हामी नेपाली म एक हिन्दु हाम्रो संस्कृति रीतिरिवाज संस्कार अनुसार पुर्खादेखि चलिआएका चलन, हाम्रा पितृहरूको उद्वार गर्ने हेतुले भारतका पूर्व–पश्चिम, उत्तर–दक्षिण चारै दिशामा रहेका तीर्थहरूको भ्रमण र विभिन्न देवीदेवताका मन्दिरमा गई दर्शन गर्ने परिपाटी रहेको छ । सोही परिपाटी अन्तर्गत भारतको उत्तराखण्डस्थित चारधाम यात्राको मनसायले २०७० साल जेठमा २५ जनाको समूह त्यसतर्फ काठमाडौँबाट प्रस्थान गर्यौँ । चारधाम भन्नाले यमुनोतरी, गङ्गोत्तरी, केदारनाथ र बद्री विशाल भन्ने जनाउँछ । उक्त तीर्थहरूमा जानुपर्दा भारतकै हरिहर क्षेत्र, पुन पुन, गया, बोधगया, बनारस, प्रयाग विन्ध्याचल पर्वत, वृन्दावन, गोकुल, मथुरा, हरिद्वार, ऋषिकेश आदि तीर्थाटन गर्दै देहरादुन, गढवाल, चम्वा, उत्तरकाशी, स्यानाचट्टी, हनुमानचट्टी, जानकी चट्टी हुँदै जानकी चट्टीबाट छ किलोमिटर पैदल यात्रा गरी पहिलो धाम यमुनोत्री पुग्यौँ । हाम्रो संस्कार अनुसार माथिका सबै तीर्थमा स्नान दान तर्पण र कतै कतै पितृका लागि श्राद्धकर्म गर्दै गर्दै गएका थियौँ ।
केदारनाथको यात्रालाई विशेष रूपमा केन्द्रित गर्न खोजेकाले अन्य तीर्थहरूको विस्तृत रूपमा राख्न चाहिन । यमुनोत्रीबाट फर्केर हनुमान चट्टी, उत्तरकाशी, नालापानी हुँदै गङ्गोत्री पुग्यौँ । त्यहाँ पनि स्नान, दान, तर्पण गरी फर्केर उत्तरकाशी, श्रीनगर, रुद्रप्रयाग हुँदै गौरीकुण्ड पुग्यौँ । गौरीकुण्डबाट भगवान् केदारनाथको यात्रा सुरु हुन्छ । हामीसँग निश्चित तोकिएको रकम लिई बसमा जाने हामी सबैका लागि फुडिङ र यात्राको सम्पूर्ण व्यवस्था विनोद दबाडीले गर्नुभएको थियो । बाटोबाटोमा खाँदै साँझमा बास बस्दै रमाइलोसँग गौरी गौरीकुण्ड पुग्यौँ । गौरीकुण्डबाट सात किलोमिटरमा रामवाँडा र रामवाँडाबाट सात किलोमिटरमा केदारनाथको मन्दिर पर्ने रहेछ । सबै उकालो र सागुरो बाटो, समुद्री सतहबाट ११ हजार ७५५ फिट उचाइमा हिमवत् खण्डमा रहेको केदारनाथ पुग्न जो कोहीलाई हम्मे पर्ने रहेछ । तसर्थ हामीले गौरीकुण्डमा बास नबसी रामवाँडामा बास बस्ने सल्लाह गर्यौँ । सक्नेले पैदल जाने नसक्नेले भरियाद्वारा बोकाएर वा घोडामा जाने सल्लाह भयो । म र मेरी पत्नी निर्मलामा म सामानसहित घोडामा जाने र ऊ पैदल जाने निधो गरी उकालो लाग्यौँ । घोडा लाग्ने स्थानबाट एक जना अधिकारी थरका वृद्ध र म पनि घोडामा सवार भयौँ । हामी दुई जना रामवाँडामा पुगी चिया खाँदै साथीहरूलाई पर्खिरह्यौँ । घोडाले रामवाँडा सम्मको भाडा भारतीय ६०० लिँदो रहेछ । सानो बजार भए पनि यात्रुको खाँचो पूरा गर्न सक्ने किराना लत्ता कपडा चिया पसलहरू र दुई चार वटा लज पनि भएकाले बस्नलाई सुविधा पुग्न नै ठानेको थियौँ । हामी केही चाँडै पुगेकाले म बस्ने व्यवस्थाका लागि लजको खोजीमा निस्केँ तर सुविधायुक्त लजहरू बुक भइसकेका हुँदा रहेछन् । बुक गर्नेवाला आएनन् भने दिउँलाभन्दा रहेछन् ।
कामदार घोडावाला सबै जसो पश्चिम नेपालका र नेपालीभाषी गढवाली भएकाले नेपाली भाषा बोल्न कुनै कठिनाइ देखिएन । पैदल जाने साथीहरू रामवाँडामा पुग्दा झमक्क साँझ परिसकेकाले अन्यत्र खोज्नतिर नलागी एउटा सामान्य चिया रेस्टुरेन्टमा नै सुत्ने प्रबन्ध गर्न लगाइयो । रोटी तरकारी खाई त्यो रात दुःख सुखले त्यही कटाइयो । दिनको उज्यालोमा लजहरूका कामदारहरू हामी कहाँ बस्नुहोस् भनी खोज्न पनि हिँडेको देखियो । रामवाँडाबाट भोलिपल्ट बिहान सबेरै उठी नित्य अनिवार्य कर्म गरी चिया पिएर अघिल्लो दिनसँगै जाने वृद्ध यात्रु र म घोडा खोजेर भारतीय सात सय रुपियाँप्रति घोडाको भाडा दिने गरी ५ बजे केदारनाथ मन्दिरतर्फ प्रस्थान गर्यौँ । बिहान ८ बजे केदारनाथ मन्दिर परिसरमा पुगी साह्रै जाडो भएकाले पहिले भेटिएको चिया पसलमा बसी हामी दुई जनाले चिया खायौँ । हिँड्न सक्ने र चाँडै नै हिँड्नेहरू केही साथी हामीभन्दा पहिले नै पुगिसकेका रहेछन् भने बाँकी अन्य हामी पुगेको करिब एक घण्टापछि पुगे । नेपालीको धर्मशाला रहेछ । बुढा मानिसलाई धर्मशालाभित्र लगेर कम्बल ओढेर बस्ने प्रबन्ध गरी सोही धर्मशाला बाहिर रहेको मन्दाकिनी प्रवाहित धारामा स्नान गरेर पवित्र भई पूजा सामान ठिकठाक पारेर केदारनाथ दर्शनको लागि लाइन बस्दै गर्दा पछाडि जाने साथीहरूले पनि भेटाई सँगै लाइन बसेर दर्शन गर्यौँ । तत्पश्चात् पितृ मोक्षका लागि धर्मशालामा आई त्यहाँका पण्डितबाट सामूहिक रूपमा श्राद्ध कार्य सम्पन्न गर्यौँ । परापूर्वकालदेखि चलेको चलन अनुसार केदारनाथ मन्दिरको दक्षिणपट्टि रहेको हंशकुण्डमा पिण्ड सेलाउने कार्य गरी मृतक आफन्तहरूको कपडा त्यहीँ सेलाउने कार्य सम्पन्न गर्यौँ । पूजाआजा र तर्पण श्राद्धको काम सम्पन्न गरी स्थानीय बजारमा रहेको एक होटेलमा गई खाना खाई फर्कने तरखरमा लाग्यौँ ।
जमिनका देवता केदारनाथ
भारतको उत्तराखण्डको हिमालयन श्रेणीमा पर्ने गढवाल क्षेत्रमा अवस्थित बाह्र ज्योतिर्लिङ्गमध्येको एक हो केदारनाथ । समुद्र सतहबाट तीन हजार ५८३ मिटरको उचाइमा मन्दाकिनी नदीको समीपमा रहेको सो मन्दिर ऋषिकेशबाट २२३ किलोमिटरमा पर्छ । केदारनाथको अर्थ जमिनका देवता भन्ने लाग्छ । महाभारतका नायक पाण्डव भगवान् शिवजीलाई खोज्दै जाँदा भैँसीको रूपमा गुप्त काशीमा भेटेपछि भैँसी त्यही नै लुक्न खोज्दा भीमसेनले पुच्छरमा र अगाडिको खुट्टामा समातेर तान्दा शिवजी अन्तध्र्यान भई भैँसीको शरीर केदारनाथमा र टाउको नेपालको डोलेश्वरमा आएर ज्योतिर्लिङ्ग भएर बसेको किंवदन्ती छ । कतै कतै भैँसीको ढाड केदारनाथमा, खुट्टा टुङ्गानाथमा, अनुहार रुद्रनाथमा र नाइटो मध्यमहेश्वरमा, कपाल कल्पेश्वरमा देखापरि पञ्चकेदारका नामले पनि चिनिने रहेछन् । पहिले पाण्डवहरूले केदारनाथको स्थापना गरेको र आठौँ शताब्दीमा आदि शङ्कराचार्यले मन्दिर निर्माण गरेको भन्ने इतिहास भेटिन्छ । केदारनाथको स्थापनापश्चात् पाण्डवहरू महापन्थतिर लागेको किंवदन्ती रहेको छ ।
भगवान् केदारनाथको मन्दिर परिसर साह्रै सुन्दर, घरहरू देवालयहरू बजार होटेल धर्मशाला आदिले भरिपूर्ण र उत्तरतर्फ हिमाल, छेवै ओरालोमा वेगले बगेकी मन्दाकिनी नदीलाई छोडेर हामी फर्किने क्रममा लाग्यौँ । सिमसिम पानी पर्न लागिसकेको थियो । हामी सबैसँग काठमाडौँबाट लगेको प्लास्टिकका काम चलाउ बर्साती थिए । अघिल्लो दिन जस्तै बुढा मान्छे र म घोडामै फर्किने भयौँ । सरकारी दररेट भारतीय १२ सय भए पनि १४ सय तिरेर हामी फर्किने भयौँ । प्लास्टिकको बर्सातीले आफू र सामान रहेको ब्याग बचाउन हम्मेहम्मे पर्यो । हामी गौरीकुण्डस्थित गाडी रहेको पार्कमा आइपुग्यौँ । हामीमध्ये विराटनगर निवासी अधिकारी थरका पाँच जना भोलिपल्ट फर्कने भनी केदारनाथमै बास बस्नुभयो । कोही गौरीकुण्डस्थित होटेलमा बास बस्नुभयो । हामीले खाना खायौँ र बसमै सुत्यौँ । दिनभरको थकाइ, दर्के पानीको भिजाइ, काम चलाउ खाना, बसको सिटको सुताइ जोसुकैले पनि यस्तो असुविधाको कल्पना गर्न सक्छ ।
असहज र असुरक्षित परिस्थितिको तब ज्ञान भयो जब हामी रहेको बस नजिकै मन्दाकिनी नदीले कटान गर्दै छेउछेउका कार जिप पिकअपहरू लडाउँदै बगाउँदै गरेको देख्यौँ । हाम्रो पनि होस उड्ला झैँ भयो । ड्राइभरलाई उठाएर बस सुरक्षित स्थानमा लैजान भन्यौँ । सबै आतङ्कित भएका थियौँ, तत्काल ड्राइभरले गाडी फर्काएर सुरक्षित स्थानमा ल्याए । केदारनाथमै बसेकाहरूलाई पर्खन सम्भव थिएन । होटेलबासीहरू आइपुग्नुभएपछि हामी फर्केर आई रुद्रप्रयागको सीतापुरमा आई गङ्गापुर लजमा बस्यौँ । केदारनाथवासीलाई पर्खनु थियो । अनि बद्रीनाथ जाने बाटोतर्फ पनि ठाउँ ठाउँमा बाटो बिग्री बस अगाडि बढाउन सम्भव नभएकाले पनि त्यहाँ बस्नु परेको थियो । सीतापुर बजार सानो तर हजारौँ यात्रु त्यही अलपत्र परिरहेकाले खाद्य सामग्री बजारमा पाउन सकिएन । त्यत्तिकैमा नेपालबाट नै गएको अर्को यात्रु बस सोम प्रयागको सडकमा राखेकोमा बाढीले सडक र सडकको छेउको घरसमेत बगाएर लगेछ । त्यो बसका करिब सात जना यात्रु हराएका रहेछन् । १२/१५ जना यात्रु हाम्रै बसबाट फर्किने गरी लजमा आइपुगे । तिनीहरूलाई पनि हाम्रै समूहमा मिलाउनुपर्ने भयो । मन्दाकिनीले पहाडै बगाएर ल्याएपछि होटेलवालाले कोठा छोडेर सुरक्षित स्थानमा जान हामीलाई उर्दी दियो । त्यसको करिब आधा घण्टापछि पहाडसमेत पास भइसकेकाले कोठामा फर्कन पाउने भयौँ र गएर बस्यौँ । आफूले लगेका चिउरा दालमोठ बिस्कुटहरू जस्ता खाना खाएर भोक मेटायौँ । ७२ घण्टाको अविरल वर्षाको कारणले भएको बाढीले गरेको क्षतिको जति जति जानकारी हुँदै जान्थ्यो त्यति त्यति मनमा डर र आशङ्का पैदा हुँदै जान्थ्यो ।
बाटोमा अगाडि बढ्दै जाँदा केदारनाथ रामवाँडा गौरीकुण्डमा बिचल्ली परेका यात्रुलाई सेनाको हेलिकोप्टरले उद्धार गर्दै गुप्त काशी र फाटामा ओसारेको देखिन्थ्यो । हाम्रो बसका अधिकारी साथीहरू पाँच जना र अर्को बसका सात जनाको कुनै अत्तोपत्तो थिएन । दुःखी मन लिँदै गुप्तकाशी पुग्यौँ र लजमा बस्यौँ अनि भण्डारा लगाएको खाना खायौँ । बद्रीनाथ धामतर्फको यात्रा बाटो बन्द भएको कारणले स्थगित भइसकेको थियो । यसरी विभिन्न जोखिमपूर्ण तर रोमाञ्चक यात्रा पूरा गरी हामी असारको पहिलो साता काठमाडौँ आइपुग्यौँ । केदारनाथमा भएका विध्वंशकारी प्रकोपले केदारनाथ मन्दिरबाट छ किलोमिटरको दुरीमा रहेको हिमनदी पग्लेर आएको बाढी, त्यस्तै तीन हजार आठ सय मिटरको उचाइमा रहेको छोराबारी ताल फुटेर आएको बाढीले र मन्दाकिनी नदीले त्यहाँका बजार धर्मशाला पुलपुलेसा रामबाँडा बजार सम्पूर्ण बगाएर तहसनहस बनाएको थियो । परन्तु भगवान् केदारनाथ मन्दिरको पृष्ठ भागमा विशाल ढुङ्गो तेर्साे परी मन्दिरलाई जोगाएको रहेछ । सो विनाशकारी बाढीको कारण छ हजारभन्दा बढीको मृत्यु भएको, साढे चार हजार गाउँ प्रभावित भएको, तीन लाखभन्दा बढी यात्रु प्रभावित भएको, एक लाखभन्दा बढी यात्रुलाई भारतीय सेनाले उद्धार गरेको समाचार हामी फर्केपछि थाहा पायौँ । केदारनाथको दर्शन जति आनन्दमय थियो त्यति नै दुःखदायी थियो, त्यो प्राकृतिक प्रकोप । अझै सम्झिँदा आङ सिरिङ भएर आउँछ । जे होस् केदारनाथको यात्रा अविस्मरणीय बन्यो ।