कबिराज घिमिरे
हिले, पुस २७ गते । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा धरानबाट धनकुटासम्म एकीकरण पद मार्गमा पदयात्रा गरिएको छ । नेपाली सेनाको आयोजनामा धरानस्थित फुस्रेबाट धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित साँगुरीगढीसम्म पदयात्रा गरिएको हो ।
साँगुरीगढी एउटा त्यो थलो हो जो नेपाल एकीकरण ताका एकिकरणका नायक राजा पृथ्वीनारायण शाहका सेनाका कमान्डर अभिमानसिंह बस्नेतले वि.सं १८३१ मा साँगुरीगढीमा गोर्खाली फौज पठाई नियन्त्रणमा लिएर त्यहिबाट उत्तर र पूर्वतर्फ एकीकरण अभियानको सुरुवात गरिएको थियो । त्यस्तै कोशी राजमार्ग बन्नु अघिसम्म पहाडी क्षेत्रका नागरिकको नुनतेल लिनलाई धरान जाने मुख्य नाका पनि हो ।
यसैलाई आधार मानेर भिमदल गण सल्लेरी धनकुटाको संयोजनमा धरानदेखि करिब ३ किलो मिटर उकालो यात्रा गरेको हो । साँगुरीगढी पुगेपछि विभिन्न नाच तथा कार्यक्रम आयोजना गरिएको थियो। त्यस्तै सो मार्गको बारेमा समेत जानकारी गराइएको थियो । यात्रा आइतबार धनकुटाको पाख्रिवास पुगेर समाप्त हुनेछ ।
कार्यक्रममा प्रमुख अतिथी श्रीनम्बर दुई बाहिनी अड्डा हिलेको बाहिनीपति दिल बहादुर सुब्बाले पुर्खाहरूको योगदान भुल्न नहुने बताउनुभयो । उहाँले यो एकीकरण मार्ग संरक्षणका लागि नेपाली सेना सधैँ लागिरहने बताउनुभयो ।
पुर्खाहरूले देश जोगाउन तथा देश बनाउन गरेको योगदानबाट धेरै कुरा सिक्नुपर्ने समेत बताउनुभयो । त्यस्तै अतिथि साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुदाली राईले यसलाई इतिहास र पर्यटनसँग जोड्नु पर्ने र त्यसका लागि पालिकाले पहल गरिरहेको बताउनुभयो । बृहत् पदयात्रामा धनकुटा र धरानका गरी दुई सय बढी विभिन्न सरोकारवालाहरू, पर्यटन व्यावसायी र स्थानीय बासिन्दा तथा नेपाली सेनाको सहभागिता रहेको थियो ।
त्यस्तै एकीकरण दिवसको उपलक्ष्यमा साँगुरीगढीमा तोप स्थापना समेत गरिएको छ । इतिहास जोगाउन तथा पर्यटकन प्रवर्धन गर्न तोप राखिएको हो ।