• २७ पुस २०८१, शनिबार

नयाँ पुस्तालाई थप निराश बनाउनु हुँदैनः मन्त्री पाण्डे

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे

काठमाडौं, पुस २७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नयाँ पुस्तालाई थप निराश बनाउन नहुने बताउनुभएको छ । शनिबार काठमाडौंमा नेपाल शैक्षिक परामर्श सङ्घको १९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री पाण्डेले अहिले पनि दक्ष जनशक्तिहरू नेपालमै केही गरौँ भन्ने ध्येयले स्वदेशमै स्वरोजगार बनि बसिरहेको बताउनुभयो । उहाँले देशभित्र पनि केही हुन्छ भन्ने आत्मविश्वास नयाँ पुस्तामा जागृत गर्न जरुरी रहेको औंल्याउनुभयो ।

उहाँले देश रित्तो भयो भन्ने नकारात्मक भाष्य नयाँ पुस्तामा सम्प्रेषण गर्न नहुने बताउनुभयो । युवालाई देशभित्र बस्नका निम्ति वातावरण बनाउनुपर्ने उहाँको भनाइ छ ।

‘‘यति ठुलो जनशक्ति तपाईंहरू देशभित्रै हुनुहुन्छ । देशभित्र पनि एउटा आत्मविश्वासका साथ रहनुभएको छ । सबै एक सय एक क्षमता भएको व्यक्ति हुनुहुन्छ । विदेश नै गएर बस्नसक्ने क्षमता राख्नुहुन्छ । तर यही ठाउँमा उभिएर यहाँकै नयाँ पुस्तालाई सहजता प्रदान गरौँ भन्ने अठोट राख्नुभएको छ । अहिले थुप्रै विद्यार्थी बाहिर जानुभएको छ । यसलाई नकारात्मक भाष्यका रूपमा देश रित्तो हुने भयो भन्ने भाष्यका रूपमा अघि बढाएका छौँ । त्यसका राम्रा र नराम्रा पाटा मूल्याङ्कन र समीक्षाको विषय हो । हामी त्यसलाई ठिक बाटो तय गर्नेछौँ ।,’’ मन्त्री पाण्डेले भन्नुभयो, ‘‘तर नकारात्मक भाष्य मात्रै सम्प्रेषण गरेर हामीले थप नयाँ पुस्तालाई निराश बनाउनु हुँदैन । बाहिर जाने कुरा दुनियाँभर भइरहेको छ । यो विश्वव्यापीकरणको परिणामको रूपमा भइरहेको छ । यसमा चिन्ता गर्नुपर्ने छैन । यसमा नेपालले के फाइदा लिनसक्छ त्यसमा ध्यान दिनुपर्छ । त्यो पनि देशको विकासका लागि आवश्यक छ । देशभित्र बस्ने अठोट, देशभित्र बस्नका निम्ति आस्था सञ्चार गर्ने अठोट लिनुपर्छ ।’’

पर्यटनमन्त्री पाण्डेले विद्यार्थीलाई देश चिनाउने माध्यम बनाउन सकिने बताउनुभयो ।