहकार्य गर्ने, उद्योगहरूबाट प्राप्त व्यावहारिक अनुभवसहितको पाठ्यक्रम विकासमा काम गर्ने, विद्यार्थीलाई इन्टर्नसिपहरू र कम्पनीहरूमा काम गर्ने अवसर सिर्जना गर्ने तथा नयाँ प्रविधिको व्यावसायीकरणका लागि उद्योगहरूमा हस्तान्तरण गर्ने व्यवस्था मिलाउनु पर्छ ।
प्राध्यापकको क्षमता विकास
क्षमता विकास गर्ने भनेको ज्ञान, सिप र सकारात्मक सोच (नलेज, स्किल एन्ड एट्टिच्युड) वेष्टित हुनु हो । ज्ञानले के गर्ने भन्ने बुझाउँछ । सिपले कसरी गर्ने भन्ने सिकाउँछ । सकारात्मक सोचले ज्ञान र सिपको प्रयोग गर्न सदा तत्पर बनाउँछ । यस अर्थमा विश्वविद्यालयमा सुधारका लागि प्राध्यापकहरूको भूमिका महत्वपूर्ण हुन्छ । उक्त ज्ञानलाई अभ्यास गर्न चाहिने सिप बहाल हुन जरुरी छ । ज्ञान र सिप प्रयोग गर्न सदा तत्पर भइरहन सकारात्मक सोचको जरुरी छ । उनीहरूको शैक्षिक गुणस्तर र सिपमा सुधार गर्न प्रशिक्षण, सभा, गोष्ठी र कार्यशाला कार्यक्रम आयोजना गर्न आवश्यक छ । शिक्षणमा नयाँ प्रविधिको प्रयोग, अनुसन्धानमा लाग्ने क्षमताको विकास र अन्तर्राष्ट्रिय स्तरको जानकारी प्राध्यापकलाई गराउनु पर्छ ।
अनुगमन तथा मूल्याङ्कन
नियमित अनुगमन र मूल्याङ्कन विश्वविद्यालय सुधारका लागि महत्वपूर्ण हुन्छ । वार्षिक क्यालेन्डर, शैक्षिक कार्यकलाप, पाठ्यक्रम, प्राध्यापकको गतिविधि, विद्यार्थीको रुचि अरुचि र प्रशासनिक प्रक्रियाको मूल्याङ्कन गरिनु पर्छ । यस्ता गतिविधिले विश्वविद्यालयको कमजोर पक्ष पत्ता लगाएर सुधारका लागि योजना नीति कार्यक्रम तथा परियोजना कार्यक्रम कार्यान्वयन गर्ने उत्तरदायित्व वहन गर्छ ।
अन्तर्राष्ट्रिय सहकार्य
गुणस्तरीय शिक्षा प्रवर्धन गर्न विश्वविद्यालयले अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सहकार्य गर्न सकेमा शिक्षामा नवप्रर्वतन गर्न सक्छ । यसले शैक्षिक क्षेत्रमा देखिएका बहुआयामिक चुनौतीलाई समेट्छ । यसका लागि विद्यार्थी र प्राध्यापकलाई अन्तर्राष्ट्रिय अध्ययनका अवसर दिनु, संयुक्त अनुसन्धान कार्यक्रम सञ्चालन गर्नु र अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी गराउनु सुधारका लागि आवश्यक कदम चाल्नु पर्छ, यसले प्राध्यापक र विद्यार्थीलाई अन्य देशका प्रध्यापक र विद्यार्थीसँग अनुभव साट्न, ज्ञान सक्षमता साटासाट गर्ने अवसर दिन्छ ।