काठमाडौं, पुस २७ गते । सभामुख देवराज घिमिरेले राष्ट्रलाई समृद्ध बनाउन शिक्षा महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।शनिबार काठमाडौंमा नेपाल शैक्षिक परामर्श सङ्घको १९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले समाजलाई अगाडि लैजान, राष्ट्रलाई समृद्ध बनाउन, राष्ट्रिय एकतालाई खँदिलो बनाउन, राष्ट्रको संस्कार, संस्कृतिलाई विकास गर्न र मानव जातिलाई उन्नत ठाउँमा लैजान शिक्षा महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
सभामुख घिमिरेले भन्नुभयो, ‘‘शिक्षालाई अगाडि लैजाने सन्दर्भमा नै यो इक्यान स्थापना भएर आजसम्म काम गरिरहेको छ । समाज जस्तो बन्छ, वा समाजलाई सञ्चालन गर्ने राजनीति जस्तो हुन्छ, मुलतः शिक्षा त्यसबाट निर्देशित हुन्छ । तर शिक्षाको विकास, शिक्षाको गुण, शिक्षाका लक्ष्य जस्ता हुन्छन्, समाज त्यस दिशामा जानसक्छ, लैजाने कामहरू गरिन्छ । त्यो सन्दर्भमा राजनीतिलाई शिक्षाले ठिक दिशमा लैजाने महत्त्वपूर्ण भूमिका खेल्छ ।’’
सभामुख घिमिरेले समाज र समाजलाई सञ्चालन गर्ने राजनीतिअनुसार नै मुलतः शिक्षा निर्देशित हुने बताउनुभयो । उहाँले शिक्षाको विकास, शिक्षाको गुण, शिक्षाका लक्ष्यअनुसार नै समाजको दिशा निर्देशन हुने जानकारी दिनुभयो । उहाँले शिक्षालाई माध्यम बनाएर नेपालीहरू जीविकोपार्जनका लागि विदेश जाने गरेको बताउनुभयो । शिक्षालाई व्यवहारिक र जीवन उपयोगी बनाउन जरुरी रहेको औंल्याउनुभयो । उहाँले नेपाललाई शिक्षाको हब बनाउने गरी अघि बढ्नुपर्ने बताउनुभयो ।
सभामुख घिमिरेले भन्नुभयो, ‘‘शिक्षा समाजलाई अगाडि लैजानका लागि, राष्ट्रलाई समृद्ध बनाउनका लागि, राष्ट्रिय एकतालाई खँदिलो बनाउनका लागि, राष्ट्रको संस्कार, संस्कृतिलाई विकास गर्नका लागि वा मानव जातिलाई उन्नत ठाउँमा लानका लागि एउटा महत्त्वपूर्ण विषय हो । त्यस रूपबाटै शिक्षाको विकास हुने गर्दछ ।’’
सभामुख घिमिरेले स्वरोजगारका अवसरहरू नहुँदा नेपाली विद्यार्थी बाहिरी देशमा गइरहेको बताउनुभयो ।