• २८ पुस २०८१, आइतबार

बाढीपहिरोका कारक ‘क्रसर’ आफूखुसी चलाइए

blog

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ मा चलालगणेशस्थानमा बाढीपहिरोपछि पुनः सञ्चालन भएको क्रसर उद्योगमा निर्माण सामग्री लिन लामबद्ध टिप्पर ।

केदार तिमल्सिना 

बनेपा, पुस २८ गते । बाढीपहिरोका कारण बन्द गरिएका काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका र बेथानचोक गाउँपालिकामा रहेका खानी तथा क्रसर उद्योग प्रशासनको अनुमतिबेगर पुनः सञ्चालन भएका छन् । बन्द भएका खानी तथा क्रसर उद्योग सञ्चालनका लागि जिल्ला सुरक्षा समितिले निर्णय गर्नुपर्ने भए पनि समितिको निर्णयबिना नै खानी तथा क्रसर उद्योग पुनः सञ्चालन भएका हुन् । 

असोज दोस्रो साता अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण जिल्लाको पनौती नगरपालिका, बेथानचोक गाउँपालिका, नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकामा रहेका दजनौँ खानी तथा क्रसर उद्योग बन्द भएका थिए । विज्ञले बाढीपहिरोका मूल कारक तिनै ढुङ्गाखानी तथा क्रसर उद्योगलाई मानेका थिए । 

बाढीपहिरोपछि विशेष गरी पानीको विशेष स्रोतहरू रहेको पनौती नगरपालिकामा ‘खानी कि पानी’ भन्ने बहस नै सुरु भएको थियो । पनौती नगरपालिका क्षेत्रभित्र बाढीपहिरोपछि खानी कि पानी भन्ने बहस भइरहेको अवस्थामा प्रशासनको स्वीकृतिबेगर खानी तथा क्रसर उद्योग पुनः सञ्चालन भएपछि नागरिकमा प्रशासनको मिलेमतो र आडमा खानी सञ्चालन भएको आशङ्का उत्पन्न भएको छ । 

बन्द अवस्थामा रहेका खानी तथा क्रसर उद्योग पुनः सञ्चालन भएर भारवाहक साधनहरू ‘ओभरलोड’ बोकेर गुड्दासमेत जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय मूकदर्शक बनेका छन् । बन्द गरिएका उद्योग अनुमतिबिना नै सञ्चालन हुँदासमेत जिल्ला सुरक्षा समितिलगायतका सम्बन्धित निकायले बन्द गर्न सकेका छैनन् । 

गत कात्तिक १४ गते प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले गैरकानुनी रूपमा सञ्चालित ढुङ्गा तथा क्रसरबाट बर्सातका बेलामा ठुलो धनजनको क्षति भएको व्यापक जनगुनासो आएकाले अवैध रूपमा सञ्चालन भएका ढुङ्गा र क्रसर उद्योग बन्द गराउने निर्णय गरेको थियो । 

जिल्लामा सञ्चालित अधिकांश खानी तथा क्रसर उद्योगले सरकारले तोकेको न्यूनतम मापदण्डसमेत पूरा गरेका छैनन् । कात्तिक १४ गतेकै सुरक्षा समितिको बैठकले निर्माण सामग्री बोकेका ओभरलोड ट्रक/टिप्परका कारण राजमार्गमा दुर्घटना बढेको, सडक जाम तथा सडकको अवस्था बिग्रिएको जस्ता जनगुनासो आएकाले सुरक्षा निकायले कडाइका साथ अनुगमन गर्ने/गराउने निर्णय पनि गरेको थियो तर अहिले पनि जिल्लामा ओभरलोड बोक्ने क्रम रोकिएको छैन । खानी तथा क्रसर उद्योग पुनः सञ्चालन हुनु र ओभरलोड नियन्त्रण नहुनुले प्रशासन र व्यवसायीको मिलेमतो रहेको आशङ्का गरिएको छ । 

अनुगमन समितिको निर्णय कार्यान्वयन भएन 

असोज दोस्रो साता आएको बाढीपहिरोपछि जिल्ला समन्वय प्रमुख तथा जिल्ला बजार अनुगमन समितिका संयोजक दीपककुमार गौतमको अध्यक्षतामा गत कात्तिक ६ गते बसेको समितिको बैठकले बाढीपहिरो प्रभावित स्थलको भौगर्भिक अध्ययन गराई उक्त अध्ययन प्रतिवेदनको आधारमा खानी तथा क्रसर सञ्चालन गर्ने निर्णय गरेको थियो । समितिको बैठकले बाढीपहिरोपछि खोलाको बहावले धार परिवर्तन गरेको, बस्तीहरू जोखिममा परेको, वरिपरिका भूभागसमेत भत्किएको/बगाएको/पहिरो गएको, डस्ट (धुलो) र गेग्य्रानले खोलाहरूको सतह बढेको उल्लेख गर्दै हालको अवस्थामा बस्ती, खानी, खोला वन क्षेत्र भौगर्भिक अवस्थालगायत सरोकार राख्ने सबै पक्षमा गम्भीर एवं विस्तृत अध्ययन गर्नुपर्ने भएकाले अध्ययनका लागि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

अनुगमन समितिले भौगर्भिक अध्ययनको प्रतिवेदनका आधारमा खानी तथा क्रसर सञ्चालन गर्ने वा बन्द गर्ने विषयमा निर्णय गर्ने भने पनि अध्ययनअगावै खानी तथा क्रसर उद्योगहरू आफूखुसी सञ्चालन भएका छन् । समितिको बैठकले जिल्लाभित्र रही सञ्चालनमा रहेका तर दर्ता नभएका, नवीकरण नभएका, उद्देश्य एवं स्थान फरक पारेका, स्टक प्रमाणित नभएका र कच्चा पदार्थको स्रोत नखुलेकालगायतका विविध विषयमा क्रसर तथा खानी उद्योगको स्थलगत अनुगमन गर्ने/गराउने भने पनि समितिले अहिलेसम्म त्यस्ता उद्योगको अनुगमनसमेत गर्न सकेको छैन । 

अवैध खानी तथा क्रसर बन्द गरिन्छ 

बाढीपहिरोपछि बन्द गरिएका खानी तथा क्रसर पुनः सञ्चालनको विषयमा अनभिज्ञता प्रकट गर्दै जिल्ला समन्वय प्रमुख गौतमले अवैध रूपमा सञ्चालन भएका खानी तथा क्रसर बन्द गरिने बताउनुभयो । “अहिलेसम्म उद्योग सञ्चालन विषयमा आधिकारिक जानकारी छैन, यदि समितिको आँखा छलेर आफूखुसी उद्योग सञ्चालन भएको पाइएमा त्यस्ता उद्योग बन्द गरिने छ,” समन्वय प्रमुख गौतमले थप्नुभयो । 

यसै गरी प्रजिअ ढकालले बाढीपहिरोको एउटा कारणमा खानी तथा क्रसर उद्योग रहेकाले अवैध रूपमा सञ्चालन भएका खानी तथा क्रसर उद्योग बन्द गर्ने बताउनुभयो । “बाढीपहिरोपछि बन्द भएका खानी तथा क्रसर उद्योग पुनः सञ्चालनको विषयमा कुनै जानकारी छैन, प्रशासनको आँखा छलेर अवैध उद्योग सञ्चालन भएका छन् भने ती उद्योग बन्द गरिने छ,” प्रजिअ ढकालले भन्नुभयो । 

स्थानीय तहको आफ्नै गुनासो 

पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारीले खानी तथा क्रसर उद्योग सञ्चालनको विषय पेचिलो बन्दै गएको बताउनुभयो । उहाँले खानी विभागले खानी तथा क्रसर उद्योगको स्वीकृति, नवीकरण र राजस्व सङ्कलन गर्ने भएकाले क्रसर उद्योग पुनः सञ्चालनमा नगरपालिकाको कुनै संलग्नता नरहेको प्रस्ट पार्नुभयो । 

नगरप्रमुख भण्डारीले नगरपालिकालाई दोष दिएर आफूखुसी रूपमा बन्द अवस्थामा रहेका खानी तथा क्रसर पुनः सञ्चालन गरिएको बताउनुभयो । बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जिल्ला प्रशासन कार्यालय, खानी विभागले तोकेको मापदण्ड, दर्ता, नवीकरण, राजस्व तिरेका उद्योग सञ्चालन गर्ने निर्णय अनुसार दुई वटा उद्योग सञ्चालन भइरहेको बताउनुभयो । काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानीय तहमा गरी हाल ४५ वटा खानी तथा व्रmसर उद्योग सञ्चालनमा छन् । ती उद्योगले पालना गर्नुपर्ने सामान्य मापदण्डसमेत पालाना गरेका छैनन् । दुई वर्षअघि जिल्ला समन्वय समितिले कार्यदल नै बनाएर जिल्लामा रहेका खानी तथा क्रसर उद्योगको अनुगमन गर्दा यहाँ सञ्चालित खानी तथा क्रसर उद्योग न्यूनतम मापदण्डसमेत पालना नगरेको निष्कर्ष निकालेको थियो ।