• २७ पुस २०८१, शनिबार

भग्नावशेष हुनुअघिको प्रहर (कथा)

blog

मुलुकमा कुन्नि कताबाट समय पस्छ । अनि सुलुलु बग्न थाल्छ । तपाईलाई लाग्ला, के अनौठो भयो र भनेर । हैन, अनौठै हो, किनभने यस समयले आफ्ना बाबुआमा, दाजुदिदी भन्न सकिने पहिलाका समयलाई भगाइसकेको छ । अनि आफू मात्र यताको यात्रामा आइपुगेको छ ।

समय बग्दै छ । बाटामा एक अधबैँसेलाई लछारपछार गरिँदै गरेको दृश्य देखा पर्छ । लछारपछार गर्ने व्यक्तिहरू पहिरनले विद्यार्थी भन्ने स्पष्टै बुझिन्छ । 

समय जिज्ञासा राख्छ, “के भो ?”

“पढे पनि बिदेसै जाने हो, नपढे पनि बिदेसै जाने हो । यसले शिक्षक भएँ भन्दैमा १० थरी अर्ती उपदेश दिएर हैरानै पार्‍यो क्या । आफ्नै देश बनाउनु प्रत्येक विद्यार्थीको दायित्व रे,” एउटा बोल्छ ।अर्को झन् सुरिन्छ, “हामी विद्यार्थीलाई योग्य बनाउन देशले लगानी गरेको छ रे । पैसा खनखन्ती गनेर तिर्ने बेला हाम्रा ममीड्याडले... देशको लगानी हुन्छ कहीँ ? यस्तो फटाहा पनि टिचर हुन्छ ?”

“अनि तिमीहरूकै आमाबाबुका पैसा पनि त त्यसै खर्च गरिदिने त ?” समयलाई झोक चलेकै हो । 

छाती फुलाउँदै सब विद्यार्थी एकसाथ पड्कन्छन्, “ममीड्याडले हाम्रै लागि कमाइदिएको त हो नि ।”  

लौ ! अब यस्तो पनि हुने भयो । ठान्दै समय अघि बढ्छ ।  दुई युवा उभिएको देखिन्छ, सडकमै, तानातान गर्दै । एक युवती, एक युवक । युवक भन्दै छ, “मेरो मायामा के कमी छ र तिमी त्योसित लाग्दै छौ ?”

“कमी ?” युवतीले एक पल्ट भएभरको हेलाको पोको नै युवकको छातीतिर हुत्याइदिएर भन्न थाल्छे, “विदेश लैजान नसक्ने तिमी जस्ता हुतीहारासित कसले जिन्दगी बिताउने नि ? उसले त मलाई चाँडै उडाउँदै छ युरोप । अनि उसलाई माया किन नगर्ने मैले ?”

समयले अब एक पल्ट सडकबाट ध्यान हटाएर दायाँबायाँ खेततिर ध्यान पुर्‍याउँछ । पाउँछ, मलिलो माटो तर बाँझै । अलि पर वन देख्छ, त्यहाँ जडीबुटी देख्छ । सबै रोइरहेका । मान्छे एउटै देख्दैन । बरु सबै एकेक वटा पोको बोकेर विमानस्थलतिर दौडँदै गरेको पो देख्छ । समय न हो, देख्न सक्दो हो, वर्तमानमा हो कि भविष्यमा, यो यहाँ बताउन सकिन्न । 

बरु अति भएर हो कि समयले कुनै भलाद्मीको आकृति धारण गरेर कतै भन्दै गरेको देखिन्छ, “यहीँ यतिका स्रोत छन् । तिनमा इलम गरेर फलाऊ फलहरू । यति त विदेशमा पनि त अर्का लात सहँदै गर्छौ त । आफ्नै देशका यस्ता विभिन्न कुराको अधिकतम उपयोग गरेर आफैँ मालिक बन्ने प्रयत्न किन गर्दैनौ तिमीहरू ?”

“आफू त हस् साब भन्ने हो । यस्ता बकम्फुसे कुरा बुझ्दिनँ,” एउटाले भन्छ । 

“यसो गर्न सजिलै दिन्छ त यहाँ ? बाह्य शक्तिले हामीलाई आफ्नै खुट्टामा उभिन नदिन के केसम्म गर्न सक्छ, थाहा छैन ?” अर्काले उल्टै प्रश्न गरिदिन्छ ।

आक्रोशसहितको प्रश्न तेस्र्याउने व्यक्ति पो बढ्न थाल्छ, “बाह्य शक्तिको कुरा पछि, पहिला त यहीँ तेछारिने तगाराहरूलाई कसरी पन्छाउने ?” 

समयलाई नै बुझ्न समय लाग्दैन, अब रिँगटा लाग्दै छ भनेर । बेला बेला विभिन्न मानवाकृतिमा देखा पर्ने समयलाई परिचित ठानेरै होला, बाटैमा एक जनाले रोक्तै भन्छ, “बल्लतल्ल छोराले भिसा पायो । अब जीवन आनन्दले बित्छ । नत्र छोरो मोरो यहीँ तरकारी सरकारी फलाउँदै कुहिन्थ्यो । लौ लाउनुस् मिठाई ।” मिठाई हातमा राखिदिएर हिँड्छ ।  निल्नु न ओकल्नु भइरहेको बेला समयको हातमा अर्का एक जना पनि हौसिँदै आएर मिठाईको बट्टै थमाइदिन्छ । समयले हेर्छ, व्यक्ति निकै उज्यालिएको छ, मानौँ त्यसले संसारै प्राप्त गरेको छ । भुइँमा खुट्टै नभएसरी उफ्रँदै भन्छ पनि, “थाहा छ ? मेरो छोराले पिआर पायो नि ।”

– “मतलब, तपाईंको छोरा अर्काको देशका विधिवत् नागरिक भयो !” 

“हजुर ।” त्यसले यस्तरी शिर अलि निहुर्‍याउँदै भन्छ, मानौँ त्यसका छोराले जीवनमा ठुलै पुरुषार्थ गरिरहेको होस् । अनि त्यससित अन्य कुराका लागि फुर्सतै छैन क्यार, नाच्दै परतिर जान्छ, मिठाई बाँड्न । 

कुन्नि के झोक चल्छ, समय फेरि विमानस्थलको मुख्य द्वारमै पुग्छ अनि विमानतिर जान लागेका एक जनालाई तान्ने प्रयास गर्छ, “तिमी पनि ?”

“अँ, म पनि ।” उत्तर आउँछ । 

“तिम्रो त यहाँ सबै राम्रो छ त । फेरि किन जान पर्‍यो विदेश ?” समय आश्चर्यको सीमा छुँदै सोध्छ ।

“के हुन्छ र यहाँ ?” आश्चर्यको सीमा झन् तन्काइदिन्छ । –“बिस्र्यौ तिम्रा पुर्खाले कस्तरी पुर्‍याए यस देशका लागि योगदान ?” यो प्रश्न भुइँमा खस्नै नपाई उत्तरको थप्पड आइपुग्छ, “हामी हाम्रा बाबुबाजे जस्तै मूर्ख हौँ र ? तिनीहरू लाछी भएर पो यहाँ सडेर बसे ।”

सुनेर समयलाई भने रन्को छुट्न थालिहाल्छ । तिलमिलाउँदै आफ्नो अन्तर्दृष्टि प्लाट्ट खोल्छ । तब देख्छ, यहाँका मानिसहरूले उपभोग गर्ने खानेकुरादेखि अन्य चिजबिज । झट्ट थाहा पाइहाल्छ, ती अधिकांश कुरा विदेशबाटै आइपुगेका । खानेकुरामा पोषक तत्व कमीको कुरा छाडिदिऊँ, विषादीको पनि कुरा छाडिदिऊँ, अर्को एउटा तत्वको पनि मिश्रण गरिएको सहजै देख्छ । आत्मविश्वासप्रतिरोधी तत्व । 

त्यसै बेला वातावरणले पनि आएर समयलाई खिसिक्क हाँसेर जिस्क्याउन थाल्छ ।  

आजित भएर ऊ देशका जिम्मेवार व्यक्तिसित जिज्ञासा राख्न पुग्छ, “देशमा यो के हुन लागिरहेछ ? यतिका जग्गाजमिन बाँझै छन्, युवाशक्ति भने बिदेसिरहेछन् ।” 

बेफिक्रीको सिन्काले दाँत कोट्याउँदै उत्तर आउँछ, “यसले दुई किसिमको फाइदा हुन्छ देशलाई नै । एकातिर ठुलो मात्रामा रेमिट्यान्स भित्रन्छ, अर्कातिर रोजगारी देऊ भनेर खनखन गर्न कोही आउँदैन । अरू पनि हामीलाई थुप्रै फाइदा छन् जुन भन्न मिल्दैन, धेरै कचकच गर्न नआऊ ।”

“लौ अब नसकिने भइयो बा ! भन न तिमी पनि ।” खेतबारी, वनजङ्गल, खोलानालाले चिच्च्याई चिच्च्याई भने झैँ लाग्छ समयलाई पनि । 

अगाडि हेर्छ ।  भर्खरै अवतरण गरेको विमानबाट हाम्रो हरिराज निस्कन्छ । एकातिर जीवनकै ठुलो जितको उपलब्धि जस्तो मुस्कान छर्दै अर्कातिर विदेशबाट ल्याइएका खित्रिङमित्रिङ सामानको फुइँ छर्दै ।

वरिपरि हेरेर आफ्ना पुराना चिरपरिचितलाई देख्नासाथ एकपल्ट ठुलो अट्टहास गर्छ, मानौँ बाबुबाजेले गर्न नसकेको पौरख गरेर आएको छु जस्तो, “आई एम ह्यारी...।” अनि अनौठो हाँसो मिल्काएर वरिपरि घोच्ने पौरख देखाउन थाल्छ ।  

त्यसै बेला, अरूले देख्छ देख्दैन थाहा छैन तर समयले चाहिँ देख्छ– विदेशी पनि मुसुमुसु हाँसेर आउँदै छ, उसकै पछि पछि । अनि त्यसले सगरमाथाको शिखरमै पुगेको भावका साथ आफ्नो छाती पिटेर देखाइरहेका हरिराजलाई फुकिदिन्छ– फु...। 

यो के ? हरिराज त हत्तपत्त हावामा अड्याइएका सिसैसिसाको मूर्ति पो भएछ कि कुन्नि, एकैपल्ट चकनाचुर हुन पुग्छ– चल्र्यामचुर्लुम !   

Author

किशन थापा ‘अधीर’