चन्द्र पन्दाक
ताप्लेजुङ,पुस २७ गते। ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लाग्ने शनिबारे हाट यसपटक तरुलको बजार झैं बनेको छ। मकर (माघे) सङ्क्रान्तिको सङ्घारमा लागेको शनिबारे हाट तरुल किनबेच गर्नेका कारण तरुलको बजार झैं बनेको हो।
सदरमुकाम फुङ्लिङको तोक्मेडाँडास्थ्ति हटिया लाइनमा हप्ताको प्रत्येक शनिबार हाट लाग्ने गर्दछ। स्थानीय उपज (उत्पादनका वस्तु) बिक्री केन्द्रका रूपमा रहेको शनिबारे हाट यसपटक तरुलमय बनेको हो। तरुलको पर्वका रूपमा लिइने माघे सङ्क्रान्ति अर्थात् माघ १ गते आउने मङ्गलबार हो। माघे सङ्क्रान्ति अघिको अन्तिम शनिबार भएकाले हाटमा तरुल खरिद बिक्री गर्नेको भीड लागेको हो।
ग्रामीण भेगका किसानले उत्पादन गरेको विभिन्न प्रजातिका तरुल हाट बजारमा पुर्याएर बिक्री गर्ने गर्दछन्। गाउँका किसानले उत्पादन गरेको तरुल अर्गानिक हुनुका साथै स्वादिष्ट पनि हुने भएकाले गाउँबाट आएको तरुल बजारवासीको रोजाइमा पर्ने गरेको छ। सदरमुकाम बजारवासीसँगै तरुल खेती नलगाउने गाउँका सर्वसाधारणसमेत हाटमा गएर तरुल खरिद गर्ने गर्दछन्। यसरी यसपटकको शनिबारे हाटमा तरुल बिक्री गर्ने र खरिद गर्नेको भिडभाड रहेको थियो।
यता यसवर्ष तरुलको मूल्यभने विगतका वर्षभन्दा महङ्गो भएको उपभोक्ताले बताएका छन्। मकर सङ्क्रान्ति अर्थात तरुल खपत हुने मुख्य मौसममा तरुल मूल्य महङ्गिएको उपभोक्ता बताउँछन्। उपभोक्ताका अनुसार शनिबारे हाटमा प्रतिकिलोग्राम न्युनतम् ८० देखि २०० रुपियाँ सम्ममा तरुलको कारोबार भएको छ। मकर सङ्क्रान्ति मनाउनलाई महङ्गो मूल्य लगाएरै भए पनि तरुल किन्न बाध्य हुनु परेको उपभोक्ताको भनाइ छ।
हाटमा बिक्री गर्न ल्याइएको तरुलको मूल्य स्थानीय व्यापारी र उत्पादक किसान आफैँले तोक्ने अर्थात निर्धारण गर्ने गर्दछन्। तरुलको जात र प्रजातिअनुसार मूल्य फरक-फरक हुने गरेको व्यापारी तथा किसानको भनाइ रहेको छ। हाट बजारमा घरतरुल, पताले तरुल, सिँदुरे तरुल, सिमले, स्कुसको तरुल र पिँडालुजस्ता तरुलका प्रजाति बिक्री गर्ने गरिएको छ। जिल्लामा व्यावसायिक तरुल खेती नहुने गरेकाले पनि चाडपर्वका समयमा मूल्य हुने गरेको बताइन्छ।